९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

राष्ट्रिय आविष्कार केन्द्र र गण्डकी विश्वविद्यालयबीच सम्झौता


जनमञ्च संवाददाता
  • १० चैत्र २०७८ , बिहिबार

  • राष्ट्रिय आविष्कार केन्द्र र गण्डकी विश्वविद्यालयबीच सम्झौता

    पोखरा, १० चैत – विश्वविद्यालयको मुख्य काम शैक्षिक तथा अनुसन्धान हो। गण्डकी विश्वविद्यालयले यी दुवैलाई सँगसँगै लैजान थालेको छ। पठनपाठन सुरु गरिसकेको यो विश्वविद्यालयले अनुसन्धानका लागि इनोभेसन केन्द्र सञ्चालनमा ल्याइसकेको छ।

    त्यही इनोभेसन केन्द्रबाट विश्वविद्यालयले केही उत्पादन चाँडै ल्याउने भएको छ। विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाले गण्डकी विश्वविद्यालयको इनोभेसन सेन्टरबाट छिटै नै ६/७ थरी उत्पादन चाँडै आउन लागेको सुनाए।

    उनकै भनाइमा इनोभेसन सेन्टरबाट बिजुली चुलो, धुवाँ नआउने गरी अलैंची सुकाउने उपकरण, पोल्ट्री फार्मिङलाई काम लाग्ने हाइब्रिड ह्याचिङ मेसिन, धान झाँट्ने मेसिन, कोदो झार्ने र छुट्याउने मेसिन लगायत उत्पादन गरिने भएको छ।

    कोदोको रक्सीको ब्रान्डिङको क्रममा प्रयोगशालामा पठाएको रिपोर्ट छिटै आउने क्रममा रहेको पनि उनले सुनाए। ‘विश्वविद्यालयले ब्रेनड्रेन रोक्ने र ब्रेन गेन गर्ने दिशामा काम गरिरहेको छ,’ उनले भने।

    रजिस्ट्रार तिमिल्सिनाले विश्वविद्यालयका भौतिक संरचनामध्ये सबैभन्दा पहिला इनोभेसन सेन्टरको भवन बनेर उद्घाटन गरिसकेको जानकारी दिए। ‘पढाइ गर्ने भवनभन्दा पहिला यो तयार भएको छ,’ उनले भने, ‘यसैले पुष्टि गर्छ विश्वविद्यालय अनुसन्धानमा कति केन्द्रित छ।’ साढे २ करोड रुपैयाँको सामान आइसकेको र ७० थरी औजार खरिद प्रक्रियामा रहेको जानकारी पनि दिए।

    कुलपति प्रा.डा. गणेशमान गुरुङले इनोभेसेन सेन्टरदेखि नै गण्डकी विश्वविद्यालयको बाटो बेग्ले बनेको बताए। उपकुलपति प्रा.डा. नवराज देवकोटाले विभिन्न सहयोग जुटाउँदै विश्वविद्यालय अघि बढिरहेको जानकारी दिए। उनले शिक्षण एवं अनुसन्धान केन्द्रको रुपमा विश्वविद्यालयलाई अघि बढाइएको पनि बताए।

    इनोभेसन केन्द्रलाई अझै रफ्तारमा लैजान गण्डकी विश्वविद्यालयले राष्ट्रिय आविष्कार केन्द्रसँग सहयोग आदानप्रदान सम्झौता गरेको छ। विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा बुधबार हस्ताक्षर गरे।

    पुनले गण्डकी विश्वविद्यालयको इनोभेसन सेन्टरमा आफू महिनामा ५/६ दिन आएर कामै गर्न तयार रहेको सुनाए। उनले आफ्नो बजेटको पुँजीगत खर्चको १ प्रतिशत अनुसन्धानका लागि छुट्याउन सुझाव दिए।

    ‘अरु देशले जिडिपीकै ३/४ प्रतिशत छुट्याउँछन्, सबैभन्दा धेरै इजरायलले ५ प्रतिशत नै छुट्याउँछ, दक्षिण कोरिया र इजरायलको प्रतिस्पर्धै हुन्छ,’ उनले भने। इनोभेसन सेन्टर २४ सै घन्टा खुला हुनुपर्ने, विश्वविद्यालयबाहिरका व्यक्तिको पनि पहुँच हुनुपर्ने सुझाव पनि पुनले दिए।

     

    प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले संघीयता आवश्यक छैन भन्नेलाई जवाफ दिने गरी प्रदेश सरकारले काम गर्नुपरेको भनाइ राखे। उनले विद्यालय तहबाटै अनुसन्धानमा जोड दिनुपर्ने खाँचो औंल्याए।

    ‘बिउलाई जरा हाल्न सिकाएनौं भने बिरुवा फैलदैन,’ उनले भने। उनले आउँदो बजेटमा सिर्जनशील कामका लागि बजेट छुट्याइने पनि बताए। उनले भने, ‘पढाएर मात्रै हुँदैन, उत्पादनमा जोड दिनुपर्छ, उत्पादनलाई बजारसँग जोड्नुपर्छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend