काठमाडौं, ५ चैत – नेकपा (एमाले)का अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सूर्य चिन्हमा भोट हाल्ने बताएका छन्। पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीसमेत रहेका देउवालाई व्यंग्य गरेका हुन्।
कांग्रेसले कुनै बेला कम्युनिष्ट सरकारले ६० वर्ष पुगेकालाई गोली ठोक्छ भनी भ्रम फैलाएको उल्लेख गर्दै उनले कांग्रेसले चुनाव प्रचारप्रसारका लागि जे पायो त्यही बोल्ने गरेको आरोप लगाए।
‘तपाईं हामीले सुनेका, छौं ६० वर्षभन्दा माथिका बुढाबुढीलाई कम्युनिष्ट सरकार बन्यो भने गोलि हानेर मार्छ भन्थ्यो। अब बुढाबुढीका छेउमा कांग्रेस जाओस् त, उनले भने, ‘बुढो भएर पनि शेरबहादुर देउवा आफैं कांग्रेसमा किन छन् भन्दा, उनलाई त्यो चार हजार भत्ता के गर्नु रु छँदै छ। नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँछन्। शेरबहादुर जीलाई म भन्न चाहान्छु, कमसेकम जेष्ठ नागरिक हो तपाईं सूर्य चिन्हमा भोट हाल्नुस् अरुले नदेख्ने गरी भए पनि।’
पुरानो मत परिणामअनुसार एमाले अहिले पनि हरेक ठाउँमा पहिलो रहेको भन्दै अध्यक्ष ओलीले अहिलेको मत परिणामअनुसार एमाले अत्यधिक बहुमतको पार्टी रहेको दाबी गरे। ‘अहिले पनि हरेक ठाउँमा नेकपा एमाले प्रथम पार्टी छ। सबैभन्दा मजबुत र सशक्त पार्टी। अझ यो त पुरानो मत परिणाम हो। आजको मत परिणामले एमाले पहिलो मात्र होइन आजको मतपरिणामले एमाले अत्यधिक बहुमतको पार्टी हो’, उनले भने।
अध्यक्ष ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदने बताए । ‘पाँच वर्षअघि २३ मा झारिसकेकोले अब १३ सिटमा झारिदिनु पर्दछ’, उनले भने- ‘यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ?’ कार्यकर्तालाई निर्देशन दिंदै उनले भने, ‘अब १३ सिटमा झार्नुपर्छ । लाग्नुस् न !’
ओलीले गठबन्धन केही नभएको र स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताए । कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले भने, ‘एमालेका अगाडि कोही पनि टिक्न सक्दैन, स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिदैन ।’
उनले प्रचण्ड र माधव नेपाल कम्युनिष्टसमेत नभएको आरोप लगाउँदै उनीहरु कम्युनिष्ट हुन् भन्ने भ्रम छोडेर आफ्नो चुनावी तयारी गर्न कार्यक्रताहरुलाई आग्रह गरे। समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै भने, ‘यिनीहरु कम्युनिष्ट हैनन्। त्यसकारण यो कम्युनिष्ट एकताको लफडा छोड्नुहोस्। कांग्रेसका पछि-पछि कुद्ने, मैले अस्ति नै भने नि शेरबहादूरजी हाम्रा घरका बिराला तपाईंका भान्छामा देखें नि भनेर।’
उनले थपे, ‘प्रचण्ड माधवहरु हेर्नुहोस् त कम्युनिष्टको झण्डै दुईतिहाइको पार्टी फूटाउने, कम्युनिष्ट सरकार हुँदा प्रतिगमन भयो अरे, जनताका काम गर्दा प्रतिगमन भयो अरे, विकासका काम गर्दा प्रतिगमन भयो अरे, अनि कांग्रेसीको नेतृत्वमा सबै शेरबहादुरलाई दिंदा क्रान्ति भयो अरे !’
उनले कार्यक्रममा प्रचण्डलाई व्यङ्ग्य गर्दै माओवादीका जनप्रतिनिधि तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्दै गरेको बताए।हामीबाट छुट्टिएर गएको पार्टी समाप्त भइसकेको र आफूहरुबाटै लगेको ४८ सिटको धाक लगाइरहेको भन्दै उनले नेकपा एकीकृत समाजवादीलाई पनि व्यङ्ग्य गरेका छन्।
सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, सम्पर्कका पार्टी इन्चार्ज लालवावु पण्डित लगायतले वोलेका थिए ।