८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

जनैखटिरा (हर्पसजोस्टर): लक्षण, निदान र उपचार


डा. लोकेन्द्र अवस्थी
  • १७ फाल्गुन २०७८ , मंगलबार

  • जनैखटिरा (हर्पसजोस्टर): लक्षण, निदान र उपचार

    जनै खटिरा अर्थात् हर्पसजोस्टर वा सिगेल्स एक प्रकारको भाइरल संक्रमण हो। यो छालामा देखिने रोग हो, जसमा स-साना पानीफोका जस्ता खटिरा आउने र चिलाउनुका साथै असह्य रूपले दुख्ने समस्या हुन्छ।

    चिकनपोक्स अर्थात् ठेउला गराउने भेरिसेला जोस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्छ। मेडिकल  भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ र सामान्य बोलचालीको भाषामा जनैखटिराका नामले चिनिन्छ। यो रोग प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने गरेको पाइन्छ।

    चिकित्सकहरुका अनुसार जब शरीरको प्रतिरोधक क्षमता कमजोर हुन्छ त्यसबेला यो भाइरस स्नायुमार्ग/नर्भस पाथवेको बाटो हुँदै छालासम्म पुग्छ। यो रोग बढ्दो उमेर तथा पचास वर्षभन्दा बढी उमेर भएका मानिसमा लाग्ने सम्भावना बढी हुन्छ।

    लक्षण :
    १) दाना निस्किनुभन्दा अगाडि बिमिरा आउने ठाउँमा दुख्नु यस रोगको प्रमुख लक्षण हो।
    १) छाती, पेट, पिठ्युँ, घाँटी, हात, खुट्टा आदि ठाउँमा स-साना बिमिरा निस्कनु। अधिकांश रुपमा बिमिराहरु शरीरको माथिल्लो भागमा नै निस्किन्छन्।
    २) बिमिरा निस्केको ठाउँमा चिलाउने, पोल्ने र दुख्ने हुनु।
    ३) बिमिरा विस्तारै ठूला हुँदै जाने र ससाना घाउ जस्ता देखिनु।
    ४) ती घाउहरुमा पोलेका घाउमाझैं पानी भरिने, फुट्ने र दुख्ने।
    ५) साथै सामान्य ज्वरो आउने र टाउको दुख्नु।

    निदान :
    चिकित्सकले सामान्य परीक्षणको माध्यमबाट नै जनै खटिराको निदान/पत्ता लगाउने  गर्छन्।
    जनै खटिरा आउन सुरु भएको ७२ घन्टाभित्र पत्ता लगाई औषधि सेवन सुरु गर्नुपर्ने हुन्छ। जनै खटिरा आएको शंका लागेमा छाला रोग विशेषज्ञ अथवा जनरल प्रयाक्टिसनरलाई सम्पर्क गर्नुपर्छ।

    उपचार :
    १) घाउ तथा बिमिराको लागि एन्टिबायोटिक  र एसाइक्लोभिर जस्ता औषधि खाने तथा मल्हम लगाउने।
    २) दुखाइका लागि दुखाइ कम गर्ने इबुप्रोफेन, पृगाबालिन, पारासिटामोल जस्ता औषधि सेवन गर्ने।
    ३) बिमिरा चिलाउँदा नङले वा कुनै तिखो वस्तुले कन्याउनु हुँदैन। साह्रै नै चिलाएको अवस्थामा सफा नरम कपडाले माथिबाट हल्का किसिमले सुम्सुम्याउँदा चिलाउने अलि कम हुन्छ।
    ४) घाउलाई सफा राख्ने र सरसफाइमा ध्यान दिने।

    जनैखटिरा आएपछि कसैलाई दुई-तीन हप्तामै आफैं ठिक हुन्छ भने कतिपय दीर्घरोगबाट पीडित बिरामीलाई एक/दुई वर्षसम्म पनि यसले दु:ख दिइरहन सक्छ।

    जटिलता :
    बेलैमा जनैखटिराको उचित उपचार गरिएन भने यस रोगबाट प्रभावित व्यक्तिको आखाँको दृष्टि कमजोर हुने,  बिरामीको मुख बांगो हुने/बेल्स पाल्सी हुने, घाउमा बेक्टेरिएल संक्रमण हुने र लामो समयसम्म दुखाइ रहिरहने हुनसक्छ।

    भ्रम तथा यथार्थ :
    १. जनै खटिरा जनै लागाउने ठाउँमा मात्रै आउने होइन, यो शरीरको जुनसुकै भागमा पनि आउन सक्छ।
    २. शरीरमा बिबिरा आएको विपरीत भागतिर बाघ/सिंहको चित्र बनाउने र ती दुवै एक अर्कासँग जोडिए मृत्यु हुन्छ भन्नु भ्रम मात्र हो।
    ३. धामीझाँक्री र झारपातको प्रयोग गरेर यो निको हुने होइन, त्यसैले जति सक्दो चाँडो चिकित्सकको सल्लाह लिनुपर्छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend