१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

प्रेस चौतारी महाधिवेशनमा ओलिले दिए पत्रकारलाई उपदेश


जनमञ्च संवाददाता
  • २७ फाल्गुन २०७८ , शुक्रबार

  • प्रेस चौतारी महाधिवेशनमा ओलिले दिए पत्रकारलाई उपदेश

    पोखरा, २७ फागुन – प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा सभागृहमा गरे । उदघाटनपछि अध्यक्ष ओलिले आफ्नै पार्टीको जनसंगठन प्रेस चौतारीको महाधिवेशनलाई करिब डेढ घन्टा लामो सम्बोधन गरे ।

    सम्बोधनका क्रममा सामाजिक सञ्जालमा के लेख्ने नलेख्ने मात्र होइन, पत्रकारिताबारे पनि सुझाए । पत्रकारिताको इतिहासदेखि बोलेका ओलीले आफ्नो विरोधमा समाचार नआए नेपाली मिडियामा एकपक्षीय भयो भन्ने नगरिएको बताए ।

    एमालेको विरोधमा लेख्नुलाई आलोचनात्मक चेत मानिने गरेको भन्दै उनले भने, ‘ खै त केपी ओलीको विरोध तपाईंको मिडियामा ? यो त एकपक्षीय भयो नि भन्छन् । परमादेशीहरु आलोचनात्मक चेत भएका, चुच्चेनक्साको विरोध गर्नेहरु आलोचनात्मक चेत भएका, धरहरा बनेकोमा टाउको दुख्नेहरु अलोचनात्मक चेत भएका भन्छन् । परमादेशीहरुको पक्षमा खुरुखुरु लेख्दा वुद्धिजीवी हुन्छ ।’

    प्रेस स्वतन्त्रताका नाममा नेपालमा एल्लो जर्नालिजम हुने गरेको भन्दै उनले आलोचना गरे । साथै उनीहरुले जनतालाई बताएका गलत कुराहरु चिर्न पार्टीसम्वद्ध पत्रकारहरुलाई आग्रह गरे ।

    सम्बोधनका त्रलममा एमाले अध्यक्ष ओलीले गठबन्धनसँगै सर्वोच्च अदालतप्रति पनि कटाक्ष व्‍यक्त गरे । वर्गीय पूर्वाग्रह राखेर आफूले गरेको संसद विघटन उल्टाएको भन्दै उनले भने, ‘उहिल्यै एक जनाले भनेका थिए, सर्वोच्च अदालतमा गोरु ब्यायो । यो पटक गोरु ब्यायो मात्र होइन, ५ वटा बाच्छा पनि पायो ।’

    पूर्वसहकर्मी प्रचण्ड र माधवकुमार नेपालको आलोचना गर्दै उनले दशा लागेर आफ्नो सरकार ढालेको बताए । उनले अघि भने, ‘सरकार ढालेर हेर्नुस् त विचराहरु ढोका बाहिर पर्खेर बस्नु परेको छ । कोही प्रसाद बाँड्न आउँछ कि भनेर । कताका जंगेहरु, कताका बुंगे भए । वुद्धि बिग्रिएपछि यस्तो हुन्छ ।’

    अहिले राष्ट्रिय राजनीति दुईतिर बाँडिएको उनले बताए । एउटा देशभक्तिको पक्षमा, अर्को जालझेल र षडयन्त्रको पक्षमा रहेका भन्दै उनले भने, निर्वाचनका माध्यमबाटै ठेगान लगाउन सक्छौं । महान जनताको साथ हामीलाई छ ।’

    सामाजिक सञ्जाल प्रयोगबारे बोल्दै उनले प्रविधिको सही प्रयोग गर्न पनि सुझाएका छन् । ‘आज हामी इलोक्ट्रोनिक जमानामा छौं, सामाजिक सञ्जालको जमानामा छौं, आज एउटा ट्वीट गर्दा दुनियाँभरि पुग्छ । फेसबुकमा लेख्दा दुनियाँभरि पुग्छ,’ एमाले अध्यक्ष ओलीले भने, ‘ट्वीट गर्दा यस्तो गरौं, जो सही उचित हुन सकोस् । हाम्रो फेसबुक स्टाटसले राम्रो कुरा दिओस् । हामीले अनावश्यक रुपमा नलेखौं ।’

    ‘हामी यसरी फेसबुक स्टाटस लेख्न थालेका छौं कि प्यास लाग्यो पानी खाउँ कि क्याहो ? भनेर फेसबुकमा पनि लेख्यो, पानी पनि खायो । पानी खायो कस्तो आनन्द आयो भन्यो फेरि फेसबुकमा लेख्यो । हाम्रो लेखाइले, हाम्रो स्टाटसले, हामीले बनाइदिएको टिकटकले समय बर्बाद अरुको पनि नगरिदिओस् ।’
    सत्य युगदेखि कतियुगसम्मको ब्याख्या गरेका ओलीले मरेपछि आफूलाई नसम्झन सुझाए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend