काठमाडौं, ७ चैत – नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ। सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो।
बैठकमा पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणापत्र र सबै स्थानीय तहहरूले आ-आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिए।
त्यस्तै, एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरू तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ। स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरूको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरूले गर्नेछ। त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ।
प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने जानकारी दिए। उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ। विगतको कामको मूल्यांकन, उनीहरूको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरूको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ। त्यसैगरी लोकप्रियता, चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुने गुरुङले बताए।
पार्टीमा प्रवेश गर्नेहरूको व्यवस्थापनका लागि आवश्यक विभागहरू गठन गर्ने अनुमति आवश्यकताअनुसार प्रदेश र जिल्ला कमिटीहरूलाई दिने निर्णय पनि बैठकले गरेको छ।