काठमाडौं, ५ चैत – अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका छन् । शुक्रबार नागरिक लगानी कोषको ३२औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको बताए ।
तरलताको अभाव सिर्जना गराउन ओछ्यानमुनि वा सिरानीमुनि पैसा राख्ने प्रवृत्ति बढेको अर्थमन्त्री शर्माको जिकिर छ । ‘पुँजी कतै हराइरहेको छ, आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा लागेको छु,’ उनले भने, ‘हाम्रो पुँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन ? यतातिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’
अर्थमन्त्री शर्माले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फन्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए । उनले भने, ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरूको दुरुपयोग गरेर पुँजी पलायन हुने प्रक्रिया देखा परेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन् ।’
पछिल्लो समय देशले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए । ‘बैंक ब्याजदर व्यवसायी अनुकूल हुनुपर्छ भनेर मैले भन्दै आएको छु । उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशतभन्दा बढी हुनुहुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु,’ उनले भने, ‘बैंकिङ प्रणालीमा बिस्तारै निक्षेप बढ्न थालेकाले तरलताको समस्या केही दिनमै हल हुनेछ ।’
देशले अहिले भोगिरहेको शोधनान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डन्डी तथा डन्डीजन्य वस्तु, खानेतेल, प्लास्टिकलगायतको मूल्य बढेको छ । त्यस्तै, ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाडादर पनि वृद्धि भएको छ । अर्कातिर डलरको विनिमयदर पनि बढेको छ । यो सबैको चाप भुक्तानीमा पर्न गएर शोधनान्तर स्थिति सोचेभन्दा केही फरक पर्न गएको उनको भनाइ थियो ।
नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार निर्माणमा परिचालन गर्नुपर्ने शर्माले बताए । अहिले देशलाई २० खर्ब लगानी आवश्यक रहेको बताउँदै उनले देशको स्तरोन्नतिका लागि कोषलगायत संस्थाहरूको रकम परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताए । सेयर बजारमा लगानी कोषको भूमिका महत्वपूर्ण हुने भन्दै कोषसँग सहकार्य गर्न बोर्ड तयार रहेको उनको भनाइ थियो ।
कोषका कार्यकारी निर्देशक रमण नेपालले विभिन्न १२ कार्यक्रममा कोषले करिब आठ लाखभन्दा बढी सहभागीहरूलाई आबद्ध गराएर आफ्नो सेवा देशभर पुर्याइरहेको बताए । कोषको चुक्ता पुँजी तीन अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम एक खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
यो अवधिमा कोषले एक खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ । कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई कोषले उच्च प्राथमिकता दिएको उनले बताए ।
कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई सञ्चालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने पुनर्बिमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर कम्पनीका रूपमा रहेको पनि नेपालले बताए ।
कोषका विभिन्न कार्यहरूलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको नेपालको भनाइ थियो । कोषले आवास कर्जाबापत सहभागीलाई १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपैयाँमध्ये जुन कम हुन्छ, सोबराबरको रकम प्रदान गर्ने कार्य सुरु गरिसकेको छ ।
उनले कोषका कार्यक्रममा पति–पत्नी दुवै सहभागी भएको भए आवास कर्जा सीमालाई एक करोड रुपैयाँसम्म पुर्याउने गृहकार्य सुरु गरिसकेको जानकारी दिए । कोषका सञ्चालक ईश्वरीप्रसाद अर्यालले कोषमा सीमित जनशक्ति रहे पनि सञ्चालनदेखि कोष नाफामा गएको बताए । उनले भने, ‘कोषले सीमित क्षेत्रमा रहेको लगानीको अवधारणालाई विस्तार गर्नुपर्छ ।’