काठमाडौं, १७ चैत – सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो ।
बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।
चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाइने पनि खनालले बताए । ‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने, महानगरको निर्णय माथिबाट अन्यका लागि तलै निर्णय गर्न दिने त्यसका लागि सबै दलको संयन्त्र बनाउने बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने भइयो’, नेता खनालले भने ।