बागलुङ, ७ चैत – नेकपा माओवादी केन्द्रका बागलुङ नगर कमिटी अध्यक्ष इन्द्र केसी ‘पारस’ले सो पार्टी परित्याग गरेका छन् । सोमबार बिज्ञप्ती जारी गर्दै केसीले आजैका मितिबाट माओवादी केन्द्रको कुनैपनि जिम्मेबारीमा नरहेको उल्लेख गरेका छन् ।
विज्ञप्तीमा पछिल्लो चरणमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका सवालमा खेलेको दोहोरो भूमिका र नक्कली राष्ट्रवादी चरित्र ‘एमसिसि’ प्रकरणमा भद्दा ढंगले उजगार भएको भन्दै केसीले पार्टीमा रहने वातावरण नरहेको उल्लेख गरेका छन् ।
‘माओवादी केन्द्र दलाल नोकरशाही पूँजीपति वर्गको हितार्थ काम गर्ने एजेन्सीको भूमिका निर्वाह भएको छ’ केसीले बिज्ञप्तीमा भनेका छन् ‘नेपाली वर्ग संघर्षलाई थप दिशाविहिन बनाउन उद्दत देखिएकाले माओवादी केन्द्रको अगुवाइमा दलाल पूँजीपतिका प्रतिनिधीसंग मिलेर समाजवादी क्रान्तिको आधार तयार गर्न सकिन्छ भन्ने भ्रमबाट मुक्त भै पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु ।’
उनले आगामी दिनहरू जनता र राष्ट्रको सेवामा भने अझ सशक्त भै निरन्तर क्रियाशील रहने प्रतिबद्दतासमेत जनाएका छन् । उनले सत्य र न्यायको आन्दोलनमा समयले सबैलाई एकै कित्तामा ल्याउने आशा समेत व्यक्त गरेका छन् ।
केसी नेकपा एमालेका केन्द्रिय सदस्य तथा विदेश विभाग उपप्रमुखका सहोदर भाई हुन् । एमाले समबद्ध सुत्रका अनुसार उनी एमालेमा पार्टी प्रवेश गर्न माओवादी परित्याग गरेका हुन् । केही दिनमा नै उनलाई एमालेमा प्रवेश गराउने र महत्वपूर्ण जिम्मेवारी दिने सहमती भएको छ ।