११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026
सडक पहुँच पुगेपछि उपल्लो मुस्ताङमा स्थानीयले धमाधम आधुनिक पूर्वाधारयुक्त ठूला होटल तथा रेस्टुरेन्ट थपेका छन् ।

माटोको सहर लोमान्थाङमा पर्यटक बढे


जनमञ्च संवाददाता
  • ५ चैत्र २०७८ , शनिबार

  • माटोको सहर लोमान्थाङमा पर्यटक बढे

    मुस्ताङ, ५ चैत – संक्रमण घट्दै गएपछि उपल्लो मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटकको लर्को लाग्न थालेको छ । कोरोनाको जोखिम घट्दै गएको, गर्मीयाम सुरु भएको तथा मोटरबाटोको सुगमताले मुक्तिनाथ दर्शन गर्न र माटोको सहर भनेर चिनिने लोमोन्थाङसहित मुस्ताङ घुम्न आउने पर्यटक यतिबेला ह्वात्तै बढेका छन् ।

    छोटो समय, न्यून खर्च र सहज यात्राले आमा समूह, वन समूह तथा शैक्षिक भ्रमणसँगै युवापुस्ता घुम्न आउन थालेको स्थानीयले बताए । केही भारतीयसहित विदेशी पर्यटक पनि देखिन थालेका छन् ।

     

    मुस्ताङ सीमावर्ती अन्नपूर्ण गाउँपालिका-२ तातोपानीस्थित सीमा प्रहरी चौकीमा रहेको सवारी चेक पोष्टको अभिलेखअनुसार बिहीबार मात्र ६० यात्रुवाहक बस, १ सय ६४ वटा जिप र ३० वटा ट्रक मुस्ताङ प्रवेश गरेका छन् ।

    त्यसैगरी पोस्टमा शुक्रबार दिउँसो २ बजेसम्मको अभिलेखअनुसार ३७ बस, ८७ जिप र ७ ट्रक मुस्ताङ गएका छन् । धेरै टाढाबाट आउने सवारीसाधनहरू दिउँसो ४ देखि साँझ ७ बजेको समयमा बढी छिर्ने गर्छन् । चेकपोस्टले मोटरसाइकलको अभिलेख नराख्ने भएकोले यकिन संख्या नभए पनि दैनिक दुई सयभन्दा बढी मोटरसाइकल मुस्ताङ प्रवेश गर्ने अनुमान छ ।

    ‘बेनी–जोमसोम सडकमा हुन सक्ने सम्भावित सडक जोखिम व्यवस्थापन गर्न मुस्ताङ प्रवेश गर्ने र फर्कने सवारीसाधनको अभिलेख राख्ने गरिएको हो,’ सीमा प्रहरी चौकी भुरुङ तातोपानीका इन्चार्ज सई सोमबहादुर खत्रीले भने, ‘फागुनको २५ देखि २७ मा अन्तरिक पर्यटक उल्लेख्य मात्रामा मुस्ताङ छिरेका छन् ।’

    उपल्लो मुस्ताङको चीनसँगको सीमावर्ती ‘माटोको सहर’ लोमन्थाङ पुग्ने आन्तरिक पर्यटक पनि बढेका छन् । स्थानीय पालिकाले डोजर लगाएर कोरोला नाकासम्मै हिउँ सफा गरी सडक खुलाएपछि जाडो छल्न बेंसी झरेका मुस्ताङीलाई मात्र होइन, पर्यटकलाई समेत सहज भएको छ ।

    आकर्षक मध्ययुगीन बस्ती लोमन्थाङ, कोरोला नाका र प्राचीन बस्ती हेर्न आउने पर्यटकको आगमन बढेपछि ३ वर्षदेखि बन्द होटल, रेस्टुरेन्ट पाहुनाले भरिन थालेका छन् । असोज-मंसिर र फागुन–जेठ उपल्लो मुस्ताङ भ्रमण गर्ने मुख्य सिजन हो ।

    ‘कोरोनाको त्रास हटेपछि आन्तरिक पर्यटक फेरि बढ्ने विश्वास गरेका छौं । फागुनमै बेंसी झरेका स्थानीयभन्दा अघि आन्तरिक पर्यटक आउन थालेपछि उत्साही छौं’ लोमन्थाङका ब्यवसायी घ्युर्मी गुरुङले भने, ‘सडक पनि धेरै सहज भएको छ । पर्यटक स्वागत गर्न आतुर छौं ।’

    ‘फागुन तेस्रो सातादेखि नै लोमन्थाङ र कोरोला नाका पुग्ने आन्तरिक पर्यटक बढेका हुन् । बेनी-जोमसोम सडकको केही खण्डमा मर्मत जारी रहेकाले सार्वजनिक यातायातबाट भ्रमणमा आउन अझै सहज भइसकेको छैन’ गुफामा रेस्टुरेन्ट चलाउने व्यवसायी पेमा घिर्मी गुरुङले भने, ‘चैत दोस्रो सातादेखि सबै यात्रुलाई मुस्ताङ र लोमन्थाङ घुम्न सहज हुन्छ ।’ उनले वर्षौंअघि बालुवाका पहाड खोपेर निर्मित गुफामा पर्यटन गेस्ट हाउस सञ्चालनमा ल्याएका छन् ।

    लोमन्थाङ-१ छोसेरको सेल्ता गुफामा उनले स्थानीय पेमा घिर्मी गुरुङले पर्यटक बस्ने गेस्ट हाउस बनाएका हुन् । सडक पहुँच पुगेपछि उपल्लो मुस्ताङमा स्थानीयले धमाधम आधुनिक पूर्वाधारयुक्त ठूला होटल तथा रेस्टुरेन्ट थपेका छन् । होटल व्यवसायी समितिका अनुसार लोमन्थाङमा ३० लाखदेखि २० करोडसम्म लगानीमा ३० होटल रहेका छन् । यी होटलमा २ सय २८ कोठामा ५ सय बेड छन् । छोसेर र छोन्हुपमा १२ तथा चराङ र घमीमा पनि १५ बढी होटल छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend