८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
आफ्नो स्वास्थ्य आफ्नै हातमा

स्वस्थ रहन हाम्रो अंगस्थिति कस्तो हुनुपर्छ ?


रामदेवी महर्जन
  • २८ फाल्गुन २०७८ , शनिबार

  • स्वस्थ रहन हाम्रो अंगस्थिति कस्तो हुनुपर्छ ?

    के हामीले कहिल्यै आफ्नो अंगस्थिति (मेरूदण्ड) लाई ध्यान दिएर हेरेका छौं ? 
    –कसरी बसिरहेका छौं ?
    –कसरी हिँडिरहेका छौं ?
    –कसरी सुतिरहेका छौं ?
    –कसरी काम गरिरहेका छौं ?
    कहिल्यै यी कुरामा ध्यान दिएका छौं? दैनिक गर्ने यी स–साना लाग्ने कुराले हाम्रो शरीरमा धेरै प्रभाव पारेको हुन्छ।

    स्वस्थ्य रहन जसरी आहार ठिक हुनुपर्छ त्यसैगरी शरीरले गर्ने गतिविधि विहार पनि ठिक हुनुपर्छ। विहार भन्नाले हाम्रो शरीर हल्लाएर गर्ने सबै कामहरू पर्छन्। खानु, सुत्नु, खेल्नु, हिँड्नु, बस्नु, व्यायाम गर्नु, पढ्नु आदि सबै शारीरिक गतिविधि हुन्।

    शरीरले गर्ने यी हरेक गतिविधिहरूमा अनुशासित हुनुपर्छ, आफ्नो अंगस्थिति ठिक हुनुपर्छ। सही अंगस्थिति स्वस्थ रहने आधार हो।  मानिसको अंगस्थितिको कुरा गर्दा सबैभन्दा पहिला मेरूदण्डको स्थिती आउँछ।

    मेरूदण्ड
    मेरूदण्ड हाम्रो शरीरको खम्बा हो। ३३ टुक्रे ससाना हाडहरू मिलेर बनेको मेरूदण्ड हाम्रो गर्धनदेखि नितम्बसम्मको भाग हो।

    यसले हाम्रो पुरा शरीरलाई सिधा राख्न, निहुरिन, हलचल गर्न, दायाँबायाँ गर्न सहयोग गर्छ। यही मेरूदण्डको बीच भागबाट गर्धनदेखि नितम्बसम्मै तारको मुठो जस्तै सुषुम्ना नाडी (स्पाइनल कर्ड) गएको हुन्छ। सुषुम्ना नाडीबाट ३१ जोडा स्नायु रेशाहरू निस्केर शरीरको दायाँ बायाँ (गर्धनबाट दुई हातमा, ढाडपातामा र कम्मरबाट खुट्टामा) शरीर भरि गएका हुन्छन्।

    यी स्नायु रेशाहरूले मस्तिष्कमा सूचना (संवेदना सञ्चार) ल्याउने र मस्तिष्कबाट पुनः स्नायु मार्फत् सम्बन्धित ठाउँमा सूचना प्रवाह गर्छन् जसले गर्दा हामीले तातो, चिसो, घोचेको, दुखेको, पोलेको आदि चाल पाउँछौं।

    त्यसैगरि बस्ने, उठ्ने, हिँड्ने, सुत्ने, हेर्ने, बोल्ने, गन्ध चाल पाउने, काम गर्ने आदि सबै यी स्नायुमार्फत नै हुन्छ। त्यसैले मेरूदण्ड जति स्वस्थ र लचिलो हुन्छ त्यत्तिकै हाम्रो मष्तिस्कको कार्य क्षमता बढ्छ।

    जसरी मोबाइलको नेटवर्कमा खराबी वा समस्या भएमा मोबाइल फोनले राम्रो काम गर्दैन त्यसैगरि हाम्रो शरीरको नेटवर्क मेरूदण्डमा खराबी वा समस्या भएमा मस्तिष्कले राम्रो काम गर्न सक्दैन, सूचना मस्तिष्कमा पुग्न पाउँदैन। अनि समस्या हुन्छ। तसर्थ हाम्रो मेरूदण्डलाई सधैं स्वस्थ र लचिलो राख्ने उचित गतिविधि हुनुपर्छ।

    आजकल हामी अधिकांश काम गर्दा होस् वा बस्दा मेरूदण्डलाई ख्याल नगरी मनपरी बस्ने, शिर निहुराएर, छाती तथा कुम खुम्च्याएर, बांगो भएर बस्नेगर्छौं। विशेषतः टिभी, कम्प्यूटर, ल्यापटप, मोबाइल आदिका कारण स्कुले बालबालिकादेखि कलेज पढ्ने युवा तथा बृद्धसम्म अगाडि निहुरेर, अंगस्थिति बिगारेर बस्ने गर्छन्।

    मेचमा बसेर पढ्दा होस् वा सोफामा बस्दा, मोबाइल चलाउँदा होस् या हिँड्दा झुकेर घण्टौं एकै पोजिसनमा बसेर समय विताइन्छ। अझ शिर निहुराएर, छाति खुम्च्याएर बस्ने बानी बढेको छ।

    यसरी धेरै झुकेर वा निहुरेर काम गर्ने बानीले हाम्रो शरीरको पोस्चर मेरूदण्डको अंगस्थिति मिल्दैन, विभिन्न समस्याहरू नशा च्यापिने, गर्धन दुख्ने, टाउको दुख्ने,  ढाड कुप्रो हुने कम्मरदेखि खुट्टासम्म दुख्ने, झमझम गर्ने, सामान्य समस्या देखि जटिल समस्यासम्म उत्पन्न हुन्छ।

    त्यसैले हामीले दैनिक काम गर्दा हाम्रो अंगस्थितिलाई ध्यान दिनुपर्छ। हाम्रो अंगस्थिति ठिक भएमा शरीरका सम्पूर्ण अंग तथा सबै प्रणाली (रक्तसञ्चार, स्नयूसञ्चार, स्वाससञ्चार आदि) ले आफ्नो कार्य सुचारु गर्न सक्छन्। तर्सथ जुनसुकै काम गर्दा पनि मेरूदण्डको प्रकृतिलाई ध्यानमा राखि काम गरेमा मेरूदण्डको लचकता कायम रहन्छ।  हाम्रो मेरूदण्डको लचकताले दिमागको काम सुचारु हुन्छ।

    सबैले बुझ्नुपर्ने कुराः

    हाम्रो मेरूदण्डको प्रकृति सोझो, खुकुलो हो। तसर्थ सही अंगस्थिति भनेको हिँड्दा बस्दा, सुत्दा, पढ्दा, जुनसुकै काम गर्दा पनि मेरूदण्ड तथा शिरलाई सदा सोझो खुकुलो राख्ने गर्नु हो। तर मेरूदण्डलाई सोझो, सिधा राख्ने भन्नाले अररो किसिमले सिधा राख्ने होइन।

    खुकुलो किसिमले सोझो राख्ने ताकि शरीरमा कुनै पनि अप्ठेरो तथा गाह्रो नहोस्। सही अंगस्थितिले हामीलाई स्वस्थ रहन सहयोग गर्छ।

    अंगस्थिति ठिक राख्न के गर्ने, के नगर्ने ? 

    १. शिर निहुराएर नबस्नेः  
    अचेल अधिकांश मानिस शिर झुकाएर बस्छन्, विशेष युवामा यो समस्या बढी छ। शिर निहुराएर बस्दा गर्धनबाट गएका स्नायुमा असर परि गर्धनमा नशा च्यापिने, टाउको दुख्ने, गर्दन दायाँबायाँ गर्न सम्म नुहने, हातपाखुरा तथा हातका औंलासम्म दुख्ने झमझम हुने समस्या हुन्छ।

    अर्को महत्वपूर्ण कुरा, शिर तथा टाउको झुकाएर बस्दा टाउकोसम्म राम्रो रक्तसञ्चार हुन पाउँदैन, टाउकोमा अक्सिजनको कमि हुन्छ। अक्सिजनको कमीले रगत सफा हुन पाउँदैन जसले गर्दा नकारात्मक सोच आउनेदेखि निराश हुने सम्म समस्या हुन्छ। तसर्थ शिर निहुराएर नबस्ने। शिरलाई सदा सिधा राख्ने।

    २. छाती तथा कुम खुम्चाएर नबस्नेः
    छाती तथा कुम खुम्च्याएर बसेमा मुटु र फोक्सोको काममा असर पर्छ।

    –छाती खुम्चिने वित्तिकै मनोबलमा कमी आउँछ।

    –तसर्थ हिँड्दा, बस्दा जे गर्दा पनि छाती तथा कुमलाई फैलाएर धक फुकाएर बस्ने। यसले मुटु तथा फोक्सोको कार्य क्षमता बढ्छ।

    –छाती फूल्ने वित्तिकै मनोबल बढ्छ, मनोबल बढ्ने वित्तिकै मानिस क्रियाशील हुन्छ।

    ३. हिँड्दा: 
    –हिँड्ने तरिका मिलेन भने मेरूदण्डका जोर्नीहरूमा असर परि टाउको देखि पैतालासम्म कुनै पनि भागमा दुखाई हुन सक्छ। त्यसैले मेरूदण्ड सिधा खुकुलो राखेर, छाती फुलाएर हिँड्ने।

    –सिधा भएर हिँड्दा शरीर छरितो देखिने मात्र होइन, व्यक्तित्व पनि बढ्छ।

    ४. बस्दाः
    बस्दा पनि मेरूदण्ड सिधा खुकुलो राखेर बस्नु पर्छ। त्यसका लागि सके पद्यमासन, बज्रासन वा सुखासनमा बस्नुपर्छ। यसले मेरूदण्डलाई सिधा राख्न सहयोग पुग्छ।

    ५. सुत्दा: 
    –सुत्दा धेरैजसो खुम्चिएर, कोल्टो परेर वा बांगो भएर सुत्ने गर्छन्। यसरी बांगो सुत्दा स्वाससञ्चार, स्नायुसञ्चार, रक्तसञ्चारमा असर पर्छ जसले गर्दा बिहान उठ्दा आराम पछि पनि शरीर आलस्य र भारीपन हुने, शरीरमा दुखाइ रहने हुन्छ।

    –तसर्थ उत्तानो सुत्नु सबै हिसाबले ठिक हुन्छ। उत्तानो सुत्दा सबै सञ्चारले ठिक किसिमले काम गर्न पाउँछन्। यसले बिहान उठ्दा शरीर हल्का हुने, शरीरको कार्य क्षमता बढ्ने र अनुहारमा चमक आउने हुन्छ।

    –तौल बढी भएका र श्वास सञ्चारमा समस्या भएकाहरूले भने पहिला खाना मिलाएर तौल ठिक ठाउँमा ल्याउनु पर्छ र विस्तारै उतानो सुत्ने प्रयास गर्नुपर्छ। त्यसैगरी सुत्दा धेरै बाक्लो, लचकदार ओछ्यान र बाक्लो तकिया हुनुहुँदैन। ठिक्क हुनुपर्छ।

    ६. कुर्सिमा बस्दा:
    हामी अधिकांश अफिसमा बस्दा शरीलाई बांगो गरेर वा कुर्सीमा बस्दा उपरखुट्टी गरेर बस्छौ। यसरी कुर्सीमा उपरखुट्टी लगाएर बस्दा मेरूदण्डबाट गएका नशामा असर गरि समस्या हुन्छ। तसर्थ कुर्सीमा बस्दा दुबै खुट्टाले ढ्याप्प भुइँमा टेकेर बस्ने। वा पलेटी कसेर बस्न सकिन्छ। यसले शरीलाई सिधा रहन मदत गर्छ। दिमागको क्षमता बढ्छ।

    ७. फोन उठाउँदा:
    – अहिले धेरैजसो काम टेबल वर्क हुन्छ। घरमा बसेर काम गर्दा होस् वा अफिसमा बसेरै काम हुन्छ जसले गर्दा शरीरका क्रियाकलापमा कमि आउँछ।

    –तसर्थ फोन उठाउँदा मात्र पनि उठेर केही पाइला हिँडेर कुराकानी गर्ने गर्दा शरीरका जोर्नीहरूले चलमल गर्न पाउँछन्।

    ८. काम गर्दा: जुनसुकै काम गर्दा मेरूदण्ड र शिर सोझो र खुकुलो हुनुपर्छ। निहुरिएरै काम गर्नुपर्ने अबस्था छ भने बीचबीचमा ५–१० मिनेट मेरूदण्डलाई सोझो खुकुलो राखेर आराम गर्ने र पुनः काम गर्ने गर्नुपर्छ।

    ९. परिश्रम र आरामको सन्तुलन:
    शरीरलाई जति परिश्रमको जरुरी छ त्यति नै आराम पनि चाहिन्छ। धेरै परिश्रम मात्रले शरीरमा धपेडी हुन्छ, आराम बढीले पनि शरीर आलस्य हुन्छ। तसर्थ परिश्रम र आरामको संतुलन मिल्नुपर्छ। त्यसैगरी सुत्ने र उठ्ने समय मिलाउने।

    १०.शारीरिक बेग नरोक्नेः
    कुनै पनि शरीरिक वेगलाई जस्तै हाछ्यूँ, खोकी, पिसाव दिसाको वेग, प्यासको वेग आदिलाई नरोक्ने।

    ११. लगातार काम नगर्नेः
    कुनै पनि गतिविधि अति नगर्ने। जस्तै तातोबाट एकैचोटि चिसोमा नजाने, खानेवित्तिकै नुहाउने वा नुहाउने वित्तिकै खाने नगर्ने  । कम्तीमा १ घण्टाको अन्तर गर्ने।

    १२. अध्ययन गर्दाः
    पढ्दा, लेख्दा, टेवलवर्क गर्दा निहुरिन नपर्ने गरि टेबललाई आफ्नो शरीरको उचाईअनुसार मिलाएर राख्ने।

    १३. व्यायामः
    दैनिक शरीरका सबै जोर्नीहरूको लचकता हुने गरि एक घण्टा व्यायाम गर्ने।

    मेरूदण्डलाई लचिलो बनाउने सरल योग आसनहरू:

    १. अंगव्यायामहरू:
    यसमा हात र गर्धनका व्यायामहरू पर्छन्। यो बसेर या उठेर दुबै तरिकाले गर्न सकिन्छ।

    बसेर गर्दा आफूलाई सजिलो आसन बज्रासन, पद्यमासन, सुखासन आदिमा बस्ने। उठेर गर्दा खुट्टा एकदुई फिट फट्टयाएर  सिधा बस्ने। जसरी गरे पनि मेरूदण्ड सिधा राखेर गर्ने।

    मुठ्ठी कस्नेः

    – दुबै हातलाई काँध बराबर सिधा तन्काएर राख्ने।
    – अब स्वास छोड्दै मुठ्ठी कस्ने र तान्दै फुकाउने।

    हत्केलालाई तल माथि गर्नेः

    – अघिकै स्थितीमा रहेर स्वास छेड्दै हल्केला नाडीका जोर्नीसम्म तल गर्ने र स्वास तान्दै माथि गर्ने।
    हत्केलालाई दायाँबायाँ गर्नेः

    – अब स्वास छोड्दै हत्केलालाई भित्र र स्वास तान्दै बाहिर गर्ने।

    हल्केलालाई घुमाउनेः

    – अब दुबै हत्केला खुल्ला राखेर नाडीदेखि घुमाउने, स्वास छोड्दै तल र तान्दै माथि गर्ने।

    हातलाई सिधा अगाडि तन्काउनेः

    – स्वास छोड्दै दुबै हातलाई सिधा अगाडि तन्काउने र स्वास तान्दै खुम्चाएर काँध छुने।

    हातलाई दायाँबायाँ सिधा गर्नेः

    – अब स्वास छोड्दै हातलाई दायाँबायाँ सिधा गर्ने र स्वास तान्दै काँध छुने।

    हातलाई सिधा टाउको माथि लानेः


    – अब स्वास छोड्दै दुबै हातलाई कान छुवाउँदै टाउको माथि लाने र स्वास तान्दै काँध छुवाउने।

    २. गर्धनका व्यायामहरूः

    गर्धनलाई दायाँबायाँ गर्नेः

    – अब स्वास छोड्दै गर्धनलाई मोडेर काँध हेर्न र स्वास तान्दै बीचमा आउने, फेरि स्वास छोडदै अर्को तर्फ मोड्ने ।
    टाउको तलमाथि गर्नेः

    – अब स्वास तान्दै टाउको माथि गर्ने र छोड्दै तल चिउँडोले छाती छुवाउने प्रयास गर्ने।

    कानले काँध छुवाउनेः

    – स्वास छोड्दै बायाँ कानले बायाँ काँध छुवाउने र स्वास तान्दै विचमा फर्कने। फेरी स्वास छोड्दै दायाँ काने दायाँ काँधमा छुवाउने ।

    कुमको घुमाउँनेः

    – दुबै हातले काँध छुवाउने र पालैपालो हातलाई स्वास छोेड्दै माथि गर्ने र स्वास छाड्दै तल गरेर घुमाउने।
    – अब दुबै हातलाई घुमाउने।

    यी सबै व्यायामहरू १०–१० पटक गर्ने

    ३. घोप्टो परेर गर्ने आसनहरू

    अर्ध शलभासन

    – भुइँमा घोप्टो सुत्ने।

    – च्युँडोले भुइँ छुवाइराख्ने।

    – दुवै खुट्टा सिधा राख्ने। दुवै हातलाई हिप नजिकै राख्ने।

    – विस्तारै श्वास तान्दै बायाँ खुट्टा कम्मरभन्दा मुनिको भाग तनक्क तन्काई करिब एक फिट भुइँबाट उठाउने, १० गन्ने।

    – त्यसपछि बिस्तारै श्वास छोड्दै खुट्टा भुइँमा राख्ने। ध्यान दिनुपर्ने कुरा खुट्टालाई धेरै उठाउनु हुँदैन, कम्मरभन्दा मुनिको भाग तनक्क तन्काउने प्रयास गर्ने। श्वास तान्ने र छोड्ने समय मिलाउने।

    – पालैपालो दसदस पटक गर्ने।

    पूर्ण शलभासन

    – अघि जस्तै घोप्टो नै पर्ने।
    – बिस्तारै सास तान्दै दुवै खुट्टा कम्मरभन्दा मुनिको सबै भाग तनक्क तन्काई करिब १ फिट उठाउने, १० गन्ने र बिस्तारै श्वास छोड्दै खुट्टालाई भुइँमा राख्ने।  – खुट्टा तन्काउँदा सबै बल पेटमा हुनुपर्छ। यो पनि १० पटक गर्ने।

    हंसासन 

    – सास तान्दै पूर्ण शलभासनसँगै दुवै हातलाई पछाडि सिधा फैलाउने र टाउको खुट्टाको लेभलमा उठाउने।
    – १० गन्ने र विस्तारै स्वास छोड्दै खुट्टा, हात र टाउकोलाई भुइँमा राख्ने।

    भुजंगासन

    – घोप्टोनै सुत्ने।
    – दुवै खुट्टा सिधा पछाडी जोडेर राख्ने।
    – दुवै हातलाई काँधको बराबर दायाँ– बायाँ राख्ने।
    – अब बिस्तारै लामो स्वास तान्दै पेट देखि माथिको भाग उठाउने र टाउको माथि फर्काएर आकाश हेर्ने।
    – यस अवस्थामा सबै बल हात र पेटमा हुन्छ।  १० गन्ने र बिस्तारै स्वास छोड्दै पहिलेको अवस्थामा फर्कने।
    – ५ पटक गर्ने।

    मकरासन 

    – अब दुवै हातका कुहिनाले भुइँमा टेकाएर दुवै हात गालामा राख्ने।
    – दुवै खुट्टा सिधा राख्ने। विस्तारै सासको तालमा पालैपालो खुट्टा खुम्चाउँदै हिपमा हिर्काउने। सकेसम्म हिप छुवाउने प्रयास गर्ने नसके जति सकिन्छ त्यति गर्ने करिब १०–१० पटक। त्यसपछि दुवै खुट्टा खुम्चाएर हिप छुवाउने प्रयास गर्ने।

    मर्जरी आसनः

    – बज्रासनमा बस्ने।
    –शरीलाई झुकाएर दुबै हात अगाडि काँधको बराबर भुइँमा टेकाउने।
    अब विस्तारै लामो स्वास तान्दै कम्मरलाई जति सकिन्छ त्यति तल गर्ने र टाउकोले माथि हेर्ने। १० गन्ने।

    – अब विस्तारै स्वास छोड्दै मेरूदण्डलाई जति सकिन्छ त्यति धनुष आकारमा लाने र टाउको तल लगरे च्युँडोले छाती छुने । १० गन्ने र विचमा आउने। पाँचदश पटक गर्ने।

    ४.सुतेर गर्ने आसनहरू

    – उत्तानो सुत्ने। हातलाई गर्धन मुनि या काँधको दायाँबायाँ सिधा राख्ने। अब बायाँ खुट्टाको पैताला माथि दायाँ खुट्टा राख्ने र स्वास छोड्दै कम्मर देखि बायाँ मोड्ने, गर्धनलाई विपरित (दायाँ) मोडेर हत्केला हेरिरहने। १० गन्ने र स्वास तान्दै विचमा आउने। पालैपालो पाँचपाँच पटक गर्ने।


    – अब खुट्टालाई पैताला मुनि राखेर गर्ने । पाँचपाँच पटक गर्ने।


    – अब खुट्टालाई घुडामाथि राखेर गर्ने। घुँडाले भुई छुवाउने, अर्को खुट्टा सिधा हुनुपर्छ। पालैपालो ५–५ पटक गर्ने।

    कन्धरासनः

    – उत्तानै रहने।
    – अब दुर्ब खुट्टा घुँडासम्म खुम्च्याउने। हातले पैताला समाउने।
    – स्वास तान्दै टाउकोले मात्र टेकाएर मेरूदण्डलाई माथि उठाउने। दश गन्ने र पहिलेकै स्थितीमा फर्कने ।
    – पाँचदश पटक गर्ने।

    ५. बसेर गर्ने आसनहरू

    जानु सिरासनः


    – दुबै खुट्टालाई सिधा राखेर बस्ने।
    – दायाँ खुट्टा घुडासम्म खुम्च्याएर कुर्कुच्चाले बायाँ खुट्टाको थाई छुवाउने।
    – अब स्वास तान्दै दुबै हात कानबाट सिधा हुनेगरी माथि उठाउने, अनि विस्तारै स्वास छोड्दै अगाडि झुक्दै टाउकाले घुँडा र हातले पैताला छुने प्रयास गर्ने।
    – यस स्थितिमा रहेर १० गन्ने र स्वास तान्दै बिचमा फर्कने। पालैपालो ५–५ पटक गर्ने।

    उष्ट्रासन

     
    – दुवै घुँडा टेकेर बस्ने।
    – बिस्तारै स्वास तान्दै दुवै हातले खुट्टाको पैताला छुने, कम्मरलाई जति सकिन्छ अगाडि तिर ढकेल्ने, टाउकोलाई पछाडी लगेर माथि हेर्ने। १० गन्ने।
    – अब बिस्तारै स्वास छोड्दै पहिलेकै अबस्थामा बीचमा फर्कने।
    – ३ देखि ५ पटक गर्ने।

    सुसुप्त बज्रासन 


    – अघि जस्तै दुवै घुँडाले टेकेर दुई खुट्टाको कापोको बीचमा हिप राख्ने।
    – बिस्तारै कुइना र हातले टेकाउँदै जिउलाई पछाडी लग्दै ढाड र टाउकोलाई भुइँमा छुवाउने, दुवै हातलाई टाउको पछाडी लगेर सिधा राख्ने।
    – यस स्थितिमा सामान्य स्वासप्रस्वासमा रहेर १ देखि १०० गन्ने।
    – अनि बिस्तारै कुइना र हातले टेक्दै ढाड र टाउकोलाई बिस्तारै उठाउने र बीचमा आउने।
    – १ पटक मात्र गरे पुग्छ।

    अश्वासन 


    – सिधा उत्तानो सुत्ने।
    – दुवै हातलाई गर्धन मुनि लक गरेर राख्ने।
    –दुवै खुट्टा घुँडासम्म खुम्चाउने।
    – अब विस्तारै श्वास छोड्दै दुबै खुट्टालाई बायाँतिर र टाउकोले दायाँ मोडेर कुइनो हेरिरहने, दुबै कुइनाले भुइँ छोएको हुनुपर्छ। २० देखि ३० गन्ने र श्वास तान्दै बीचमा फर्कने फेरि  विस्तारै श्वास छोड्दै विपरीत दिशामा मोड्ने। १०–१० पटक गर्ने।
    ६. आराम गर्ने आसनहरू

    सवासनः


    – उत्तनोनै रहने।
    – खुट्टालाई दुई फिट जति फट्टाएर राख्ने।
    – दुबै हातलाई हिपको दायाँबायाँ चार इन्च जति पर राख्ने।
    – आँखा, मुख बन्द राख्ने।
    – सम्पूर्ण शरीरलाई सिधा खुकुलो आरामसंग राख्ने। सब जस्तै चलमल नगरी आराममा बस्ने।
    –यस अवस्थामा सम्पूर्ण ध्यान आफ्नो स्वासमा केन्द्रित गर्ने। विस्तारै क्षमताअनुसार लामो स्वास तान्ने र छोड्ने गर्ने। स्वास तान्दा र छोड्दा आरामसँग आवाज ननिकालिकन गर्ने।

    बद्धसवासन


    – यसमा दुवै खुट्टालाई घुँडासम्म खुम्च्याएर राख्ने। दुवै हातलाई गर्धन मुनि लक गरेर राख्ने। अरु सवासनमा जस्तै गर्ने।
    – यी दुबै आराम गर्ने निकै उपयोगी आसन हो। यस आसनले थाकेको शरीरमा पुनः ऊर्जा प्रदान गर्ने काम गर्छ।
    – अन्य समयमा पनि शरीर थाकेको वा तनाव भएका बेलामा बद्दसवासान वा स्वासनमा बसेर आराम गर्न सकिन्छ। यो ५ मिनेट देखि १०, २०, ३० आफूलाई जति चाहिन्छ त्यति बस्न सकिन्छ। यसले शरीरलाई रिफ्रेस गराउँछ।
    यसरी आफ्नो शरीरको अंगस्थितिलाई सिधा राख्ने सजक प्रयास गर्दै यी व्यायामहरुको नियमित अभ्यास भएमा मेरूदण्डको लचकता कायम रहन्छ, नशा च्यापिने वा ढाडका समस्याहरु हुदैन, शरीर स्वस्थ रहन्छ।

    साबधानीहरुः– 
    – कुनै पनि व्यायाम बलपुर्बक नगर्ने। बिस्तारै जति सकिन्छ त्यति गर्दै जाने। बिस्तारै शरीरको लचकता बढ्दै जान्छ र सबै गर्न सकिने हुन्छ।
    – व्यायाम गर्दा स्वासमा ध्यान दिदै तान्ने र छोड्ने ताल मिलाएर गर्ने।
    – व्ययामलाई क्रमबद्ध मिलाएर गर्ने।
    – जस्तै उष्ट्रासन गर्ने बित्तिकै ससांकासन गर्ने।
    – ढाड कम्मर दुखाई, नशा सम्बन्धी समस्या वा अन्य जोर्नी दुख्ने समस्या भएमा सम्बन्धित बिज्ञ वा सम्बन्धित निकायमा सम्पर्क गरेर परामर्श लिएर मात्र गर्ने।

    अन्त्यमा, 
    स्वस्थ रहन दैनिक १ घण्टा शरीरका सम्पूर्ण जोर्नीहरुको लचकता गराउने व्यायाम, योग आसनहरू गर्नुपर्छ। तर स्वस्थ रहन बिहानै योग गर्नुपर्छ, भारी व्यायाम वा सकिनसकि अप्ठेरा योग आसनहरूनै गर्नुपर्छ भन्ने छैन। हाम्रो एक सजग प्रयासले मात्र पनि हामीलाई शारीरिक रुपमा स्वस्थ रहन सहयोग पुग्छ।

    त्यसका लागि एउटै योग आसन गरे पुग्छ। हामीले हिँड्दा, बस्दा, उठ्दा, सुत्दा, जुनसुकै काम गर्दा मात्र पनि सचेत भएर यो सरल योग गर्न सक्छौं। त्यो हो आफ्नो मेरूदण्डलाई सोझो, खुकुलो राख्ने, शिरलाई सिधा राख्ने योग। जहाँ बसे जे गरेपनि यति योग त हामी गर्न सक्छौं नि !

    तर्सथ जहाँ बसे पनि जे गरे पनि यति मात्र ध्यान दिऔं–आफ्नो मेरूदण्ड र शिरलाई सदा सिधा, खुकुलो राखौं। दैनिक आफ्नो शरीरको अंगस्थितिलाई (मेरूदण्डलाई) ध्यान दिऔं। कसरी बसिरहेका छौं, कसरी हिँडिरहेका छौं, कसरी काम गरिरहेका छौं भन्ने कुरामा ध्यान दिऔं। आफ्नो मेरूदण्ड प्रति सजग बनौं। यसलाई सिधा, खुकुलो राख्ने सजग प्रयास गरौं।

    यसबाट आफ्नो दिमागको कार्य क्षमता बढ्नेछ।

    शरीर स्वस्थ र आरामको अबस्थामा रहनेछ।

    आफैंमा, आफ्नो शरीरमा, विचारमा र जीवनमा परिवर्तन पाउनु हुनेछ।

    ध्यान दिऔंः
    अचेल बालबालिका टिभी, मोबाइलका प्रभागका कारण निहुरेर घण्टौं बस्छन्। बस्दा पनि ढल्कीमल्की बसेका हुन्छन्। यसले गर्दा बच्चादेखि नै समस्या हुन्छ। तसर्थ घरमा बालबालिकालाई पढ्दा, लेख्दा, होमवर्क गर्दा, खाँदा जे गर्दा पनि मेरूदण्डलाई सिधा खुकुलो राख्न सिकाउनुपर्छ।

    स्कुल तथा कलेजमा पनि शिक्षकहरूले विद्यार्थी कसरी बसिरहेका छन्,कसरी उभिएका छन् भन्नेमा ध्यान दिनुपर्छ। विद्यार्थीलाई सही अंगस्थितिमा रहन प्रेरित गर्नुुपर्छ। यसले विद्यार्थीमा पढ्ने क्षमता बढ्छ, फुर्तिला बन्छन्, स्वस्थ रहन सहयोग पुग्छ।

    तसर्थ सबैले आफ्नो अंगस्थितिलाई ध्यान दिऔं, मेरूदण्डप्रति सजग रहौं। सिधा खुकुलो रहौं। स्वस्थ रहौ र अरुलाई पनि स्वस्थ रहन प्रेरित गरौं।

    आफ्नो स्वास्थ्य आफ्नै हातमा।
    (‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जन योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक हुन्। )

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend