काठमाडौं, ७ चैत – प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ जाँदै छन् । एक साताबीच उनी काठमाडौंबाहिर जान थालेको यो तेस्रोपटक हो । प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन तथा नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैँचा नगरपालिका– ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम छ ।
यसअघि शनिबार प्रधानमन्त्री देउवा विभिन्न कार्यक्रममा सहभागी हुन दोलखा र काभ्रे पुगेका थिए । काभ्रेको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटनपूर्व प्रधानमन्त्री देउवाले दोलखाको गोगरमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गरेका थिए ।
प्रधानमन्त्री देउवाले गत सोमबार नुवाकोट पुगेर किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका थिए । कांग्रेसका दोस्रो तहका धेरै नेतासमेत लिएर गएका प्रधानमन्त्री देउवाले पार्टीका स्थानीय नेता–कार्यकर्तासँग पनि छलफल गरेका थिए । २९ फागुनबाट कांग्रेसको ‘घरघर जाऔँ, चुनाव जिताऔँ’ अभियान सुरु भएको छ, यही मेसोमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्रीको दौडधुप भएको छ ।
प्रधानमन्त्री देउवाले नगर अस्पतालदेखि गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनसम्म पुगेर आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउँदै आएका छन् । साना–साना कार्यक्रममा समेत सहभागिता जनाएर प्रधानमन्त्री देउवाले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउने कोसिस गरेका छन् ।
चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको दौडधुप बढेको छ । २६ फागुनमै पर्सा पुगेका देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गर्दै सम्बोधन गरेका थिए । यस्तो दौडधुप प्रधानमन्त्रीको मात्र होइन, विपक्षी दलका नेता र सत्तागठबन्धनका शीर्ष नेताको पनि छ ।
सबै पार्टीका शीर्ष नेताहरू चुनावकेन्द्रित अभियानमा खटेका छन् । शीर्ष नेताहरू एकै दिन दुई–तीनवटा जिल्ला पुग्नेदेखि चार–पाँचवटासम्म कार्यक्रममा सहभागी हुन थालेका छन् । चुनाव आउन ५३ दिन बाँकी हुँदा दलहरू चुनावकेन्द्रित अभियानमा छन् । चुनावी मेसोमा नेताहरूबीच आरोप–प्रत्यारोप र घोचपेच पनि तात्दै छ ।
प्रधानमन्त्री देउवाको तुलनामा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको दौडधुप धेरै छ । खास गरेर १५ फागुनमा संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन भएपछि दलका शीर्ष नेताहरू चुनावकेन्द्रित कार्यक्रममा सहभागी हुन थालेका हुन् । २ चैतमा संसद्को अधिवेशन सकिएसँगै नेताहरूको चुनावी दौडधुप झनै बढेको छ ।
आइतबार एमाले अध्यक्ष ओली पार्टीको जनसभा सम्बोधन गर्न पूर्वी नेपाल पुगे । इलाम पुगेर अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतले सम्बोधन गरेका थिए भने विभिन्न दलका नेता–कार्यकर्तालाई पार्टी प्रवेश पनि गराएका थिए । इलाम पुगेर ओलीले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका थिए ।
एमाले अध्यक्ष ओली पछिल्लो समय हरेक दिनजसो सभा–समारोहमा देखिन्छन् । उनले काठमाडौंबाहिरका गतिविधि बढाएका छन् । एमालेले पार्टी प्रवेश कार्यक्रमलाई चुनावी रणनीति बनाएको छ । पार्टी प्रवेश गराउन ओली आफैँ खटिएका छन् ।
पार्टी प्रवेश कार्यक्रममै सहभागी हुन उनी गत २५ फागुनमा मोरङको रंगेली पुगेका थिए । कार्यक्रममा उनले सत्तारूढ दलहरूप्रति कटाक्ष गर्न भ्याए । उनले आफू नेतृत्वको सरकारको पालामा भएका कामहरूको फेहरिस्त सुनाएका थिए । सडक, पुल, सुरुङमार्गलगायत काम द्रुत गतिमा अघि बढिरहँदा अदालतको प्रयोग गरेर सरकार ढालिएको भन्दै उनले सत्तारूढ गठबन्धनको आलोचना गरेका थिए ।
गत २८ फागुनमा उनी वीरगन्ज पुगेर वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलगायतलाई पार्टी प्रवेश गराएका थिए । उनले त्यसै दिन बाराको जयनगर (चिउँटाहा)मा आयोजित जनसभालाई सम्बोधन गर्दै विभिन्न दलका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए ।२७ फागुनमा उनले पोखरा पुगेर पार्टीनिकट पत्रकार संगठन प्रेस चौतारीको नवौँ महाधिवेशनलाई सम्बोधन गरेका थिए । त्यहाँ पनि उनले विपक्षी दलहरूलाई कटाक्ष गर्न छाडेनन् ।
२४ फागुनमा काठमाडौंमा सम्बोधन गरेर उनले पोखराको कार्यक्रम पनि भ्याएका थिए । त्यस दिन उनले नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय चुनावमा हरियो रङको मतपत्र प्रयोग गर्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका थिए । महिला संघको कार्यक्रम भ्याएर उनी पोखरा पुगेका थिए । एमाले गण्डकी प्रदेश कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सम्बोधन गरेका थिए ।
उनी २० फागुनमा दोलखा र रामेछापको सिमानामा अवस्थित पर्यटकीय क्षेत्र शैलुङ पुगेर ‘शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव, २०७८’ उद्घाटन गरेका थिए । २१ फागुनमा प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशन उद्घाटन गर्न झापा पुगेका थिए । माओवादी अध्यक्ष प्रचण्ड पनि आइतबार पोखरा पुगेका थिए । माओवादीको गण्डकी प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई उनले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रचण्डले माओवादी पहिलो हुने सम्भावना बढेको बताएका थिए । प्रचण्ड काठमाडौंबाहिरका कार्यक्रममै व्यस्त छन् । २०–३० फागुनसम्म चलेको केन्द्रीय कमिटीको बैठकपछि प्रचण्ड लगातार काठमाडौंबाहिर गइरहेका छन् ।
माओवादीले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम चलाइरहेको छ । हरेक प्रदेशको कार्यक्रममा प्रचण्ड आफैँ पुगेका छन् । २५ फागुनबाट माओवादीको प्रशिक्षण कार्यक्रम सुरु भएको थियो । २५ गते प्रचण्डले बागमती प्रदेशको राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका थिए । कांग्रेसका नेताहरूबाट गठबन्धनका दलहरूप्रति कटाक्ष भएको भन्दै उनले कार्यक्रममा असन्तुष्टि राखेका थिए ।
२७ फागुनमा प्रचण्ड कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणमा सुर्खेत पुगेका थिए । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो पार्टी चुनावकेन्द्रित कार्यक्रममा सक्रिय भएको जानकारी गराएका थिए । पार्टीलाई एकताबद्ध गर्दै आफूहरू चुनावकेन्द्रित भएको उनको भनाइ थियो ।
२९ फागुनमा प्रचण्ड प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रदेश १ को विराटनगर पुगेका थिए । त्यहाँ उनले पत्रकारहरूसँगको कुराकानीमा आफ्नै संगठन बलियो बनाएर चुनावमा जाने बताएका थिए । गठबन्धन हुँदा तालमेल गरेरै अघि बढ्नेसमेत उनको भनाइ थियो । पार्टी प्रशिक्षणकै कार्यक्रममा सहभागी हुन प्रचण्ड ३० फागुनमा सुदूरपश्चिम प्रदेश पुगेका थिए ।
त्यस्तै, २ चैतमा उनले माओवादीको उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका थिए । प्रदेश प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिँदै ३ चैतमा प्रचण्ड लुम्बिनी प्रदेशको बुटवल पुगेका थिए । प्रशिक्षण कार्यक्रममा उनले आफ्नै बलबुतामा चुनावमा लड्नुपर्नेमा जोड थियो । ५ चैतमा प्रचण्ड पार्टीको भवन उद्घाटन गर्न सिन्धुली पुगेका थिए । प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड ८ गते मधेस प्रदेश पनि जाँदै छन् ।
आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल काठमाडौंस्थित केन्द्रीय कार्यालयमा विभिन्न दलका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा व्यस्त भए । उनले अबको चुनावमा जनताले दम्भ, अहंकार, निरंकुश प्रवृत्तिका बाहकलाई पराजित गर्नुपर्ने टिप्पणी गरेका थिए । २६–२७ मा सम्पन्न केन्द्रीय समितिको बैठकपछि एकीकृत समाजवादी अध्यक्ष नेपाल पनि चुनावकेन्द्रित कार्यक्रममा काठमाडौंबाहिर गइरहेका छन् । केन्द्रीय समिति बैठक समापन भएको भोलिपल्टै (२८ फागुन) उनी पार्टीको कार्यक्रममा भाग लिन धादिङको गल्छी पुगेका थिए । कार्यक्रममा उनले चुनावसम्म गठबन्धन जाँदा एमाले आगामी चुनावमा धुलोपिठो हुने ठोकुवा गरे ।
४ चैतमा नेता नेपाल गोरखाको लाप्राक पुगेका थिए । धार्चे गाउँपालिका– ४ लाप्राक पुगेका उनले चुनावकेन्द्रित भाषण गरेका थिए । ०५१ मा एमालेको सरकारले वृद्धभत्तालगायत सामाजिक सुरक्षा अघि सारेको र उक्त सरकारमा आफू उपप्रधानमन्त्री रहेको नेपालले बताएका थिए । ५ चैतमा उनले गोरखामै कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा नेपालले एमालेलाई व्यंग्य गर्दै सूर्यमा ग्रहण लागिसकेको बताएका थिए । त्यसै दिन उनी तनहुँमा भएको कार्यक्रममा पनि सहभागी भए ।
काठमाडौंमै पनि नेपाल पार्टीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । ३ चैतमा होलीमा एकीकृत समाजवादीले काठमाडौंमै आयोजना गरेको कार्यक्रममा नेपालले आगामी निर्वाचनमा कलमले कमाल देखाउने दाबी गरेका थिए । प्रतिगामीलाई चुनावमार्फत जनताले जवाफ दिनुपर्ने उनको भनाइ थियो । जसपाले पनि २९ र ३० फागुनमा बसेको केन्द्रीय समिति बैठक चुनावकेन्द्रित भएको थियो । उक्त बैठकले चुनावका लागि एक पालिकामा एक केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सबै पालिकामा जसपाले चुनावकेन्द्रित कार्यक्रम सुरु गरिसकेको छ ।