पोखरा , २० फागुन – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्वा गुरुङले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) नेपाली कांग्रेसमा विलय हुने जिकिर गरेका छन् । यी दुबै दल नवउदारवादी र दक्षिणपन्थीको सेवामा लागेको उनको आरोप छ ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको बिहीबार पोखरामा उद्घाटन गर्दै गुरुङले क्रान्तिको नारा लगाउने माओवादीहरुको चरित्र दलाल पूँजीवादीको जस्तो भएको आरोप लगाए ।
एमसीसी संसदबाट पारित गरेको प्रसंगलाई संकेत गर्दै गुरुङले भने, ‘कम्युनिष्टको बारीमा हुर्किएकाहरुले नवउदारवादीको सेवा गरिरहेका छन्, हरियोमा बसेको साँपसँग बँच्नुपर्छ ।’
कालोधन सेतो बनाउनका लागि नीतिगत व्यवस्थाको माग गर्नेहरु कम्युनिष्ट हुन नसक्ने उनले ठोकुवा गरे । ‘क्रान्तिका लागि भनेर जम्मा भएको कालोधन सेतो हुनुपर्ने रे’, उनले माओवादीप्रति कटाक्ष गर्दै भने, ‘नाम क्रान्तिको, व्यवहार दलाल पूँजीवादको जस्तो छ ।’
गुरुङले संघीय सरकार आमसर्वसाधारणमा समस्यामा कानमा तेल हालेर बसेको भन्दै सरकार भए–नभएको जनताले महशुस गर्नै नपाएको बताए । ‘किसानका समस्या आउँछन्, सरकार मेरो काम होइन भनेर बसेको विषय चर्चामा छ’, उनले भने, ‘नार्कका विज्ञहरुलाई किसानको बारी मास्ने किराको समाधान खोज्न लगाउनु पर्दैन् ? के नार्कका विज्ञहरु सुतेका छन् ?’
गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले गण्डकी सरकार स्रोत साधनको दोहनमा मात्रै लागेको आरोप पनि लगाए । ‘गाडी किन्ने र सुविधा लिनेमा प्रदेश सरकार तल्लीन छ, मन्त्री पद बाँढ्दा ठिक्कै भएको छ’, उनले भने, ‘सरकारका काम कारवाहीकै कारण संघीयताको विरोध गर्नेहरुलाई बल पु¥याउने काम भैरहेको छ ।’
एमाले निकट प्रेस चौतारीसम्वद्ध पत्रकारले एमाले नेतृत्वमा रहेका सरकारहरुको रक्षा गर्न नसकेको जिकिर पनि उनको थियो । अघिल्लो सरकारले गरेका राम्रा काम नलेखिएको भन्दै गुरुङले प्रश्न गरे ,‘ कलम भाँचिएको हो कि के हो त्यो किन लेखिदैन ? यस्तो अवस्थामा एमालेका पत्रकार आँखा चिम्लेर बस्छौँ, कान थुनेर बस्छौँ जिब्रो काटेर, हातखुट्टा बाधेर बस्छौँ भने हाम्रो के काम ?’
वर्तमान सरकारले पहिलेका योजनाहरु कटौति गरेर सुविधाको उपभोगमा खर्च गरिरहेको भन्दै गुरुङले पहिलेको सरकारका राम्रा काममा निरन्तरता दिन नसकेको बताए । उनले पत्रकारहरुलाई विषयको गहिराइमा पुगेर पत्रकारिता गर्न सुझाव समेत दिए ।
कार्यक्रममा नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले एमसीसीको विषय भँजाएर सत्ता गठबन्धनले आफू उम्कीने बाटो खोजिरहेको बताइन् । पार्टीको निर्णय एकातर्फ र सत्ता जोगाउनकै लागि काम कारवाही अर्कोतर्फ गर्नेहरुसँग सचेत हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य मन कुमारी केसी, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाँण्डे, सचिव रामकृष्ण शर्मा, पूर्व वरिष्ठ उपाध्यक्ष दुर्गा शर्मा, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा, एमाले कास्कीका अध्यक्ष मन वहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य राखे । प्रदेश अध्यक्ष सुष्मा शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रकाश भट्टाराईले गरेका थिए ।