८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

नेपाली मुस्कान : नेपालको पहिचान


डा. महेश पन्त
  • ६ चैत्र २०७८ , आइतबार

  • नेपाली मुस्कान : नेपालको पहिचान

    हामी नेपाली मुलुकको परिचय दिँदा गर्वका साथ सगरमाथाको देश भन्छौं। उचाइका आधारमा सगरमाथा विश्वकै पहिलो भए पनि नेपालको जस्तै सुन्दर हिमशृंखला संसारका अन्य मुलुकमा पनि छन्। तर नेपाली मुस्कान, सद्भाव, आतिथ्य र धार्मिक सहिष्णुता अन्य देशमा बिरलै पाइन्छ। त्यसैले नेपाली मुस्कानलाई नेपालको पहिचान किन नबनाउने ?

    यो लेख म बेलायतको सानो सहर नर्विचबाट लेख्दै छु। विभिन्न कारण २० वर्षदेखि यो सहर मेरो कर्मक्षेत्र बनिरहेको छ। गत सालदेखि हिमाली भेगका बासिन्दा उँधौली–उभौली गरेजस्तै म पनि वर्षमा ६ महिना यहाँ र ६ महिना नेपालमा बस्ने गरिरहेको छु।

    म बसेको यो टोलमा सयभन्दा बढी घर छन् (चित्र १)। तर हाम्रो घरनजिकका ३/४ घरका मानिसबाहेक अरू कोहीसँग हाम्रो चिनजान/बोलीचाली छैन। हाम्रै घर अगाडिबाट दिनहुँ हिँडने मानिस पनि ‘हेल्लो’सम्म भन्दैनन्। हाम्रो टोल नजिकै एउटा सुन्दर पार्क छ, जहाँ थुप्रै मानिस घुम्न निस्कन्छन्, तर कतिपय चिनेका व्यक्ति पनि बोल्नपर्ला भनेर तर्किएर हिँड्छन्। एउटा अपवाद छ, त्यो हो– तपार्ईंं कुकुर लिएर पार्कमा जानुभएको छ भने थुप्रै मानिस बोल्न आउँछन्, तर तपाईंलाई आफ्नो कुकुरको नाम, जात, उमेर थाहा हुनुपर्छ। किनभने उनीहरू तपाईंको बारेमा नभएर तपाईंको कुकुरबारे जान्न चाहन्छन्।

    चित्र १

    अब म गत वर्षदेखि बसिरहेको काठमाडौं नजिकैको गाउँ लब्सेफेदीको बारेमा  केही भनौं (चित्र २)। यो ठाउँमा मेरो कुनै नातेदार, आफन्त छैनन्। मेरो यस क्षेत्रको चिनारी भनेको करिब ३० वर्ष पहिले जागिरको सिलसिलामा उक्त ठाउँमा २/४ चोटि घुमेको थिएँ। गएको एक वर्षमा म यस क्षेत्रका धेरैजसो मानिससँग परिचित छु। उनीहरू बाटोमा भेट्दा बोल्छन्, घर नजिक भेट भएमा चिया खान बोलाउँछन्, आफ्नो बारीमा फलेका तरकारी/फलफूल दिन्छन्।

    यस्तो आत्मीय व्यवहारले मलाई यो ठाउँमा बस्दा कहिल्यै एक्लो महसुस भएन। आखिर हामी सबै एकै मानव जाति हौं, तर किन विकसित भनिने बेलायत र हाम्रो देशका मानिस–मानिसबीच यत्रो भिन्नता ?​

    अब जनजीवनको अर्काे पाटोतिर हेरौं। म बसेको बेलायतको यो सानो सहर सफा छ, व्यवस्थित छ। सहरका विभिन्न भागमा पार्क छन्, जहाँ सबै उमेरका लागि मिल्ने सुविधा छन्। यी पार्क सफा छन्, यहाँका शौचालय पनि सफा र व्यवस्थित छन्। यी पार्कहरूको जग्गा कसैले मिच्ने, घर–टहरा बनाउने कुरा कल्पना पनि गर्न सकिँदैन। किनभने आफ्नै निजी जग्गामा पनि नगरपालिकाको अनुमतिबिना घर बनाउन वा भएको घरमा कोठा थप्न पनि पाइँदैन।

    चित्र २

    अपवादबाहेक सबै काम नियमपूर्वक र समयमै हुन्छन्। जस्तै: घरघरको फोहरमैला नगरपालिकाले उठाउने काम चाडबाडका बेला समेत समयमै हुन्छ। बाटाघाटा समयमै मर्मत हुन्छन्। बिजुलीबत्ती, खानेपानीको आपूर्ति पूर्वसूचना बन्द हुन गए राष्ट्रिय खबर बन्छ। सार्वजनिक सवारीसाधन समयमै चल्छन्। यातायातका साधन सफा हुन्छन्, भाडा निश्चित हुन्छ। बसको टिकट दिने काम चालक आफैंले गर्छन् र यात्रुहरूलाई राम्रो व्यवहार गर्छन्। टयाक्सीहरू पनि मिटरबमोजिमको भाडामा जहाँ पनि जान्छन्, मोलतोल गर्दैनन्।

    सरकारी निकायबाट पाउने सेवा–सुविधा बिनाभनसुन, कर्मचारीलाई ‘खाजा–खर्च’ नदिईकन समयमै र सहजै पाइन्छ। ढिलासुस्ती भएमा उजुर लाग्छ, कारबाही हुन्छ।

    म गत वर्षदेखि बसिरहेको लब्सीफेदी काठमाडौंबाट केवल २५ किलोमिटर मात्र टाढा छ, तर त्यहाँ जान–आउन महाभारत छ। सात किलोमिटरको बाटो बनाउने काम ७ वर्षमा पनि सकिएको छैन र पहिले नै बनेका सडक पनि जीर्ण अवस्थामा छन्। पानी परेका बेला ठूलापांग्रे गाडी गुडाउनसमेत गाह्रो हुन्छ।

    यो बाटोमा थुप्रै बस, मिनीबस चल्छन्, तर आरामसँग सिटमा बसेर यात्रा गर्न बिरलै पाइन्छ। भेंडा–बाख्राजस्तो कोचिँदै र खलासीको दुर्व्यवहार सहँदै यात्रा गर्नु दैनिक नियति नै बनेको छ। निजी गाडी भएका २/४ जनाबाहेक अरूलाई यी थोत्रा बसहरूको विकल्प छैन। खलासीको ठटाइले गाडी थोत्रा भएका छन्, सरसफाइ, मर्मत-सम्भार छैन।

    यातायात विकास हुनाका साथै स्थानीयको आम्दानी बढेका कारण होटल, पसल खुलेका छन्। यिनीहरू आफ्नो वस्तु/सेवा बेचेर आम्दानी गर्छन्, तर पसल, होटलका फोहरमैला घरनजिकैको खोलामा फाल्छन्। पुनः उपयोग गर्न सकिने सामान जस्तै: सिसा, प्लास्टिक, बोतल, आल्मुनियमका बट्टासमेत त्यसरी फालिएका छन्।

    यी सबै फोहरमैलाको व्यवस्थापन गर्नुको सट्टा खोलानाला, सार्वजनिक ठाउँमा थुपार्ने र बेलाबेला डढाउने गर्छन्। काठमाडौंबाट मनोरञ्जन गर्न आउनेहरू पनि यहाँका पाखापखेरामा सगर्व फोहोर फालेर आनन्द लिन्छन्। यस क्षेत्रका धेरैजसो होटल आधुनिक छन्, बाहिरबाट हेर्दा सजावट राम्रो देखिन्छ, तर भित्र सरसफाइ र अझ शौचालयको अवस्था खत्तम छ।

    हाम्रो सरकार जनताबाट कर उठाउँछ, तर उसको उत्तरदायित्वप्रति भने सधैं उदासीन! मानौं यो उसको काम होइन। सरकारी कार्यालयबाट दिइने सेवा–सुविधा पाउन या त भनसुन गर्नुपर्छ या कर्मचारी वा बिचौलियालाई ‘खाजा’ खुवाउनुपर्छ। एकातिर राजमार्गका खाल्डा वर्षाैं सम्म पुरिँदैनन्, अर्कातिर प्रत्येक वर्ष बजेट खर्च हुन सक्दैन।

    भएका बाटाघाटा तथा अन्य भौतिक संरचनाको मर्मत–सम्भार नगरेर नयाँ संरचना बनाउने होडबाजी छ। पार्क बनाउनुको सट्टा भएका सार्वजनिक जग्गा हडप्ने प्रवृत्ति बढ्दो छ। वातावरणीय एवं धार्मिक दृष्टिले महत्त्वपूर्ण नजिकैको मनिचुर निकुञ्जमा पनि न शौचालय छ, न फोहरमैलाको व्यवस्थापन नै।

    स्थानीय जनप्रतिनिधि र गाउँका टाठाबाठा जग्गाको कारोबार र ठेक्कापट्टामा रमाएर बसेका छन्। सर्वसाधारण आफ्नै रोजिरोटीको जोहो गर्नमै व्यस्त छन।

    मेहनती, हँसिला, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भएका हामी नेपाली किन यति धेरै असंगठित र पछौटे भएका हौंला! म अहिले यो प्रश्नको उत्तर खोजिरहेको छु। सम्भवतः अर्काे लेखमा यसको समीक्षा गर्नेछु।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend