काठमाडौं, १६ फागुन – रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौ दिनमा दुई देशबीच शान्तिवार्ता सुरु भएको छ । युद्ध अन्त्य गर्ने विषयमा बेलारुसमा दुई देशका प्रतिनिधिहरूबीच शान्तिवार्ता सुरु भएको हो । यस वार्ताबाट ठुलो अपेक्षा नगरिएको बताइएको छ ।
युक्रेनी राष्ट्रपति कार्यालयकाअनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बीबीसीले जनाएको छ ।
रुसले दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताए ।
वार्तामा युक्रेनी रक्षामन्त्री, उपविदेशमन्त्री, रुसी उप रक्षामन्त्री, राष्ट्रपति पुटिनका सल्लाहकार र बेलारुसका लागि रुसी राजदूत लगाएतको सहभागिता छ ।
शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए ।
उनले युरोपियन युनियनले आफ्नो देशलाई तत्काल सदस्यता देओस् भन्ने माग पनि गरेका थिए । जेलेन्स्कीले अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने बताएका छन् ।
युक्रेनले अहिलेसम्म पाँच हजार तीनसय रुसी सैनिक मारिएको दाबी गरेको छ, तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन ।
युक्रेनको स्वास्थ्य मन्त्रालयका अनुसार १४ बालबालिका सहित तीन सय ५२ सर्वसाधारणको मृत्यु भएको छ । बीबीसी