८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
‘कार्यकर्ताजस्तो भएर जनताको घरदैलोमा जानुहोला । त्यहाँ आसनग्रहण नगर्नुहोला ।'

‘राम्रो काम गरेका’ जनप्रतिनिधिलाई एमालेले टिकटमा प्राथमिकता दिने


जनमञ्च संवाददाता
  • ३ चैत्र २०७८ , बिहिबार

  • ‘राम्रो काम गरेका’ जनप्रतिनिधिलाई एमालेले टिकटमा प्राथमिकता दिने

    काठमाडौं, ३ चैत – नेकपा एमालेले स्थानीय जनप्रतिनिधिलाई आगामी स्थानीय तहको चुनावको टिकट वितरणमा ससर्त प्राथमिकता दिने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले ‘राम्रो काम गरेका’ प्रतिनिधिलाई निरन्तरता दिइने जानकारी दिएका छन् ।

    संसद् अधिवेशन अन्त्य भएकै भोलिपल्ट बसेको दलको बैठकमा ओलीले चुनावमा राम्रा उम्मेदवार खडा गर्नुपर्ने तथा स्थानीय तहमा राम्रो काम गरेका जनप्रतिनिधिलाई टिकटमा प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । ‘सकेसम्म सर्वसम्मतिका साथ योग्यतम उम्मेदवार खडा गरेर हामीले यो चुनावमा विजय प्राप्त गर्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक भट्टराईले भने, ‘परिस्थिति बिग्रिएको छैन भने राम्रो काम गरेका जनप्रतिनिधिलाई निरन्तरता दिनुपर्छ ।’

    एमाले सचिवालय बैठकले चुनावमा पार्टीले टिकट दिने उम्मेदवार सिफारिस र निर्णयको विधि तथा प्रक्रियासम्बन्धी निर्णय गरेको थियो । सम्बन्धित वडा र पालिका कमिटीको सिफारिसमा वडाध्यक्ष र सदस्यको निर्णय जिल्ला कमिटीले गर्ने, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र प्रदेश कमिटीले अन्तिम निर्णय गर्ने एमाले सचिवालयले निर्णय गरिसकेको छ । महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय भने जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीबाट गर्ने एमालेले निर्णय गरेको छ ।

    मंगलबार संसद् अधिवेशन अन्त्य भएपछि बुधबार संसद् भवन बानेश्वरमा बसेको संसदीय दलको बैठकमा दलका नेतासमेत रहेका अध्यक्ष ओलीले स्थानीय चुनावलगायत समसामयिक विषयमा धारणा राखेका थिए । ओलीले सांसदलाई आसन्न स्थानीय तहको चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । आ–आफ्नो क्षेत्र गएर पार्टीको उम्मेदवारका पक्षमा माहोल सिर्जना गर्न उनले संघीय संसद्का दुवै सदनका सदस्यलाई निर्देशन दिएका हुन् ।

    एमाले प्रमुख सचेतक विशाल भट्टराईले चुनाव जित्ने गरी तयारीमा लाग्न अध्यक्ष ओलीले सांसदलाई निर्देशन दिएको बताए । ‘स्थानीय चुनावमा एमाले कसरी प्रस्तुत हुनुपर्छ र एमालेका सांसदहरूले कसरी आफ्नो चुनाव क्षेत्रमा पार्टीलाई विजयी गराउनका लागि लाग्नुपर्छ भन्ने सन्दर्भमा अध्यक्षज्यूले निर्देशन दिनुभएको छ,’ प्रमुख सचेतक भट्टराईले भने ।

    चुनावमा ६५-७० प्रतिशत सिट एमालेले जित्ने ओलीको दाबी थियो । ‘३० वैशाखमा हुने चुनावका लागि ६५-७० प्रतिशत सिटमा एमालेले विजय प्राप्त गर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘६,७४३ वडा, ७५३ वटा पालिकामा एक्लै चुनाव लडेर ६५ देखि ७० प्रतिशत सिटमा विजय प्राप्त गर्ने पूर्वानुमान छ ।’ । एमाले कहीँ कतै गठबन्धनबाहेक मूलतः एक्लै चुनाव लड्ने ओलीको भनाइ थियो । चुनावका लागि आफूहरू तयार अवस्थामा रहेको भट्टराईले बताए । चुनावी घोषणापत्र जारी गर्न र उम्मेदवार छान्न मात्रै बाँकी रहेको उनको भनाइ छ । दुवै काम शीघ्र सम्पन्न हुने उनले बताए ।

    बैठकमा प्रमुख सचेतक भट्टराईले प्रतिपक्षसँग सल्लाह नगरी अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । दलको बैठक सुरु गर्दै उनले भनेका थिए, ‘सत्तापक्षले प्रतिपक्ष र अरू कसैसँग पनि परामर्श नगरी हठात् संसद् अधिवेशन अन्त्य ग¥यो । यो हठात् अन्त्य भएपछि केही महत्वपूर्ण विषय अहिले यथावत् छन् ।’ दशौँ अधिवेशनमा जनताका समस्याका बारेमा छलफल गर्न सत्तारूढ गठबन्धन र सभामुखले प्रयास नगरेको एमालेको ठहर छ । संसद् चल्न नसकेको दोष सत्तारूढ दलहरूले एमालेमाथि लगाएकोमा पनि भट्टराईले असन्तुष्टि व्यक्त गरेका थिए ।

    ओलीको आचारसंहिता !
    एमाले अध्यक्ष ओलीले आसनग्रहण नगर्नलगायतका विषयमा सांसदहरूको ध्यानाकर्षण गराएका छन् । सांसदलाई चुनावी रणनीतिबारे जानकारी गराउँदै ओलीले भनेका थिए, ‘कार्यकर्ताजस्तो भएर जनताको घरदैलोमा जानुहोला । त्यहाँ आसनग्रहण नगर्नुहोला । स्थानीयस्तरमा हैसियत खोज्ने होइन । जनतासँग नङमासुको सम्बन्ध कायम गर्ने हो ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend