९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

करिश्मा र प्रेमबहादुर एमालेमा


जनमञ्च संवाददाता
  • ८ चैत्र २०७८ , मंगलबार

  • करिश्मा र प्रेमबहादुर एमालेमा

    काठमाडौं, ८ चैत – अभिनेत्री करिश्मा मानन्धरसहितलाई पार्टी प्रवेश गराउन एमालेले काठमाडौंमा कार्यक्रम गरेको थियो ।

    कार्यक्रममा करिश्मासँगै नेता प्रेमबहादुर सिंह पनि एमालेमा प्रवेश गरेका थिए । एमालेको सदस्यता लिएपछि सिंह संवोधनका लागि मञ्चमा उक्लिए । उनले सुरुमा अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरे । मञ्चमा उपस्थित एमालेका अन्य नेताहरुलाई सम्बोधन गर्दै उनले करिश्मा मानन्धरको नाम लिए ।

    ‘…कमरेड करिश्मा मानन्धर’ भन्दै उनी करिश्मातर्फ फर्के । करिश्माले पनि मुठ्ठी उचालेर सम्बोधन स्वीकार गरिन् ।

    करिश्माले सम्बोधन स्वीकारेपछि नेता सिंहले हँसिलो अनुहार बनाउँदै करिश्माको प्रशंसा गर्न थाले । उनले करिश्मालाई कमरेड भनेर सम्बोधन गर्नुको पनि कारण दिन खोजे ।

    ‘एउटा क्षेत्रबाट मात्रै देशको परिवर्तन संभव छैन, राजनीति नै गरेर देशको आमुल परिवर्तनमा म अघि बढ्छु भनेर नयाँ जीवन प्रारम्भ गरेकोमा बधाई दिँदै उहाँलाई कमरेड सम्बोधन गरेँ’, नेता सिंहले भने ।

    नेता सिंहले कमरेड भनेर सम्बोधन गर्नुअघि करिश्माले सोही मञ्चमा आफू कमरेड बन्नुको कारण पेश गरेकी थिइन् ।

    ‘आज म यहाँ उभिरहँदा धेरैलाई लागेको होला कलाकार मान्छे मञ्चमा आएर किन उभिरहेको छ ? कतिलाई असाध्यै खुसी लागेको होला, कतिपयलाई असाध्यै कौतुहलता भइरहेको होला, ह्वाई सि इज हियर..’ भन्दै सम्बोधन सुरु गरेकी करिश्माले एमाले प्रवेश गर्नुको कारण भन्न थालिन् ।

    पहिलो कारण हो– केपी ओलीको इनर्जी । ‘अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु । ओलीको इनर्जी देखेर ताजुब भएकी छु,’ उनले भनिन् ।

    अर्को पार्टीको मान्छेले पनि ओलीको इनर्जीको गुनगान गाएको आफूले सुनेको उनले सुनाइन् ।

    दोस्रो कारण – एमालेको एजेण्डा । एमालेले समानता र न्यायसहितको समृद्धिको एजेण्डा बोकेकाले आफूले एमाले रोजेको उनले बताइन् ।

    तेस्रो – अधिकांश नागरिकको एमालेसँगको सद्भाव । आफूले बिभिन्न ठाउँमा जाँदा अधिकांश नागरिकको एमालेसँग सद्भाव रहेको पाएको उनले सुनाइन् । जिम्मेवारी खोज्न नभई एमालेको कार्यकर्ता बन्न पार्टी प्रवेश गरेको उनले बताइन् ।

    करिश्माले भाषण सकाएपछि कार्यक्रम सञ्चालक एवम् एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ‘अब हामी ढुक्कका साथ तपाईंलाई कमरेड करिश्मा मानन्धर भन्ने छौं । कमरेड करिश्मा मानन्धरलाई धेरै धेरै धन्यवाद’ भन्दै कार्यक्रम अगाडि बढाए ।

    करिश्माको प्रशंसा सुनेपछि पार्टी अध्यक्ष ओली पनि मख्ख भए । उनी मख्ख भएको करिश्माबारेको प्रशंसाले नै देखाउँदथ्यो ।

    ‘चर्चित, स्थापित, प्रतिष्ठित, सुब्याख्यात कलाकार एवं राजनीतिज्ञ र केही गरौं भन्ने भावना भावनाले अत्यन्तै ओतप्रोत करिश्मा मानन्धर ज्यु’ भन्दै सम्बोधन सुरु गरेका अध्यक्ष ओलीले करिश्मा मानन्धरको पनि उच्च प्रशंसा गरे ।

    प्रशंसा गर्दा करिश्माबारे ओलीले शिर्षस्त कलाकार, चर्चित सुप्रसिद्ध कलाकार, ख्यातीप्राप्त कलाकार, स्थापित र परिचति कलाकार शब्द प्रयोग गरे ।

    दशरथ रंगशालामा भएको नयाँ शक्ति पार्टीको घोषणा सभामा सहभागी हुँदै राजनीति थालेकी उनीसुरुमा नयाँ शक्तिमा चर्चामा रहे पनि पछि ओझेल पर्दै गइन् ।

    डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति छाडेर उपेन्द्र यादवसँग सहकार्य थालेपछि उनी राजनीतिबाट टाढिइन् । र अहिले फेरि एमालेमा प्रवेश गरेकी छिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend