पोखरा – प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुदैछ । पर्यटकीय शहर पोखरामा हुने चौतारीको राष्ट्रिय महाधिवेशनको उदघाट्न नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो पोखरा सभागृहमा गर्दैछन् ।
महाधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष ओलि आजै विहान हवाई मार्गबाट पोखरा आउदैछन् । चौतारीको महाधिवेशन उदघाटन सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको एमालेले जनाएको छ । अध्यक्ष ओलीले दिउसो १२ः०० बजे पोखरा सभागृहमा भब्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम तय भएको मूल ब्यवस्थापन समितिका संयोजक एवं प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेले बताए ।
महाधिवेशनमा भाग लिन देशभरबाट १ हजार २ सय पत्रकारहरु प्रतिनिधी र पर्यवेक्षकको रुपमा पोखरा आईपुगेका छन् । महाधिवेशनमा भूगोल ७ प्रदेश, एशोसियट, प्रतिष्ठान र उपत्यका प्रदेश गरी संगठनका १० वटै प्रदेश र ७७ जिल्लाबाट छानिएका करीव १ हजार २ सय प्रतिनिधीले महाधिवेशनमा भाग लिनेछन् ।

चौतारीको यो महाधिवेशन नीति र नेतृत्व निर्माणका हिसाबले महत्वपूर्ण हुने चौतारीका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले बताए । नीति र नेतृत्व निर्माणको साथमा महाधिवेशनमा सञ्चार क्षेत्रका वर्तमान मुद्दाका बारेमा समेत महत्वपूर्ण छलफल हुनेछ ।
अध्यक्ष वस्नेतले भने, ‘प्रेस चौतारीको नवौं महाधिवेशन नीति र नेतृत्व निर्माणको हिसाबले महत्वपूर्ण हुनेछ, महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा समेत गम्भीर छलफल गर्नेछाँै ।’
महाधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने समेत वस्नेतले बताए । सञ्चार क्षेत्र र खासगरी पत्रकारिता क्षेत्रमा रहेका चुनौतीहरुलाई बोक्न सक्ने खालको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन हुने अध्यक्ष वस्नेतले विश्वास लिएका छन् ।
महाधिवेशनको उद्घाटन शत्रमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ११ जना पत्रकारलाई नगद पुरस्कारसहिन सम्मान गर्ने कार्यक्रम छ ।
चौतारीले यस पटक विद्यान संशोधन गरेर १ सय ५१ सदस्य केन्द्रिय कमिटी चयन गर्नेछ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहित १७ सदस्यीय पदाधिकारी चयन गर्ने चौतारीले जनाएको छ ।
उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या थपेर १७ सदस्यीय पदाधिकारी बनाउने गरी छलफल भइरहेको अध्यक्ष वस्नेतले वताए ।