९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
केन्द्रबाट अपिल जारी गर्ने, पालिकास्तरमै घोषणापत्र बनाउने

चुनावको लागि माओवादीले बनायो २८ चुनावी कमान्ड


जनमञ्च संवाददाता
  • ३ चैत्र २०७८ , बिहिबार

  • चुनावको लागि माओवादीले बनायो २८ चुनावी कमान्ड
    बुधबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमका सहभागी |

    काठमाडौं, ३ चैत – नेकपा  माओवादीले ३० वैशाखमा हुने स्थानीय तह चुनाव परिचालनका लागि २८ कमान्ड निर्माण गर्दै पालिकास्तरमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने गरी चुनावकेन्द्रित दुई महिने योजनालाई अन्तिम रूप दिएको छ । पार्टीपंक्तिलाई एकीकृत रूपमा परिचालनका लागि माओवादीले दुईदेखि चार जिल्ला जोडेर केन्द्रीय कमान्ड बनाएको हो ।

    सम्बन्धित प्रदेशबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्नेमध्ये ‘सिनियर’ नेताले कमान्डको नेतृत्व सम्हाल्ने केन्द्रीय कार्यालयले जनाएको छ । जसअनुसार प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, इलामको पहिलो, झापा, मोरङ र सुनसरीको दोस्रो, धनकुटा, तेह्रथुम र संखुवासभाको तेस्रो, भोजपुर, खोटाङ र उदयपुरको चौथो र सोलुखुम्बु र ओखलढुंगाको पाँचौँ कमान्ड बनाइएको छ । मधेस प्रदेशमा दुई–दुईओटा जिल्लालाई जोडेर चारओटा कमान्ड बनाइएको छ । जसअनुसार सप्तरी र सिराहाको पहिलो, धनुषा–महोत्तरीको दोस्रो, सर्लाही–रौतहटको तेस्रो र बारा–पर्साको चौथो कमान्ड बनाइएको छ ।

    बागमती प्रदेशमा चितवन र मकवानपुरको पहिलो, धादिङ, नुवाकोट र रसुवाको दोस्रो, सिन्धुपाल्चोक, दोलखा र काभ्रेपलाञ्चोकको तेस्रो, सिन्धुली र रामेछापको चौथो र भक्तपुर, काठमाडौं र ललितपुरको पाँचौँ कमान्ड बनाइएको छ । गण्डकी प्रदेशमा गोरखा, लमजुङ र मनाङको एउटा कमान्ड, तनहुँ–नवलपरासीपूर्वको दोस्रो, स्याङ्जा, कास्की र पर्वतको तेस्रो र बाग्लुङ, म्याग्दी र मुस्ताङको चौथो कमान्ड बनाइएको छ ।

    लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रूपन्देही र कपिलवस्तुलाई पहिलो कमान्डमा राखिएको छ । पाल्पा, गुल्मी र अर्घाखाँचीलाई दोस्रो, प्युठान, रुकुम पूर्व र रोल्पालाई तेस्रो र दाङ, बाँके र बर्दियालाई चौथो कमान्डमा राखिएको छ । कर्णाली प्रदेशमा भने तीनओटा कमान्ड बनाइएको छ । सुर्खेत, दैलेख र सल्यानको एउटा कमान्ड, जाजरकोट, डोल्पा र रुकुम पश्चिमको दोस्रो तथा कालिकोट जुम्ला, मुगु र हुम्लाको तेस्रो कमान्ड बनाइएको छ । सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी र बाजुराको पहिलो, बैतडी, बझाङ र दार्चुलाको दोस्रो तथा कैलाली कञ्चनपुर र डडेलधुराको तेस्रो कमान्ड माओवादीले बनाएको छ ।

    माओवादीले चुनावी योजनाअन्तर्गत केन्द्रबाट जनताका नाममा अपिल प्रकाशन गर्ने, तर चुनावी घोषणापत्र भने पालिकास्तरमै निर्माण गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । माओवादीका उम्मेदवारलाई मतदान गर्नुपर्ने कारण खुलाएर केन्द्रले आममतदाताका लागि अपिल प्रकाशन गर्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए ।

    त्यस्तै, स्थानीय पालिकाविशेषका आधारमा घोषणापत्र र गर्नुपर्ने काम, गरिएका कामहरूको बारेमा अलग–अलग चुनावी घोषणापत्र बनाएर सार्वजनिक गरिने माओवादीले जनाएको छ । स्थानीय चुनावका लागि माओवादीले ‘गाउँ, नगर घर–घर जाऔँ, माओवादी केन्द्रलाई विजयी गराऔँ,’ ‘माओवादीको नीति र नेतृत्व, संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व’को नारा तय गरेको छ ।

    दुई महिने अभियानमा २८ ओटा कमान्डले संगठन परिचालन टिम गठन गरी घरघरमा पार्टी सदस्य र टोलटोलमा संगठन बनाउने माओवादीको केन्द्रीय योजना छ । संगठन निर्माणमा वाइसिएललाई पनि परिचालन गर्ने, सबै तहका कमिटीलाई पूर्णता दिने, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार कमिटी र परिषद्हरू गठन गर्ने, केन्द्र, प्रदेश र स्थानीय तहमा आवश्यक विभागहरू बनाउने, संगठित सदस्यलाई पार्टी कमिटीमा संगठित गर्ने र नयाँ पार्टी सदस्यता वितरण गर्नेसम्मको योजना माओवादीले बनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend