वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा बनेको प्रतिवद्धतापत्र संयोजन समितिका सदस्यहरु, जिल्ला इन्चार्ज, प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय तहमा निर्वाचित पदाधिकारी सहितको भर्चुअल कार्यक्रम बुधबार भएको थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिबद्धतापत्रको सैद्धान्तिक विषय राखेपछि अध्यक्ष ओलीले निर्देशनात्मक सुझाव दिए ।
पार्टीको लोकप्रियता देखेर एमालेविरुद्ध गठबन्धन बनेकाले नआत्तिन अध्यक्ष ओलीले निर्देशन दिएका थिए । ‘पार्टी प्रवेशको लहर चलेको छ । एमाले एक्लैले जित्ने आधार बनेको छ’, ओलीले विश्वास दिलाएका थिए । तर जनताको सुखदुःखमा साथ दिने गरी एमाले परिचालित हुनुपर्ने ओलीले सर्त राखेको एक सहभागीले बताए । ‘को खराब छ, को सही छ भन्ने जनताले राम्रोसँग बुझेका छन् । विकासको लहर ल्याउन पनि एमालेले जित्नुपर्छ’, ओलीले भनेका थिए ।
आगामी ९ वैशाखमा देशभर एकसाथ स्थानीय स्तरबाट सार्वजनिक हुने प्रतिवद्धतापत्रमा बितेको पाँच वर्षमा एमालेले गरेको काम समेट्न प्रतिवद्धतापत्र संयोजन समितिका सदस्य सुशील ज्ञवालीले सुझाव दिएका छन् । ‘स्थानीय तहमा एमाले नेतृत्वले गरेको कामहरु समेट्ने र अबको पाँच वर्ष के गर्छौ भन्ने समेटेर प्रतिबद्धतापत्र तयार पार्नुपर्छ’, ज्ञवालीले सुझाव राखेका थिए ।
२०७४ मा नजितेको स्थानीय तहमा हुन नसकेको कामको फेहरिस्त तयार पार्न एमालेले निर्देशन दिएको छ । ‘एमालेले जितेको भए के गर्न सक्थ्यो भन्ने पनि खुलाउन निर्देशन दिइएको छ’, ती सहभागीले भने । अन्तर्क्रियामा सहभागीहरुलाई भने बोल्ने अवसर दिइएन । ‘लिखित सुझाव मागिएको छ । धेरै आएको पनि छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने ।