९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
‘जनवादी कलाकार हुनु माओवादी हुनु होइन’

रक्तिमकी कलाकार ‘पिर’ मा पूर्वलडाकु


दीपक परियार
  • ३० फाल्गुन २०७८ , सोमबार

  • रक्तिमकी कलाकार ‘पिर’ मा पूर्वलडाकु
    पिरको पोस्टरमा बायाँबाट केशु पुन मगर, प्रकाश सपुत र सुरक्षा पन्त ।

    पोखरा, ३० फागुन – युटयुबमा प्रकाश सपुतको नयाँ गीत ‘पिर’ शुक्रबार सार्वजनिक भएसँगै पक्ष-विपक्षमा बहस भइरहेको छ । विशेषत: माओवादी नेता कार्यकर्ताले यो गीतको भिडियोमा आपत्ति जनाएका छन् । भिडियोमा एक पूर्वलडाकु देहव्यापारमा संलग्न भएको दृश्यप्रति उनीहरुको आपत्ति छ ।

    प्रकाश सपुतले ‘भिडियोमा देखिएका पात्र काल्पनिक नभएको र सार्वजनिक भइरहेकै विषयवस्तु’ भएको बताएका छन् । भिडियोमा पूर्वछापामारको भूमिकामा छिन्, केशु पुनमगर (केशरी) । जसले गुजारा चलाउन देहव्यापार गरेको भिडियोमा देख्न सकिन्छ ।
    रिलमा जस्तै ‘रियल’मा पनि उनी वास्तविक पूर्वलडाकु भएको भनेर यतिबेला समाचार प्रकाशित भएका छन् । विभिन्न सञ्चारमाध्यमसँगको प्रतिक्रियामा उनले सानै उमेरदेखि जनवादी कलाकार भएर आन्दोलनमा लागेको बताएकी थिइन् । तर, उनी तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीसमर्थित जनवादी कलाकार भने थिइनन् ।

    म्युजिक भिडियो सार्वजनिक भएपछि आइतबार राति एक टेलिभिजन कार्यक्रममा उनको पहिलो अन्तर्वार्ता प्रसारण भयो । कार्यक्रम प्रस्तोताले उनलाई माओवादीको पूर्वलडाकुकै रुपमा चिनाए । केशुले पूर्वमाओवादी लडाकुले डान्सबार, दोहोरीमा बाध्यतावस नाचेर जीवन गुजारा गर्नुपरेको र पार्टीले बेवास्ता गरेको बताइन् ।

    ‘पीर’ को कथामा जस्तै थुप्रै पूर्वलडाकुले यौन व्यवसाय अँगाल्न परेको वास्तविकता उनले सुनाइन् । प्रस्तोताले संवादकै बीचमा केशुले नृत्य गरिरहेको ‘जनवादी’ गीतको भिडियो देखाए । डान्स बारमा नाचेको र सांस्कृतिक पहिरनमा जनवादी गीतमा नाचेको भिडियोको तुलना गरे ।

    कार्यक्रममा देखाइएको भिडियो भने माओवादी कलाकारको नभई राष्ट्रिय जनमोर्चानिकट रक्तिम समूहको हो । ‘आँधीको बेग बनी आउ सारा जनता…’ बोलको गीतमा शब्द/संगीत हेमराज आश्रमको रहेको छ । गीतमा आश्रम र देवी सुनामीले स्वर दिएका छन् ।

    आश्रम रक्तिम परिवारका सचिव हुन् । गीतको भिडियोमा मुख्य कलाकारको रुपमा पियारी थापा (सुप्रभा) छिन् । थापा राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेश सांसद हुन् । केशुले आफू माओवादी कलाकार भएको आसयको अन्तर्वार्ता दिएपछि रक्तिम परिवारका केन्द्रीय सचिव हेमराज आश्रम आश्चर्यमा परेका छन् । उनका अनुसार केशुको घर बागलुङको बरेङ गाउँपालिकास्थित सुखौरामा पर्छ ।

    सुखौरा नेकपा मसालको बढी प्रभाव भएको क्षेत्र हो । मसालको सांस्कृतिक समूह रक्तिम जीवन शर्माको नेतृत्वमा थियो । रक्तिमको सांस्कृतिक अभियान बागलुङदेखि गुल्मीसम्म पुग्थ्यो । त्यही क्रममा जोडिएकी थिइन् केशु । ०५७/०५८ मा उनी ७/८ वर्षकी थिइन् । त्यतिबेलैदेखि उनी रक्तिम परिवारसँग नजिक भइन् ।

    हेमराज आश्रम र पियारी थापाहरुले नेतृत्व गर्ने अभियानमा विभिन्न गाउँ पुगिन् । त्यतिबेला राष्ट्रिय जनमोर्चाले माओवादीविरुद्ध भण्डाफोर अभियान नै चलाएको थियो । त्यस्तो समयमा केशु कहिल्यै माओवादी नभएको हेमराज बताउँछन् । ‘हाम्रो पार्टीले जनयुद्ध पनि भन्दैनथ्यो, सशस्त्र विद्रोह भन्थ्यो,’ उनले भने, ‘उहाँ माआवादी हुनुभएन । युद्धमा हिँडेको पनि होइन ।’

    ०७१/०७२ मा केशु उच्च शिक्षा अध्ययन गर्न बागलुङबाट काठमाडौं पुगिन् । त्यतिबेला रक्तिमले नै आश्रय दिएको हेमराजले बताए । रक्तिमको सांस्कृतिक कार्यक्रम, देउसी भैलोमा उनी हिँड्थिन् । रक्तिमका भिडियोमा पनि उनले नृत्य गरिन् । ‘आँधीको बेग बनी…’ बोलको गीतको भिडियो ०७३/०७४ मा तयार भएको हो । २८ वर्षीया उनी दुई वर्ष अगाडिसम्म उनी रक्तिममै आबद्ध थिइन् । त्यसपछि भने मूलधारको संगीतप्रति उनको झुकाव बढ्यो ।

    ‘उहाँ युद्धकालमा रक्तिममै हुनुहुन्थ्यो, माओवादी छापामार भएको सत्य होइन,’ हेमराजले भने, ‘उहाँले किन त्यस्तो भन्नुभयो, कहाँ के कनेक्सन छ थाहा भएन । कन्ट्रोभर्सीमा पर्दा सत्य लुक्दैन । उहाँलाई नै आत्मघाती हुन्छ ।’

    सुखौरामा रहेकी केशुकी आमा मनकुमारीले पनि आफ्नो छोरी सानैदेखि रक्तिम परिवारमै आबद्ध भएको बताइन् । केशु स्वयं भने विभिन्न अन्तर्वार्तामा आफू ‘जनवादी कलाकार’ भएको बताउँदा गलत तरिकाले अथ्र्याइएको दाबी गर्छिन् । ‘जनवादी कलाकार हुन माओवादीमै हुनुपर्छ भन्ने होइन,’ उनले भनिन्, ‘अन्तर्वार्ताहरुमा पनि मैले अहिले पूर्वछापामारहरुको अवस्था के कस्तो छ भनेर नेताले बुझ्नुपर्छ भनेकी छु ।’

    शुक्रबारको टेलिभिजन अन्तर्वार्तामा भने प्रस्तोताले उनलाई ‘सशस्त्र युद्धमा माओवादी पार्टीका तर्फबाट जनवादी कलाकार’ का रुपमा परिचय दिएका छन् । हरियो रंगमा रातो कलर भएको सर्टको दाहिनेपट्टी सेतो तारा बनाइएको पहिरनमा उनी अन्तर्वार्तामा उपस्थित भएकी थिइन् । अन्तर्वार्ताभर उनले रक्तिम परिवार र राष्ट्रिय जनमोर्चामा आबद्ध भएको कतै उल्लेख गरेकी छैनन् ।

    राष्ट्रिय जनमोर्चाकी गण्डकी प्रदेश सांसद पियारी थापा (सुप्रभा) केशु पुन मगरको कलाकारिताको सुरुवात नै रक्तिमबाट भएको बताउँछिन् । ‘मेरै नेतृत्वमा रक्तिम अभियानमा लिएर हिँडेको हो, नाच्न पनि हामीले नै सिकायौं,’ उनले भनिन्, ‘सांस्कृतिक अभियानदेखि सडकसम्म सँगै संघर्ष गर्‍यौं । जंगल पसेर बन्दुक नै नबोके पनि परिवर्तनका लागि लड्यौं भन्नुपर्नेथियो ।’

    पछिल्लो समय केशु रक्तिमको काठमाडौं महानगर समितिसँग आवद्ध रहेको आफूलाई थाहा भएको सांसद थापाले बताइन् । ‘गीतमा उहाँले आफ्नो कला प्रस्तुत गर्नुभएको हो,’ उनले भनिन्, ‘यसलाई अतिरञ्जित बनाउनु भएन ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend