काठमाडौं, २६ फागुन – सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा मन्त्रीहरूको कार्यशैलीको आलोचना भएको छ । राजधानीमा बुधबार र बिहीबार बसेको बैठकमा सदस्यहरूले पार्टीबाट सरकारमा सहभागी सदस्यहरू (मन्त्री)ले पर्याप्त काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।
मन्त्रीहरूले पार्टीको पक्षमा काम गर्न नसकेको र समन्वय पनि नभएको गुनासो सदस्यहरूले गरेका छन् । एक सदस्यका अनुसार मन्त्रीहरूको कार्यशैली परम्परागत भएको, पार्टीले उठाएका विषय सम्बोधन गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको भन्दै बैठकमा प्रश्न उठेको थियो ।
बैठकमा उठेका प्रश्नको जवाफ दिँँदै अध्यक्ष माधवकुमार नेपालले आत्मसमीक्षासहित अगाडि बढ्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । ‘कमीकमजोरी भए सच्याउनुपर्छ । जनताको पक्षमा ध्यानकेन्द्रित गरेर काम हुनुपर्छ । आत्मसमीक्षा गरेर अगाडि बढ्नुहोस्,’ नेपालको भनाइ उदृत गर्दै एक सदस्यले भने ।
ती सदस्यका अनुसार बैठकले मन्त्रीहरूलाई देश र जनताको पक्षमा प्रभावकारी काम गर्न निर्देशन दिएको छ । एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, स्वास्थ्यमन्त्री विरोध खतिवडा र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ छन् ।
एकीकृत समाजवादीबाट प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई र बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे छन् । अन्य प्रदेशमा पनि एकीकृत समाजवादीबाट मन्त्री बनेका छन् ।
केन्द्रीय समितिका निर्णयहरु
बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ। यस्तै, १४ बुँदे समसामयिक प्रस्तावहरूसमेत पारित गरेको पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए।
समूहगत छलफलका निष्कर्ष प्रस्तुत पश्चात् अध्यक्ष नेपालले छलफलमा उठेका विषय प्रष्ट पारेका थिए। पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा र पार्टीको आगामी कार्ययोजना लगायतका विषय समेटिएको छ।
समूह छलफलमा निष्कर्ष प्रस्तुत गर्नेहरूमा गण्डकी प्रदेशबाट रेखा थापा बस्याल, सुदूरपश्चिम प्रदेशबाट शेरबहादुर कुँवर, मधेश प्रदेशबाट सत्यनारायण यादव, प्रदेश एकबाट धर्मराज पौडेल, बागमतीबाट विदुर सापकोटा, कर्णालीबाट अमर थापा, लुम्बिनीबाट राजु गुरुङ, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोर्चा तथा विभागबाट प्रमेश पोखरेल रहेका थिए।
यस्तै, बैठकले मोर्चा संगठन सञ्चालन निर्देशिका र सम्पर्क मन्च सञ्चालन निर्देशिका पनि सुझावसहित पारित गरेको छ।