१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार: मुख्यमन्त्री पोखरेल


जनमञ्च संवाददाता
  • १३ चैत्र २०७८ , आइतबार

  • धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार: मुख्यमन्त्री पोखरेल

    बिर्घा(स्याङ्जा), १३ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने जिकिर गरेका छन् ।

    स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै यहाँ देश विदेशका पर्यटक भित्र्याउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको बताए ।

    धर्मलाई केबल परम्परासँग जोड्न नहुने भन्दै यसलाई जीवनशैलीसँग जोडेर समृद्धिको माध्यम बनाउनुपर्नेमा उनको जोड थियो । उनले गण्डकी प्रदेशको दक्षिणी भेगमा रहेको गजेन्द्र मोक्षधामदेखि देवघाट, रामदीधाम हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताए ।

    गण्डकी प्रदेश कालीगण्डकीबाट सिञ्चित पवित्र शालिग्रामको भूमि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यसलाई कुनै पनि हालतमा डाइभर्सन हुन नदिने भनाइ राखे । रामदी नजिकैबाट कालीगण्डकी डाइभर्सन गरी रुपन्देहीको तिनाउमा मिसाएर बिजुली निकाल्ने र सिँचाइका लागि प्रयोग गर्ने गरी अगाडि सारिएको आयोजनाको गण्डकी प्रदेशले यस अघि पनि विरोध गर्दै आएको छ ।

    मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदीमात्र नभएर सभ्यतासमेत भएकाले योसँग धेरै सांस्कृतिक सम्बन्ध जोडिएको भनाइ राखे । रामदीदेखि तलको भागको सुख्खा पार्ने र कालीगण्डकीको धार्मिक अस्तित्वलाई मेटाउने गरी यो आयोजना अगाडि सारिएकाले विरोध गर्नुपरेको उनले बताए ।

    स्थानीय बासिन्दासमेत रहेका पूर्व सांसद शंकर पाण्डेले ऐतिहासिक थलो भए पनि आलमदेवीमा आवश्यकता अनुसार विकास हुन नसकेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री पोखरेलले स्याङ्जाको कालीगण्डकी र गुल्मीको सत्यवती गाउँपालिका जोड्न कालीगण्डकीमाथि बनाइएको रुद्रबेणी पुल आइतबार उद्घाटन गरेका छन् ।

    उक्त पुल निर्माणका लागि करिब साढे ६ करोड रुपैयाँ खर्च भएको छ । २०६७ सालमा निर्माण सुरु भएको पुल २०७५ मा निर्माण सम्पन्न भए पनि उद्घाटन भएको थिएन ।मुख्यमन्त्री पोखरेलले चापाकोट, गल्याङ, रुद्रबेणी सडकको स्तरोन्नतीको कामको शिलान्यास समेत गरेका छन् ।

    रुद्रबेणी खण्डको सडक स्तरोन्नतीका लागि यो वर्ष ३ करोडको ठेक्का लागिसकेको छ । मुख्यमन्त्री पोखरेल आइतबार कालीगण्डकीको कोटाकोटमा आयोजित आमसभामा सहभागी भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend