माओवादी केन्द्रबाट पोखरा उपमहानगरपालिकाको उपमयेर उम्मेदवारमा सिफारिस सिर्जना त्रिपाठी अहिले चर्चामा छिन्। उनी माओवादी केन्द्र, गण्डकी प्रदेश सदस्य हुन्। तर उनी पार्टीको पदले कमै चिनिन्छिन्, ससुरा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नामले चर्चामा आउँछिन्। जुन उनलाई फिटिक्कै मन परेको छैन। बर्दियामा जन्मेकी त्रिपाठी, लामो समयदेखि पोखरामा बसाइँसराइ गरेको माइती परिवारसँग छिन्।
अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालसँग विवाह गर्नु अघिदेखि नै आफ्नो परिवारै राजनीतिमा होमिएकाले रगतमै राजनीति रहेको उनी बताउँछिन्। त्रिपाठीले कुराकानीमा भनिन्, ‘मलाई प्रचण्ड परिवारसँग मात्र जोडेर हेरिन्छ, त्यो अन्यायपूर्ण हो।’
सत्ता गठबन्धनभित्र व्यापक चर्चामा रहेको पोखरा महानगरमा प्रचण्डकै बुहारी त्रिपाठी समेतलाई पार्टी कमिटीले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेपछि सामाजिक सञ्जालमा टिप्पणी सुरु भएको छ।
माओवादी केन्द्रले उपमेयर पदमा उम्मेदवार बनाउन सिफारिस गरेपछि त्रिपाठीसँग गरिएको कुराकानीः
नेकपा माओवादी केन्द्रले यहाँलाई पोखरा महानगरपालिकाको उपमेयर उम्मेदवारीका लागि सिफारिस गरेको छ, टिकट पाउन कस्तो लबिङ गरिरहनुभएको छ ?
लबिङ मेरो खासै त्यस्तो केही छैन। सोमबार बसेको पार्टीको महानगर कमिटीको बैठकले सर्वसम्मत रूपमा प्रदेश कमिटीलाई ३ जनाको नाम सिफारिस गरेको छ। मोटामोटी हिसाबमा ६ वटा महानगरपालिकामध्ये बाहिर चर्चामा आएको हल्ला छ– पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीले पाएको भन्ने तर आधिकारिक रूपमा त आइसकेको छैन। कुन महानगर लिने र कुन छाड्ने भन्ने विषयमा केन्द्रमा पनि छलफल भइरहेको छ। पोखराको हकमा माओवादी केन्द्रले उपमेयर पाउँदा मेरो स्वाभाविक दाबी रहन्छ।
उपमेयरका लागि आफूलाई योग्य बनाउन तपाईं कहिलेदेखि पूर्णकालीन राजनीतिमा लाग्नुभयो ?
खास मेरो जन्म बर्दियामा भएको हो। बर्दिया यस्तो जिल्ला हो, जहाँ ९द्वन्द्वकालमा० बेपत्ता पारिएका २ सय जना साथी अझै बेखबर छन्। बर्दिया– माओवादी आन्दोलनका लागि रुकुम र रोल्पाजस्तै उर्वर भूमि हो, जसलाई जनयुद्धको उद्गम थलो पनि मानिन्छ। मेरो परिवार जनयुद्धको बेलादेखि नै बर्दियाबाट आन्दोलनमा सहभागी भएको थियो। त्यसकारणले पनि म राजनीतिमा आएको हुँ। तर मलाई प्रचण्ड परिवारसँग मात्र जोडेर हेरिन्छ, त्यो मेरा लागि अन्यायपूर्ण परिभाषा हो भन्ने म ठान्छु। यो कुरामा तपाईंहरू पनि प्रस्ट हुनुपर्छ।
बर्दियाबाट हामी ०५८ सालमा यहाँ ९पोखरा० विस्थापित भयौं। यहाँ विस्थापित हुनुको कारण पनि जनयुद्ध नै थियो। निरन्तर मेरो दिमागले भ्याएसम्म, मेरो विचारले पुगेसम्म विवाहपूर्व नै यहाँको जनवर्गीय संगठनहरूमा, कमिटीहरूमा जोडिएको हुन्थेँ। पछिल्लो समय पार्टीमा म प्रदेश सदस्यको हैसियतमा छु। त्यसकारण यो परिवार ९प्रचण्ड परिवार० सँग जोडिनुभन्दा पहिले नै मेरो राजनीतिमा आबद्धता थियो।
तर तपाईंबारे प्रचण्डसँग जोडेरै टिप्पणी सुरु भएका छन् ?
खासमा प्रचण्ड परिवारको सदस्य भन्दा मलाई गर्व नै लाग्छ। एउटा आन्दोलनको युग पुरुषको परिवारका हिसाबले म आफूलाई निकै भाग्यमानी ठान्छु। विकल्प धेरै थिए। मैले मास्टर्स पनि गरिसकेको थिएँ। अन्य ठाउँमा पनि अवसर थिए। तर मेरो इच्छा राजनीतिसँगै जोडिने भयो। मेरो रगतमा नै परिवारको राजनीति छ, मेरो बुवा पनि आन्दोलनमा हुनुहुन्थ्यो। मेरो परिवार राजनीतिमा भएकै कारण हामी सबै आफन्त, घर छाडेर विस्थापित भएका थियौं। प्रचण्ड परिवारसँग मात्र जोडेर हेर्नु मेरा लागि निकै दुःखको कुरा हो। राजनीतिमा पनि म आफू भूगोलमा नै थिएँ। काठमाडौंमा बसेर एकैचोटि यो ठाउँमा आएको भए पनि यो प्रश्न ठीक हुन्थ्यो।
म वडा कमिटीदेखि महानगर, प्रत्यक्ष निर्वाचित जिल्ला सदस्य हुँदै जिल्ला सचिवालयसम्म पुगेँ। उपमेयरमा मैले दाबी गरिरहँदा अध्यक्ष ९ससुरा प्रचण्ड० लाई जोडेर हेर्नुपर्ने कुनै कारण छैन। अझ मेरो भन्दा पनि यहाँको स्थानीय कमिटीकै सुझाव र सल्लाहले नै मैले यो दाबी गरेको हो।
केन्द्रमा पनि मेयर र उपमेयरको भागबन्डा नमिल्दा विवाद चुलिँदो छ, पोखरामा दुई दलले दाबी गरेपछि सहमति हुन सकेको छैन, उता एमाले बलियो दाबेदारका रूपमा उभिएको छ, यस्तो अवस्थामा तपाईंको जित सम्भव छ र ?
गठबन्धनले जुन निर्णय गरेको छ, त्यो तलसम्म आइपुग्दा हामी त्यो भन्दा बाहिर त पक्कै जान सक्दैनौं। हामीले गठबन्धनको निर्णयअनुसार नै तयारी गरिरहेका छौं। यो गठबन्धन निरन्तर जाने हो वा होइन, छुट्टै कुरा छ। विभिन्न जिल्लामा यसकै टुंगो लगाउन छलफल भइरहेका छन्। मंगलबारसम्म केही निर्णय आइपुग्ला, भागबन्डाको मात्र हिसाबले भन्दा पनि विगतमा यहाँको अवस्था के छ भनेर मतभार पनि हेर्नुपर्छ जस्तो लाग्छ। भागबन्डा गर्दा ३ वटा कांग्रेस र बाँकी १र१ वटा माओवादी केन्द्रले पाउने भनिएको छ। कांग्रेसका साथीहरूलाई असजिलो भयो होला, हामीचाहिँ केन्द्रकै निर्णय कुर्नेछौं।
जनतासामु कस्ता प्रतिबद्धता लिएर जाने सोचमा हुनुहुन्छ ?
गठबन्धनले एउटा निर्णय गर्नेबित्तिकै घोषणापत्र सार्वजनिक गर्नेगरी तयारीमा छौं। जनताका जीवनस्तरसँग जोडिएका विषय समेटेर काम गर्ने योजना छ।
०६४ सालमा देशकै पहिलो भएको माओवादी विभाजन हुँदाहुँदा सानो भएको छ। यो निर्वाचनमा अवस्था सहज देख्नुहुन्छ ?
पक्कै पनि, ०६४ सालमा जुन जनअपेक्षाअनुसार जनताले हामीलाई चुन्नुभएको थियो। त्यो अनुसार हामीले काम गर्न सकेका छैनौं। केही कमीकमजोरी संसदीय व्यवस्था प्रणालीमा पक्कै भएका छन्। तर केही परिवर्तन नै नभएको भन्ने पनि होइन्। अबको दिनमा जनताका अपेक्षा कसरी पूरा गर्ने भनेर हामीले निकै आत्मालोचना गर्न जरुरी छ। हामीले जनतासँग माफी मागेर नयाँ विकासका कार्ययोजना अघि सार्नुपर्छ। त्यसपछि पुनः जनताले हामीलाई पत्याउनुहुन्छ।
तपाईंलाई राजनीतिमा आउन माइतीको समर्थन थियो ?
मैले अघि नै जोडिहालेँ, मेरो बुवा निकै क्रान्तिकारी स्वभावको हुनुहुन्थ्यो। मेरो बुवाले ‘इन्टरकास्ट’ विवाह गर्नुभयो। तराईमा १२र१३ वर्षको उमेरमा नै बसाइँसराइ गरेर जानुभयो। बुवा जागिर खाने भन्दा पनि फरक ढंगले काम गर्ने स्वभावको हुनुहुन्थ्यो। उहाँ आफैं हलो जोत्नुहुन्थ्यो, आफैं कृषिकर्म गर्नुहुन्थ्यो। यतिसम्म कि ९हाँस्दै० मेरो बुवाले कुखुरा पाल्दा मेरो हजुरआमाले घरमा आएर खाना खानुहुँदैनथ्यो, ब्राह्मण भएर कुखुरा पालेको भन्दै। बर्दिया थारु समुदायको बाहुल्य भएको जिल्ला हो। मेरा साथीहरू चौधरी नै हुन्थे। त्यसकारण मेरो हजुरआमाको पालादेखि नै हामी बहिष्कारमा परेका हौं। त्यो माहोलबाट आएको हुनाले मेरो पहिलो प्रेरणाको स्रोत भनेको बुवा नै हो। त्यसकारण विवाह गरेपछिको भन्दा पनि मेरो माइतीघरकै प्रेरणा ठूलो छ।