बागलुङ, १९ चैत्र-मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आसन्न निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्न दलहरुलाई आग्रह गरेका छन् । उनले गुणस्तरीय स्वास्थ्य क्षिाका लागि प्रश्न गर्ने बेला आएकोसमेत बताए ।
पहाडीले नदी, हिमाल र प्राकृतिक सम्पदा दोहन र त्यसबाट सिर्जना भएका समस्या बारेमा समयमा सचेत बन्न पनि आग्रह गरे । उनले पछिल्लो समय पानीका लागि युद्द हुने खतरा भएको भन्दै नेपालका हिमाल, नदी र खोला बचाउनु पर्ने धारणा राखे ।
मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको ‘हिमालय बचाऔं, नदी जोगाऔं’ विषयक प्रवचन कार्यक्रममा पहाडीले शक्ति राष्ट्रहरुले पानीका स्रोतमा आँखा लगाएको टिप्पणी समेत गरे । नेपालका नदी र हिमाल दोहनका कारण फेरि अशान्ति फैलन सक्ने समेत उनको भनाइ थियो ।
युद्दविरुद्ध शान्ति समाज निरन्तर लाग्ने भन्दै शान्ति प्रक्रियाकालागि भने पसिना बगाउने उनको भनाइ छ । विकासमुखी राजनीति, सेवामुखी प्रशासन र उद्यममुखी समाजकालागि निर्वाचन हुनुपर्ने जोड दिए ।
‘संसारभर विदेश नीति हेरेर मतदान गर्ने चलन छ । तर, हामी नेतामुखी भोट दिँदैछौ,’ उनले भने, ‘नेतामुखी भएकोले विकास भन्दा भ्रष्टाचार बढेको हो ।’ उनले गुणस्तरीय स्वास्थ्य र वैज्ञानिक शिक्षा बिषयमा सबैको चासो बढ्नुपर्ने समेत बताए ।
अभियानको क्रममा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, पूर्व अध्यक्षहरु होमकान्त चौलागाईं र उत्तम पुडासैनीले आणविक हतियारविरुद्ध बोलेका थिए । जिल्ला शाखा सभापति हरिप्रसाद शर्माको अध्यक्षता, पूर्व सभापति राजेन्द्र पौडेलको स्वागत र सचिव निलप्रसाद शर्माको संचालनमा कार्यक्रम भएको थियो ।