सय वर्षअघि पनि शिवरात्रीमा काठमाडौं बाहिरबाट आउने साधुसन्त, फकिरका लागि खानपान, बसोबास, स्वास्थयोपचारसँगै मिठाइ र गाँजा खुवाउनका लागि समेत सरकारले बजेट छुट्याउने गरेको थियो।
आज महाशिवरात्री। झिसमिसेदेखि नै पशिुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजापाठ गर्न भक्तजनको घुइचो लागेको छ। भजनकीर्तन चलिरहेको छ। शंखघण्टको ध्वनि गुञ्जिरहेको छ।
झन पशुपतिनाथमा त एक महीनादेखि नै तयारी थालिएको थियो। चिरिच्याँट पारिएको यो क्षेत्र साधुसन्तले पनि भरिएको छ। देशभित्रका मात्रै नभएर बाहिरबाट पनि कयौं साधुसन्त र भक्तजन निर्वाध रुपमा पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्न आएका छन्।
सय वर्षअघि भने शिवरात्रीमा काठमाडौं आउन कडाइ थियो। “सीमा नाकामा जाँच गरिन्थ्यो,” यसबारे जानकार राष्ट्रिय अभिलेखालयका कर्मचारी कमल न्यौपाने भन्छन्, “त्यतिवेल नेपाल (काठमाडौं) आउन पासपोर्ट चाहिने रहेछ।”

शिवरात्रीका लागि आउनेलाई काठमाडौं छिर्ने नाकामै जाँच गरिन्थ्यो। जाँच गर्दा मालसामानसँगै जिउँदो मुसा भेटिएमा भारी नै जलाइन्थ्यो। त्यति मात्रै होइन, शिवरात्रीमा आउने व्यक्तिले नयाँ लुगा ल्याएको पाइएमा सरकारले महसुल तिर्न लगाउथ्यो।
त्यतिवेला शिवरात्रीमा आउने भक्तजनलाई कसरी भित्र्याउनेदेखि कसरी विदाइ गर्ने भन्नेसम्म सरकारी आदेश हुन्थ्यो। सय वर्षअघि शिवरात्री कसरी मनाइन्थ्यो? के गर्न पाइन्थ्यो, के गर्न पाइदैन्थ्यो? कसरी व्यवस्थापन गरिन्थ्यो?
त्यसका लागि राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेज ‘शिवरात्रीको सनद पुर्जी’ हेर्नैपर्छ। अभिलेखालयमा रातो पोकामा ऐतिहासिक अभिलेखक बेरिएर राखिएको छ। एउटा पोकामा १९७७ देखि २००७ सालसम्मका ऐतिहासिक दस्तावेज छन्।

त्यहि पोकामा शिवरात्रीका २६ वटा सनद पुर्जी भेटिन्छन्। त्यसैमध्ये एउटा हो, १९८८ सालको शिवरात्रीको सनद पुर्जी। कालो र निलो मसिले लेखिएका पुर्जीका केही अक्षर धमिला भइसकेका छन्। केही अक्षरको चमक भने कत्ति पनि घटेको छैन।
९० वर्षअघि अर्थात १९८८ सालको २४ पृष्ठ लामो सनद पुर्जीको पहिलो पानाको शिरमा लेखिएको छ-
संवत १९८८ साल सरकार श्री श्री ज्यू मुलुकी अड्डा पुर्जी फाँट
यो सालका शिवरात्रीमा आएका जात्रुहरु छाडने बारेमा विरगंज गोसरा चिसापानी गढीका नाउँमा समेत अड्डा
अड्डाका नाउँमा भईगएका अडर पुर्जीका भईगयाकाको नक्कल किताव।
पशुपतिमा शिवरात्री मनाउन आउने भक्तजनको उचित व्यवस्थाको तयारी गर्न यो पुर्जी जारी गरिएको थियो। यसको दोस्रो पृष्ठमा भक्तजनको रहनसहन, सरसफाई, सुरक्षा, खानपान लागि कसरी व्यवस्था गर्ने भन्ने भन्ने उल्लेख छ।
पुर्जीको पहिलो अनुच्छेद:
“श्री पाँच सरकार गुठी वन्दोवस्तका हाकिम कारिन्दाले पुर्जी हेरि यो साल शिवरात्रीमा श्री पशुपतिमानाथका दर्शन गर्न आएका जात्रुहरुका निमित्त त्यस अड्डाबाट गर्नुपर्ने तपशिलमा लेखि बक्सेको छ। तपशिलका कुरामा तपशिलमा लेखिए बमोजिम गर्ने काम गर।”

यसरी शुरूआत गरिएको पुर्जीमा सबैभन्दा पहिले शिवरात्री मनाउन आउने भक्तजनका लागि हण्डि (खानेकुरा) बाड्न निर्देशन दिइएको छ। यसमा लेखिएका निर्देशनबारे जानकारी दिँदै अभिलेखालयका कर्मचारी न्यौपाने भन्छन, “शिवरात्रीको व्यवस्थापनमा पहिलो प्राथमिकता साधुसन्त, फकिरफर्केनालाई दिएको रहेछ त्यसैले त सबैभन्दा पहिला श्री पशुपति हाता इलाका (क्षेत्र) मा बसेका साधुसन्त, महन्त, फकिरफर्केदारलाई हण्डि खुवाउनु भनको छ।”
सय वर्षअघि शिवरात्री कसरी मनाउने गरिन्थ्यो भनेर अध्ययन गर्न आउनेहरुलाई न्यौपाने नै पुराना अक्षर पढ्न सघाउँछन्। ३० वर्षदेखि पुराना अक्षर अध्ययन गर्दै आएका उनी शिवरात्रीको सनद पुर्जी पढ्दा रमाईलो लाग्ने गरेको बताउँछन्। किन रमाइलो? उनी भन्छन्, “सरकारले गाँजा खुवाउन रकम छुट्याएको जस्ता रमाइला किस्सा पढ्न पाइन्छ।”

उनले भने झै १९८८ सालमा सरकारले साधुसन्तलाई गाँजा खुवाउन रु. ५० छुट्याएको सनद पुर्जीमा उल्लेख छ। उनीहरुमध्ये पनि अफिम खाने फकिरका लागि २० तोला अफिम वैद्य खानाबाट ल्याउन निर्देशन दिएको छ। सनद पुर्जीमा भनिएको छ, “सो मध्ये तोला १० श्री पाँच सरकार तर्फका गुठीले व्यवस्था गर्न र तोला १० अड्डाबाट भनि लिया बमोजिम खर्च भएको फाँट श्री ३ सरकार गुठी व्यवस्था मार्फत वैद्य खानामा बुझाईदिनु।”
यससँगै पशुपतिका क्षेत्रमा बसेका साधुसन्तलाई धुनी (आगो) बाल्न दाउरा खरीद गर्न २ सय निकासा गरिने उल्लेख छ। पशुपति गोस्वारालाई साँची राखि दाउरा मुडा खरीद गरी साधुसन्तलाई धुनी बाल्न दिएको हिसाबको सनद गराउन अर्को आदेश दिइएको छ।
यससँगै पशुपति क्षेत्रको गोरखनाथमा धुनी जगाएर बस्ने एक हजार ५८ जनालाई हण्डी खुवाउने व्यवस्था मिलाएको देखिन्छ। यसमा थप स्पष्ट पारिएको छ, “कति गोलमाल नहुनेगरि सो बाड्न हण्डिहरु जिन्सि मालहरु ठाउँठाउँ पुर्याउनलाई साविक बमोजिम गुठीका मोही खटाई निजहरुलाई बोकाई पुर्याउनु। चाहिने मोही झिकाई खटाईदिनु।”
त्यसवेलाको व्यवस्थापन हेर्दा साधुसन्तको खानपानमा विशेष ध्यान दिइएको पाइन्छ। “चामल नखाने साधुसन्तका लागि फलफूलको वन्दोवस्त मिलाउनु,” आदेशमा भनिएको छ।
मिठाईको व्यवस्थापन

सय वर्षअघि शिवरात्रीका दिन मिठाइको विशेष व्यवस्था हुने देखिन्छ। देशभरका विभिन्न अड्डाको नाममा त्यसको व्यवस्था गर्न आदेश दिइएको सनद पुर्जीमा उल्लेख छ। त्यसमा ‘मकवानपुर, चित्लाङ, रामकोट हुँदै उपत्यका छिर्ने हलिया नायक गणेश दासले पुर्जी हेरि यो साल शिवरात्रीको मेलामा श्री पशुपतिनाथको दर्शन गर्न आउने जात्रुहरुलाई चित्लाङ मार्खुमा मालपुवा, मनभोग, पञ्चमिठाई ईत्यादी विक्रि गर्न’ स्विकृत दिइएको छ। शिवरात्रीभन्दा अगावै मिठाइ बनाईसक्न आदेश दिइएको छ। मिठाइ खुवाउनका लागि रकम पनि तोकिएको छ।
कुन मिठाइलाई कति ?
सिहारी १ धार्नीः १.८५ पैसा
मालपुवा १ धार्नीः १.५७ पैसा
मनभोग १ धार्नीः १.४२ पैसा
पञ्चमेल १ धार्नीः २.९० पैसा
त्यसवेला मिठाईका लागि ७.७४ रुपैयाँ बजेट निकासा गरिएको देखिन्छ। त्यसरी नै चिच्लाङमा रोटी पसल राख्न, मरु टोलमा कृष्णलाल हल्वाई र मखन टोलका कृष्ण महादुर हल्वाईलाई स्वीकृत दिइएको छ। आदेशमा भनिएको छ, “शिवरात्रीको १२ दिनअघि पसल राख्नदिन स्विकृती दिने।”
यता पशुपतिनाथ दर्शन गर्न आएका साधुमध्ये भात नखानेका लागि पिठोको व्यवस्था मिलाउन गोस्वार अड्डालाई आदेश दिइएको थियो। आदेशमा ‘पिठो खानेलाई पिठो र चामल खानेलाई चामल दिलाईदिनु’ भनिएको छ भने ‘साधुसन्तलाई सुविस्ताले गोलमाल नहुने गरि खुवाउनु’ भनिएको छ।
शिवरात्रीमा आएका भक्तजनको बसोबासमा पनि ध्यान दिएको देखिन्छ। उनीहरुको बसोबासका लागि पाल र अन्य मालसामान विभिन्न स्थानमा पुर्याउन सात जना हाकिमलाई जिम्मेवारी दिइएको छ। जस्तै चित्लाङमा ८ र मार्खुमा ८ वटा सादापाल पुर्याउन ४ फागुन १९८८ को सदन पुर्जीमा उल्लेख छ।
गुहेश्वरीमा भकारीको शौचालय, थानकोटदेखि सरसफाइ
त्यतिवेला पशुपतिनाथ क्षेत्रमा कसरी सरसफाइ राख्ने भन्ने विषयमा पनि निर्देशन दिने गरिएको थियो। आदेशमा भनिएको छ, “पशुपतिनाथको दर्शन गर्न आउने जात्रुहरुलाई मूल सडकदेखि दायाँबायाँ ५० जग भित्र झाडा पिसाव गर्न नपाउनु।”

पशुपति क्षेत्रमा मात्रै होइन, थानकोटदेखि नै सफाइको ख्याल राख्न अड्डाका हाकिमलाई खटाउने गरिन्थ्यो। यससँगै कसले सफा गर्ने भन्ने पनि तोकिने गरेको न्यौपाने बताउँछन्।
त्यतिवेला च्यामे, पोडेलाई थानकोटदेखि पशुपतिसम्म सफाई गर्न जिम्मेवारी दिइएको छ। त्यसका लागि कामदार खटाउने जिम्मा शमरजंङ कम्पिनीलाई दिइएको छ। आदेश छ, “सो ठाउँमा रोज सफासुघर गरि सफा राख्नु।”
गुहेश्वरी क्षेत्रको विभिन्न स्थानमा भकारीको शौचालय बनाउन लगाइने गरिएको उल्लेख छ। त्यतिवेला एउटा भकारीको शौचालयमा ७ देखि ८ जनालाई दिसा गर्न मिल्ने जनाउँदै ८ वटा भकारी माग गरिएको थियो। यसरी सरसफाईमा खटिने कामदारले फागुन र चैतको तलब र पेस्की पाउने व्यवस्था रहेको न्यौपाने बताउँछन्।
भक्तजनको उपचारका लागि ५० रुपैयाँ
शिवरात्रीमा आउने भक्तजनको स्वास्थ्योपचारको पनि व्यवस्था गरिन्थ्यो। त्यो वर्ष स्वास्थ्योपचारका लागि ५० रुपैयाँ छुट्याइएको देखिन्छ। शिवरात्रीमा आएका भक्तजन जहाँ बिरामी भए पनि अस्पताल पुर्याउनु भनिएको छ। बिरामी बोक्ने व्यक्तिलाई पनि ज्याला दिनु भनिएको छ।

अहिले कोरोनाभाइरसको महामारी छ। त्यो वर्ष प्लेग रोगको समस्या थियो। त्यसैले विभिन्न स्थानमा स्वास्थ्य जाँचको व्यवस्था गरिएको थियो। डाक्टरले जाँचेपछि मात्रै शिवरात्रीमा आउन दिन भनिएको थियो। त्यसबारे शिवरात्री सनद पुजीमा लेखिएको छ, “डाक्टरले एक एक गरि जाँच्दा ज्वरो आएकालाई यस तर्फ आउँनै नदिनु। फिर्ता गरि पठाइदिनु।” त्यस्तो बिरामीको मृत्यु भएका तुरुन्त जलाउनु भन्ने आदेश थियो।
काठमाडौं आउन अनुमति अनिवार्य
शिवरात्रीमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले सहजै काठमाडौं उपत्यका प्रवेश गर्न पाउँदैन्थे। अमलेखजंगदेखि भिमफेदीसम्म आउने भक्तजनको रेखदेख गर्न एक हाकिम, एक सुवेदार र ६ सिपाही खटाइएको पाइन्छ। त्यहाँ सुरक्षा हुन्थ्यो। जालसाँची चिठीपत्र, हातहतियार ल्याएको भेटिएमा काबारही हुने व्यवस्था रहेको न्यौपाने बताउँछन्।
“राहदानीको छाप लागेको कागज लिएर आउनेहरुलाई भने जाँच गरि छाडिदिनु। अरुलाई भए केरकार गरिदिनु,” सनदमा लेखिएको आदेश पढ्दै न्यौपाने भन्छन्, “त्यतिवेला पनि नेपाल आउन पासपोर्ट चाहिने रहेछ।”
तर, मनोरञ्जका काममा संलग्न व्यक्ति भने आउने व्यवस्था गरिएको पाइन्छ। आदेशमा भनिएको छ, “चटकी र बानरभालु नचाउनेलाई छाडि दिनु। अरु वेहिसावका मानिसलाई एउटै पनि नछाडनु। हेटौडा चौकीलाई उर्दीलेखि पठाउनु।”
यसबाट हेटौँडा चौकीलाई पनि सरकारले नेपाल भित्रिने भक्तजनमा निगरानी गर्न भनेको बुझिन्छ।
शिवारात्री मनाएर फर्केका व्यक्तिलाई विदाइ गर्नुपर्ने व्यवस्था थियो। उनीहरुलाई अमलेखगञ्जसम्मै छाड्ने व्यवस्था थियो। “सुविस्तासँग खान दिने, अम्लेखगञ्जको बजार उत्तर खोला वारिपारि बस्न दिलाउनु। एक एक गन्ती गरेर मात्र छाडनु,” ९० वर्षअघिको आदेशमा भनिएको छ।
पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्त, फकिरलाई मोटर, लहरीको भाडामा छुट गरिन्थ्यो। थानकोटदेखि पशुपतिसम्म ५० प्रतिशत भाडा लिनुपर्ने व्यवस्था गरिएको आदेशमा भनिएको छ, “मोटरवाला साहुहरुलाई उर्जी पुर्जी दिन लगाई सो भन्दा बढि भाडा लिन नपाउने।”

शिवरात्रीमा विशेष पाहुँना डोली चढेर पनि आउथे। उनीहरुलाई पनि जाँच गर्न नछुटाउन आदेश दिइएको देखिन्छ। सनद पुर्जीको १९ देखि २२ पृष्टमा सुरक्षा व्यवस्थाबारे उल्लेख छ। यसको २३औँ पृष्ठमा भनिएको छ, “ठाउँठाउँमा पानी खानको लागि पधेरोको वन्दोवस्त बनाउनु।”
यसको अन्तिम पृष्ठमा पशुपतिनाथ मन्दिरका पुजारीका विषयमा विशेष महत्त्व दिएर बसोबासको व्यवस्था गर्न भनिएको छ। जहाँ लेखिएको छ, “पशुपतिनाथ मूल पुजारी सुव्रव्रम्हराय शास्त्र भट्टजीले पुर्जी हेरि यो साल शिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न आएका तिम्रा चिना जानी भएका समेत देशी मानिसलाई पोहोर साल बमोजिम श्री ५ दादै ज्यूक कहाँ सोधी रहन नपर्ने गरि तिम्रा घरमा बास बस्न दिनु।”
त्यतिवेला भारतलाई देश भन्ने गरिएको थियो। भारतबाट आएका मूल पुजारीका आफन्तलाई आफ्नै घरमा राख्न पाउने व्यवस्था गरिएको न्यौपाने अथ्र्याउछन्। उनीहरुलाई सम्मान सहित विदाइ गर्न दिइएको आदेशमा भनिएको छ, “विदा गर्दा चाडो फर्की आउँनु भनि उनीहरुलाई उर्जी पनि दिनु।” हिमालखबर