८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बद्लिँदो भूराजनीतिक परिवेशले जुराएको देउवाको दिल्ली यात्रा


जगदीश्वर पाण्डे
  • २० चैत्र २०७८ , आइतबार

  • बद्लिँदो भूराजनीतिक परिवेशले जुराएको देउवाको दिल्ली यात्रा

    काठमाडौं, २० चैत – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण पूरा गरि आइतबार साँझ त्रिभुवन विमानस्थलमा ओर्लेका छन् । उनको यो भ्रमणलाई सीमा विवादलाई संवाद र द्विपक्षीय सम्बन्धलाई विश्वासको वातावरण निर्माण गर्न भूमिका खोल्ने संकेतको रुपमा लिएपनि दुई मुलुक बीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धीसहितका अन्य तमाम समस्याहरुलाई सम्बोधन गर्ने गरि गठन भएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी), डुवान लगायतका विषयमा प्राथमिकताका साथ कुरा उठाइएन ।

    नेपालमा स्थानीय तहको निर्वाचन घोषणा भइसकेको र अन्य दुई तह (प्रवेश र संघ) को निर्वाचनहरु गराउन गृहकार्यमा जुट्नु पर्ने अवस्थामा रहेका प्रधानमन्त्री देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छोटो सूचना दिएर किन निम्तो दिए ? धेरैको चासोको विषय बनेको छ ।

    प्रधानमन्त्री हुने बित्तिकै भ्रमणमा जान चाहेका तर दिल्लीबाट सकारात्मक सन्देश नआएपछि अड्किएर बसेका देउलालाई भारतले किन नेपालको चुनावी चटारोबीच हतार–हतारमा भ्रमण गरायो भन्ने प्रश्न उठेको छ ।

    एकातिर दुई मुलुक बीचको सीमा विवादमा आफ्नै व्यवहारले गर्दा द्विपक्षीय संवाद अघि बढ्न नसकेको भारतलाई थाहा थियो । अर्कोतर्फ आफ्नो सबैभन्दा नजिकको छिमेक नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर अमेरिका र चीनको ‘वाकयुद्ध’ नै चल्यो । त्यो भूराजनीतिक बहसमा भारत कहाँ छ भन्ने प्रश्न पनि उठ्यो ।

    ‘छिमेक नीति पहिलो’ भन्दै दक्षिण एसियाको शक्ति बन्न लागेको भारतलाई आफ्नो सबैभन्दा नजिक छिमेकमा अमेरिका र चीनको चासो बढ्नुले केहि अफ्ठेरो महसुस भएको देखिन्छ । खुला सीमा रहेको र दुई मुलुकबीच ‘रोटी–बेटी’ सहित ‘विशेष सम्बन्ध’ भन्दै भारतलाई नेपालसँगको सम्बन्धलाई अघि बढाउनु थियो ।

    २०७४ को निर्वाचनमा दुई कम्युनिष्ट पार्टीहरु (एमाले र माओवादी केन्द्र) मिलेर अघि बढे र पछि उनीहरुले नेकपा पार्टी नै निर्माण गरे । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच ‘भाई–भाई’को सम्बन्ध पनि देखियो । भारत त्यसमै सशंकित थियो । त्यसपछि नेपालको पटक–पटकको आग्रहमा पनि भारतले सीमा विवादका विषयमा कुटनीतिक संवाद गर्न नचाहेपछि नेपालले नयाँ नक्सा जारी गर्‍यो । त्यसपछि त झन दुई मुलुकबीचको संवाद ठप्प जस्तै रह्यो ।

    जब नेकपामा विवाद आयो वेइजिङले पनि नेकपाभित्र आफ्नो सुझाव दिन थाल्यो, तब तत्कालिन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन नयाँदिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत बनेर भारतको अन्तर्राष्ट्रिय सुरक्षा मामिला हेर्ने खुफिया एजेन्सी रअका प्रमुख सामान्त गोयल नेपाल आए । जब भारतले ओलीलाई हरियो बत्ती देखायो, नेपालको राजनीतिक घटनाक्रम सर्वोच्च अदालतको प्रांगणमा पुग्यो ।

    अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदियो । त्यसपछि भारतले देउवा र ओली दुवैलाई सहयोग गर्ने रणनीति लिएको देखिन्छ । देउवा सरकारमा आएपछि सुरुआतमा खुल्न नचाहेको भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डा र प्रधानमन्त्री मोदीले सुरुआतमा पार्टी–पार्टी बीचको सम्बन्धलाई अघि बढाउन खोजे । देउवालाई दिल्लीस्थित भाजपाको पार्टी कार्यालयमा अध्यक्ष नड्डाले स्वागत गर्नुलाई त्यहि रुपमा लिन सकिन्छ । जसरी तत्कालिन प्रधानमन्त्री ओली चीन भ्रमणको दौरानमा सीपीसीको कार्यालयमा गएका थिए, त्यसै गरि देउवा दिल्लीमा भाजपाको मुख्यालयमा पुगे ।

    गत फागुन १५ मा एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि चीनले नेपाललाई त्यस विषयमा आफ्नो धारणा राख्न चाहेको चाहेको थियो । चीनले नेपालका परराष्ट्र मन्त्री नारायण खड्कालाई वेइजिङको निम्तो पनि दियो । परराष्ट्र स्रोतका अनुसार खड्काले दुई मुुुलुकबीच हवाईमार्ग खुलिनसकेको जवाफ पठाएपछि दक्षिण एसियाका अन्य मुलुकमा भ्रमणको दौरान चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणमा आए ।

    चीनका विदेश मन्त्रीको नेपालमा भ्रमण हुने र अमेरिकी अधिकारीहरु पनि नेपाल भ्रमणमा आउन सक्ने संकेत पाएपछि भारतले प्रधानमन्त्री देउवालाई छोटो सूचनाको आधारमा निम्तो पठाएको केहि भूराजनीतिज्ञहरुको बुझाई छ ।

    भूराजनीतिक मामिलाका जानकार अवकाश प्राप्त उपरथी विनोज बस्न्यात भारतले अहिले प्रधानमन्त्री देउवालाई निर्वाचनको मुखमा भ्रमण गराउनुलाई दुई तरिकाले हेर्न सकिन् बनाउँछन् । ‘पहिलो र मुख्य कुरा भनेको नेपालको राजनीतिक अस्थिरता कसरी जान्छ र चुनाव कसरी अघि बढ्छ भन्ने नै हो,’ उनले भने,‘दोस्रो पक्ष भनेको भारतले नेपालमा पछिल्लो समय एमसीसी सम्झौता र चिनियाँ विदेशमन्त्रीको भ्रमण सहितका गतिविधि हुन् ।’

    भारतको निम्तोलाई स्वागत गर्दै देउवाले पनि तीन दिने भ्रमण गरे । नेपाल लगायत दक्षिण एसियाली मुलुकमा भारत र अमेरिकाभन्दा आफ्नो बलियो उपस्थिती हुनुपर्ने भारतको चाहना अनुसार अप्रत्याशित रुपमा देउवाको भ्रमण भएको हेर्न सकिन्छ । देउवाले पुसमा नै भारतमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन जान लागेका थिए । तर कोभिड–१९ संक्रमणको कारण त्यो स्थगित भयो र उनको भ्रमण पनि रोकियो ।

    भूराजनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट पनि दुई वटा कारणले भारतले देउवालाई भारत भ्रमण गराएको मान्छन् । ‘पहिलो भनेको ट्रष्ट बिल्डिङ (विश्वासको वातावरण बनाउने) नै हो,’ उनले भने,‘दोस्रो विषय भनेको अहिलेको नयाँ भूराजनीतिक परिवेशहरुमा हामीसँगै जानु पर्छ भन्ने भारतले नेपाललाई सन्देश दिन चाहेको हो । किनकी यो परिस्थितीमा भारत र नेपाल दुवैलाई त्यसले असर गर्छ ।’

    भट्ट पछिल्लो समय अमेरिका, चीन, भारत र रुस जस्ता ठूला मुलुकहरुले आ–आफ्ना संगठन र साथीहरुलाई आ–आफ्नो पक्षमा ल्याउन चाहेको देखिन्छ । ‘चिनियाँ विदेश मन्त्री वाङ यीको भ्रमण पनि नेपालमा त्यहि कारणले भएको थियो । त्यसैले उनले नेपालको सार्वभौम सत्ताको चासो व्यक्त गरेका थिए । अहिले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा उनीहरुले त्यहि शब्द त प्रयोग गरेका छैनन् । तर त्यहि सन्देश दिन खोजेका हुन्,’ उनले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend