म्याग्दी, १० चैत – स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा मागभन्दा बढी म्यादी प्रहरीका लागि आवेदन परेको छ । आवेदन खुल्ला भएको चौथो दिनसम्म ११ सय ८ जनाले आवेदन दिएका छन् । जिल्लामा जम्मा ६५३ जना माग भएको थियो ।म्यादी प्रहरीमा भर्ना हुनको लागि चैत ६ गतेदेखि खुलेको आवेदन संकलनमा तीनदिनसम्ममा सो संख्याले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले चैत ११ गतेसम्म आवेदनको समय भएकाले आवश्यकताभन्दा दोब्बर बढी हुने निश्चित भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।
जिल्लामा कुल ६५३ जना म्यादी प्रहरी भर्ना हुने भएपनि तीन दिनमा २१७ जना महिला र ८९१ जना पुरुषले आवेदन दिएको राईले बताए । आवेदन दिएकाहरुमध्येबाट छनौट भएकाहरुलाई आबश्यक तालिम र प्रशिक्षण दिएर निर्वाचन सुरक्षा प्रयोजनका लागि खटाइने जनाइएको छ ।दरखास्तका लागि नेपाली नागरिक भएका, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने उल्लेख छ ।
म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने छ । उनीहरुलाई जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध गराइने छ । छनोट प्रक्रियाअन्तरगत चैत्र ६ गतेदेखि ११ गतेसम्म फारम वितरण, १५ गतेदेखि २२ गतेसम्म छनौट र चत २८ गतेदेखि तालिम सञ्चालन गरिने जनाएको छ ।