बागलुङ, २० फागुन – नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले संघीयताको रक्षाका लागि स्थानीय तह बलियो हुनुपर्ने बताएका छन् । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तह बलियो हुँदा मात्रै सर्वसाधारणले सुविधा पाउने उनको धारणा थियो ।
बागलुङको काठेखोला गाउँपालिका-८ लेखानीको पिडाल्नदेखि कादेश जोड्न झोलुङ्गे पुलको शुक्रबार उद्घाटन गर्दै गुरुङले आफू प्रदेश सरकारको नेतृत्वमा हुँदा स्थानीय तहमा पूर्वाधार विकासको जग हालेको दावी गरे । प्रत्येक पालिका मुकाम पुग्ने पक्की सडक निर्माणको थालनी आफ्नै पालामा भएको दावी गर्दै गुरुङले वर्तमान सरकारले ती योजना हरुलाई निरन्तरता नदिएको गुनासो गरे ।
‘हामले थालेका धेरै काम रोकिएका छन्, बहुवर्षे योजनाहरु काटिएका छन्, अहिलेको सरकार जनताप्रति जिम्मेवार छैन्’, गुरुङले भने ‘यो सरकारबाट संघीयता नचाहनेहरुका लागि बल पु¥याउनेगरी काम भैरहेको छ ।’ उनले रोकिएका कामका विषयमा जिम्मेवार प्रतिपक्षका हैसियतले सदनमा कुरा उठाउनेसमेत बताए ।
गण्डकी प्रदेश सरकारको भ्याससहित दुई करोड ९१ लाख रुपैयाँ लागतमा दोविल्ला खोलामाथि ३५९ मिटर लामो पुल निर्माण गरिएको हो । पुल निर्माण नहुँदा स्थानीयवासी लेखानी कादेश आवत–जावत गर्न लेखानी, भुमेचौर दोबिल्ला खोलाहुँदै घुमारो सडक पार गर्न करिब एक घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । दोबिल्ला खोलामाथि पुल निर्माण भएपछि दूरी पाँच मिनेटमा सीमित भएको वडाध्यक्ष चित्रकला श्रीसले बताइन् ।

पुल निर्माण भएपछि यात्रा छोटिनुका साथै खोलाको बाटो जोखिम लिएर हिँड्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । ‘बर्खामा खोला तर्न धेरै जोखिम र कठिन थियो’, उनले भनिन्,‘अब बर्खा याममा पनि लेखानी र कादेशको ओहोरदोहोर रोकिन्न ।’
दोबिल्ला खोलामा २०७६ सालको फागुनदेखि डिटाईप पुल निर्माण गर्न सुरु भएको थियो ।
पटक पटकको लकडाउन र निषेधाज्ञाले निर्धारित समयमा निर्माण कार्य सम्पन्न गर्न कठीन भएको निर्माण कम्पनीका ठेकेदार ओम गौचनले बताए । पुल चालु आर्थिक वर्षको पहिलो महिनामा निर्माण कार्य सकिएर शुक्रबार उद्घाटन भएपछि सञ्चालनमा आएको छ ।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले एमालेले मात्रै जनताको चाहना अनुसारको काम गर्नसक्ने भन्दै विकासका कामको प्रचार र आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले पार्टीले जिल्लाभर जागरण अभियान चलाईरहेको भन्दै टोल टोलमा एमाले पुगेको दाबी गरे । कार्यक्रममा एमाले नेता नरबहादुर क्षेत्री,वडा सदस्य चन्द्रकुमार थापा, पूर्व गाविस अध्यक्ष डिल बहादुर छन्त्याल लगायतले बोलेका थिए । काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाको अध्यक्षता, वडा अध्यक्ष चित्रकला छन्त्यालको स्वागत र बेलबहादुर जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।