बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएको छ । भौगोलिक रुपमा देशकै ठूलो महानगर पोखरा महानगरमा पनि विभिन्न व्यक्तिले मेयर पदका लागि आकांक्षा देखाइरहेका छन् । पोखरा महानगरको मेयरकै चर्चामा रहेका युवा हुन्, पोखरा महानगर १३ का वडाध्यक्ष दर्शन लामा । पोखराका ३३ वटा वडामध्येको ‘नमुना’ मात्रै नभएर ‘स्मार्ट’ वडा बनाएको दाबी गरिरहेका वडाध्यक्ष लामासँग वडाको विकास, अनुभव र आगामी स्थानीय निर्वाचनको योजनाबारे पत्रकार विजय नेपालीले गरेको कुराकानीः
जनप्रतिनिधिका रुपमा यहाँको ५ वर्षे अनुभव कस्तो रह्यो ?
वडाध्यक्ष भएर पाँच वर्षमा आफ्नो वडामा सबै किसिमको भूमिका खेलेको जस्तो लाग्छ । म एक सामाजिक व्यक्तित्व भएका कारणले पनि विशेषगरी गुणस्तरीय शिक्षादेखि अपांगमैत्री पैदलमार्ग बनाउने काम पनि गरे । पहिला समाजसेवी हुँदा गर्न नपाएका काम जनप्रतिनीधि भएर गर्ने अवसर प्राप्त गरे । पाँच वर्ष राम्रो र फलदायी रह्यो ।
जनप्रतिनीधि हुनु अघि तपाईं आफैंले पनि नेताहरुले देश विकास गरेनन्, गर्न दिएनन् भनेरै विरोध गर्नुभयो । अहिले आफैं नेता भएर केचाहिँ काम गर्नुभयो ?
अझैपनि राजनीतिमा लाग्ने मान्छेले धेरै कुरा सिक्नुपर्ने जस्तो मलाई लाग्छ । अब यो भनिरहँदा नेता तथा ठूला व्यक्तिहरुलाई असर पर्न सक्छ । हाम्रोमा एक किसिमको मात्र सडके विकासमात्रै भयो त्यो पनि वैज्ञानिक किसिमका भएनन् ।
वडा १३ मा विकास भनेको त्यो मात्रै हैन त्यो भन्दा अन्य सूचकहरु पनि छन् भनेर हामीले देखायौं । एक किसिमले त्यहाँ नतिजा निस्किँदा कहिंकतै पनि औंला उठाउने ठाउँ रहेन । उदाहरणका लागि हाम्रा वडाका ३ टोलहरु फोहोर शून्य फोहोर व्यवस्थापन उन्मुख वडाको रुपमा छन् । अर्थात त्यहाँ शून्य किसिमका फोहोरहरु छन् त्यो नेपालमै पहिलोचोटि हो ।
दोस्रो कुरा भनेको हामीले प्रत्येक नागरिकको डिजिटल नागरिक प्रोफाइल तयार गरेका छौं । हाम्रोमा सेवा लिँदा २ मिनेट भन्दा ३ मिनेट बस्न नपर्ने व्यवस्था हामीले ग¥यौं । अहिले पोखरा महानगरपालिकाभित्र अपांगमैत्री सडक जति पनि छन्, त्यसको सुरुआत हामीले नै ग¥यौं ।
सक्षम र सबल व्यक्ति त यहाँ हिँड्न सक्छन्, आफ्नै ढंगले । खाल्डो भएपनि तर्किन सक्छन् । तर, असक्षम व्यक्तिलाई हिँड्न असहज छ भनेर हामीले अपागंमैत्री संरचना बनाउ भन्यौ तर नेताहरुले त्यो कुरालाई विश्वास गरेनन् । त्यसपछि हामी आफंैले त्यो सुरुआत गरेका थियौं । पोखरा महानगरपालिकाकै सबैभन्दा पहिलो अपांगमैत्री फुटपाथ निमार्ण गरेका हौ त्यसपछि बल्ल महानगरले त्यो सिको गरेको हो ।
सामुदायिक शिक्षामा परिवर्तन ग¥यौं । वडाका सबै सामुदायिक विद्यालयमा एकै किसिमका पाठ्यक्रम तयार ग¥यौ सोहीअनुसार वडास्तरीय प्रश्नपत्र निकाल्ने काम पनि ग¥यौं । हामीले वडामा के कसरी काम गर्ने भनेर क्यालेन्डर पनि निकाल्यौं । पछि महानगरले पनि सुरु ग¥यो ।
वडा भित्र रहेका ७ संस्थागत विद्यालहरुमा समेत हामीले गरिब विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थापन गर्ने समन्वय गरेका छौं । वातावरणमैत्री सडक बनायौं । अर्को भनेको हामीले बिहान बेलुकाको समयमा सडक काट्न गाह्रो हुनेभएपछि हामीले आवश्यक परेको खण्डमा मात्रै प्रयोग हुने ट्राफिक लाइटको व्यवस्थापन गरेका छौं ।
साँच्चिकै सक्षम नेतृत्व आउँदा विकामप्रेमी समाजसेवी आउँदा फरक हुन्छ र विकास हुन्छ भन्ने जनतामा विश्वास जागेको छ । हामीले यहाँकै स्रोत साधनको प्रयोग गरेर गरेका कामहरु हिजोका अग्रजहरुले गरेको भन्दा धेरै नै फरक छन् । त्यो कारणले गर्दा हिजो म नहुँदा भएको धारणा र अहिलेको धारणा फरक भएको छ त्यो कारणले युवा नेतृत्व आउनुपर्ने रहेछ ।
जनप्रतिनीधि भएर आइसकेपछि नीति नियम नहुँदा काम गर्न कत्तिको असहज भयो त ?
अब नीति निमार्ण महानगरपालिकाको कार्यपालिकाले तय गर्छ । नीति निमार्ण गर्ने जिम्मा हाम्रै हो । हामीपनि कार्यपालिका सदस्य हौं । यद्यपि सुरुको हामी सरकार भएका कारणले धेरै कुरा नयाँ भए हामीलाई पनि प्राक्टिस भएन । हामीले काम गर्नका लागि आफ्नै कानुन, विधान, एन बनाउनुपर्ने हुँदा केही प्राक्टिसको कमीले गर्दा हामी अन्योलमा परेका हौँ । कमीकम्जोरी भएकै हो केही अफ्टेराहरु पनि आएकै हुन् अबका जनप्रतिनीधिले त्यो भोग्न पर्ने बाध्यता छैन् ।
राजनीतिक जीवनमा यो पाँचको वडाअध्यक्षलाई कसरी हेर्नुभएको छ ?
यो पाँच वर्षले जहाँसम्म लाग्छ मैले के काम गरे भनेर आम जनतालाई नै सोध्नुपर्ने हुन्छ । नागरिकबाट पाएको प्रतिक्रियाले नै मेरो पाँच वर्ष कस्तो भयो भन्ने देखाउँछ । म मलाई विश्वास छ वडा १३ महानगरका ३३ वटै वडामध्ये नमुना वडा बनाए ।
मैले वडाध्यक्ष हुँदा भन्दा बाहिर रहँदा पनि समाजसेवा गरेकै हुँ । जनताले चुनेर पठाएपछि एउटा अवसर भयो र यो अवसरको मनैदेखि प्रयोग गरेको हुनाले ठूलो उपलब्धी हासिल गरेको जस्तो लाग्छ । पाँच वर्षको कामले आगामी राजनीति जिवनमा थप विश्वास बढेको र आगाडी बढ्न पनि महत्वपुर्ण भूमिका खेलेको छ । यसैको कारण नेकपा एमाले भित्र भएको निर्वाचनमा पनि मलाई आम कार्यकर्ताले अत्याधिक मत दिएर विजयी बनाउनुभयो त्यो भएको कारणले यसले फाइदा नै भएको छ ।
तपाईँ युवा व्यक्ति अब नेपाली समुदायमा लाहुरे हुने त्यो पनि तपाई जनजाति जहाँ लाहुरे हुनुपर्छ भन्ने मान्यता नैे छ । युवा व्यक्ति राजनीतिमा आउँदा परिवारको सहयोग मिल्यो त ?
सबैभन्दा पहिला राजनीतिलाई पेशाको रुपमा नलिने युवा मध्येको एक म । मैले २०५७ सालमा एसएलसीको परीक्षा दिँदा नै मेरो व्यवसायलाई अघि बढाउनुपर्छ भनेर निरन्तर व्यवसायमा लागे । अहिले पनि म थुप्रै व्यवसायमा छु । त्यतिबेलापनि राजनीतिमा लागेकै कारण परिवारबाट त्यसतो समस्या आएन । जनजाति परिवारकै भएपनि मेरो परिवारमा यो लाहुरे नभएपनि परिवार पाल्छ भन्ने विश्वास थियो र राजनीति गरेर केही असर गर्दैन परिवार चलाउने पारिवारीक व्यवसाय छ भन्ने भएकै भएर समस्या आएन ।
महानगरपालिकाले अघि सारेको स्मार्ट सिटिको अवधारणा पुरा हुन सकेन जुन कुरा हामीले तपाईँको वडामा देख्न पायौँ तपाईँले यस्लाई कसरी हेरिरहनुभएको छ ?
असम्भव भन्ने कुरा केही छैन । नेपाल सरकारको नीति भन्दा बाहिर अर्थात सरकारले नीति नै नबनाउँदा पनि स्मार्टनेसका कुराहरु आइरहेका थिए । आज सहकारीले ई बैंकिक चलाइराखेको छ, एटिएम बनाइराखेका छन् यी भनेका पनि स्मार्टनेसका पुर्वाधारहरु हुन् । अब चाहने हो भने गर्न सकिन्छ ।
महानगरमा विभिन्न कारणले गर्दा चाहेको जस्तो पनि हुन सकेन । जस्तै सार्वजानिक यातायातमा स्मार्ट कार्ड ल्याउने गरी सुरु गर्न नपाउँदै हरायो त्यो भनेको हामीले पूर्वतयारी र आवश्यक पर्ने पूर्वाधारका लागि अनुसन्धान नगरेकै कारणले गर्दा हो ।
हाम्रै पालामा हामीले नै पोखरालाई स्मार्ट सिटी बनाउन सकिन्छ तर दृढता र कटिबद्ध भएर लाग्ने इच्छा शक्ति हुन प¥यो । नेतृत्वमा त्यो क्षमता पनि हुन प¥यो । मुखले मात्रै भनेर भएन नि त ! जस्तै फोहोर मैलालाई व्यवस्थापन गर्न स्मार्टनेस ल्यायो भने त्यसलाई आवश्यक पर्ने केके हो ? त्यसलाई कुन प्रविधिमा लाने ? हामीसँग प्राविधिकहरु छन् हामीले देखेका थुप्रै सपनाहरु चक्नाचुर भएको अवस्था छ नेतृत्व लिएर काम गर्ने युवाहरु आउने हो भने सम्भव छ ।
यदि तपाईँ पोखरा महागनरको मेयरमा आउनुभयो भने महानगर कस्तो हुन्छ ?
म पोखरा महानगरपालिकाको मेयर भएभने स्मार्ट महानगर बनाउनेछु । म एक आइटिको विद्यार्थी पनि भएको हुनाले सवैभन्दा पहिला महानगरपालिका बाट दिएको सेवाप्रवाहहरु झन्झटिलो,अफ्टेरो, जनतालाई दुःख हुने त्यो सेवालाई चाहिँ मैले कम्सेकम सुरुका दिनमा कर्मचारी १० बजे आएर जनताप्रति उत्तरदायि भएर काम गर्ने वातावरण १५ दिन भित्र बनाउने छु ।
यहाँ कुन कर्मचारी आयो कुन गयो भन्ने जानकारी नै छैन । व्यक्तिगत प्रोफाइल बनाउनेछु । एकमहिना भित्र कर्मचारीले के काम ग¥यो त नी त्यो कुरा आज महानगरमा माग्न जानुस त त्यो छैन । त्यसलाई व्यवस्थित चाहिँ म गर्छ त्यो धेरै दिन लाग्दैन १५ दिनमा सकिन्छ । महानगरको प्रोफाइल डिजिटलाइज गर्छु । फोहोरलाई मोहोर होइन उद्योगको रुपमा विकास गर्न सकिन्छ ।
यहाँकै जनतालाई लगानी गर्न लगाएर आम्दानीको स्रोत समेत बनाउन सकिन्छ । स्मार्ट वेष्ट मानेजमेन्टलाई अघि बढाउछु । अर्को भनेको पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने छु । हामीले खाली फेवाताल, सराङकोट र पुम्दिभुम्दिमात्र बेचेका छौ अन्य ताल पहाडहरु बेच्न सकेनौ त्यसका लागि योजना बनाएर अघि बढ्ने छु ।
आसन्न स्थानीय चुनावमा तपाईँलाई मेयरको उम्मेदवारीको रुपमा देख्न पाइन्छ कि पाइँदैन त ?
हाम्रो राजनीतिमा समस्या छ । जो सामाजिक काम गर्दैन पार्टीमा पनि केहि नेतालाई चाकडि गरेको आधारमा नेता भएका व्यक्तिहरु छन् । त्यस्तो व्यक्तिको चर्चा केही मिडियाले गरेको पनि मैले पाएको छु । जबसम्म समाज र नागरिकका लागि गर्ने व्यक्ति त्यहाँ जाँदैन तबसम्म समाज बन्दैन् ।
त्यस्तो व्यक्ति विरुद्ध म पार्टीभित्र प्रतिस्पर्धा गर्नेछु । मेरो पार्टीको कार्यकर्ताले मलाई रुचाएर मत दिएको खण्डमा पक्कैपनि म पोखरा महानगरपालिकाको मेयरमा मेरो पार्टीको तर्फबाट उम्मेदवार बन्ने छु । मलाई विश्वास छ आम कार्यकर्ताले कामका आधारमा नेतृत्व चयन गर्नुहुनेछ । पाँच वर्ष जनिप्रतिनीधि भएर काम गरेकाले कहाँ के गर्नुपर्छ भन्ने अनुभव पनि भएकाले पढेको हिसाबले र अन्य क्षमताका हिसाबले पनि मेरो उम्मेदवार मेयरकै हुनेछ ।
मेयरको टिकट दिएन भने ?
मेयरको टिकट दिएन भने दुर्भाग्य हुनेछ । पाँच वर्षमा पोखरा महानगरपालिका जुन खालको हुनुपर्ने हो त्यो हुनेछैन । यद्यपि मेयरमा जो कोही आएपनि मसँग भएका अनुभव र मैले जानेका कुराहरु पक्कैपनि सहयोग गर्नेछु ।