बागलुङ, ९ चैत – दश बर्षदेखि माछापालन गरिरहेका रुद्र पौडेल माछापोखरी बिस्तारको तयारीमा छन् । बागलुङ नगरपालिका-१२ को पात्लेखेतमा उनका चार वटा माछापोखरी छन् । पौडेलले अझै केही पोखरी बिस्तार गरेर व्यवसायीक माछापालन थाल्दै छन् ।
परम्परागत शैलीमा माछा पाल्दै आएका पौडेलले अहिले माछापालन सम्बन्धि ज्ञानको महशुस गरे । बागलुङ नगरपालिकाले सुरु गरेको तीनदिने माछापालन सम्बन्धि सिपमुलक तालिममा पौडेल सहभागि भएका छन् । ‘आजसम्म भनेको आधारमा गरियो, अब ज्ञान लिएर व्यवसायीक हिसाबले माछा पाल्ने सोँच छ’ पौडेल भन्छन् ।
बागलुङ नगरपालिका–३ को तरकारी गाउँमा दश बर्षदेखि माछा पालिरहेका गंगाबहादुर थापाले ट्राउट माछा पाल्ने योजना बनाएका छन् । चिसो पानीमा मात्रै हुने ट्राउट माछाको व्यवसायीक पालनका लागि उपयुक्त ठाउँ भेटेपछि थापाले माछा पालनसम्बन्धि ज्ञानको खोजी गरे । बागलुङ नगरको तालिममा थापा पनि सहभागि भएका छन् ।
बागलुङ नगरपालिकाले आयोजना गरेको तीनदिने तालिममा पौडेल र थापाजस्ता केही पुराना र केही नयाँ व्यवसाय थाल्ने किसानहरुको उत्साहजनक सहभागिता छ । पुराना किसानले सिप खोज्दै छन्भने नयाँ किसान सिप सिकेर व्यवसाय गर्ने तयारीमा छन् । नगरले आयोजना गरेको तालिममा सहभागि झण्डै तीस जना किसानको एउटै लक्ष छ व्यवसायीक माछा पालेर आम्दानी बढाउने ।
बागलुङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदो छ । पाल्नका लागि सजिलो र उत्पादन राम्रो दिने भएकाले माछापालनमा किसानको आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवाबिज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषि सापकोटाले बताए । उनले पछिल्लो समय माछाको प्रयोग बढ्दै गएकाले किसानको आकर्षण माछामा रहेको बताए । सरकारी अनुदान र सिप हस्तान्तरणले किसानलाई सघाएको उनको धारणा थियो ।
बाँझो जग्गाको सदुपयोग गर्ने, स्थानीय दानाको प्रयोग गर्ने र उत्पादन लिनेगरी किसानहरु माछापालनमा आकर्षित भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । अहिले पनि बिदेशबाट माछा आयात हुने गरेको भन्दै पौडेलले माछाको उत्पादन र बजारीकरण बढाउन किसानहरुलाई आग्रह गरे । ‘हामीले उत्पादनमा अनुदान र सिपमुलक तालिममा सहयोग गरेका छौं, किसानहरु मेहेनत गरेर उत्पादन गर्नुहुन्छ’ पौडेल भन्छन् ‘यो पनि एउटा सजिलो व्यवसाय हो ।’
माछाबिज्ञ गायत्री राजा वाग्लेले माछापालन र खाने शैलीमा समेत परिवर्तन आवश्यक रहेको बताए । स्वास्थयका हिसावले समेत माछा खानु उपयुक्त रहेको उदाहरणहरु दिँदै वाग्लेले सिपको अभावमा माछाको उत्पादनमा लागेका किसान निरुत्साहित हुने गरेको बताए । माछा पाल्न र खान दुवै हिसाबले फाईदाजनक रहेको उनले सुनाए । तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण वाग्लेले गर्नेछन् ।