पोखरा, २२ चैत – स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा एमाले सत्ता गठबन्धनप्रति थप आक्रमक वन्दै गएको छ । सत्ता गठबन्धनलाई कंशको संज्ञा दिदै एमालेले वंश नास गर्नेलाई स्थानीय तहको निर्वाचन मार्फत पराजित गर्नैपर्ने वताएको छ ।
नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अहिलेको लडाई कंश, रामयण र कौरवविरुद्धको भएको वताए । पार्टीको गण्डकी प्रदेश कमिटीको १०औं पूर्ण बैठकलाई मंगलवार पोखरामा सम्बोधन गर्दै उपमहासचिव गुरुङले कंश, रामयण र कौरवजस्तै सत्ता गठबन्धन राजनितिक राक्षस भएको वताए ।
सत्यको सधै जित हुने उल्लेख गर्दै गुरुङले वंश नास गर्ने कंशसंगको लडाईमा पाण्डवहरुले जितेजसरी स्थानीय निर्वाचनमा राजनितिक राक्षसलाई पराजित गरेर आउन नेता, कार्यकर्तालाई निर्देशन दिए । ‘हरेक लडाईमा सत्यको जित हुन्छ, हामी अहिले कंश, रामयण र कौरवसंग लड्दैछौ । यो लडाईमा हामीले जित्नै पर्छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टको वंश नै नष्ट गर्न कांग्रेसको गुलामी गरिरहेको वताउदै वंश नास गर्ने कंशलाई जनताको अभिमतवाटै नष्ट गर्नुपर्ने दायित्व एमाले कार्यकर्ताको काधमा आएको सम्झाए । ‘उनीहरु राजनैतिक रुपमा राक्षसको रुपमा लिएर आएका छन् । राक्षसलाई हराउन यो राजनितिक लडाई जित्नै पर्छ ।’
‘माक्र्सवादले आन्तरिक चीजलाई प्रधान मान्छ, आन्तरिक शक्ति मजवुद हुँदा मात्रै चुनाव जितिने भएकाले पार्टीभित्रको एकता मजवुद बनाउनु पर्छ’, उपमहासचिव गुरुङले भने, ‘अब एमालेमा माओवादीबाट आएको, १० बुँदे यस्ताउस्ता कुनै कुरा हुँदैन । पार्टी एकढिक्का भएर अगाडि बढ्छ । तपाईहरु सवै अहंकार त्यागेर लाग्नुहोस । आशावादी भएर अगाडि बढ्नुहोस ।’
एमालेसंग निर्वाचन जित्ने धेरै आधार भएको भन्दै सुखी नेपाली–समृद्ध नेपालको सपना साकार पार्ने जिम्मेवारी नेता कार्यकर्ताको नै भएको वताए । ‘निर्वाचन हतियारविनाको युद्ध हो, यसलाई संगठित र अनुशासित दस्ताले मात्रै जित्न सक्छ ।’ उपमहासचिव गुरुङले थपे, ‘दलाल नोकरसाही पुँजीवादको अन्त्य गर्ने कार्यक्रम एमालेसंग मात्रै छ ।’
कार्यक्रममा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले धेरै सपना र धेरै आशाको पार्टी भएको वताउदै एमाले तलमाथि हुँदा मुलुक र जनताको भविष्य नै संकटमा पर्ने वताईन । पार्टीका संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीलाई नीति, विधि र संगठानात्मक अनुशासनमा चलाउनुपर्नेमा जोड दिदै एमालेले सजिलो होईन, हिड्नुपर्ने बाटो रोजेको वताए ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको बैठकमा पार्टी पोलिटब्यूरो सदस्य तथा सहइन्चार्ज जगत विश्वकर्मा, पोलिटब्यूरो सदस्य लिलावहादुर थापा मगरले निर्देशानात्मक मन्तब्य राखेका थिए । बैठकको सञ्चालन सचिव धनन्जय दवाडीले गरेका थिए ।
उम्मेदवारको सिफारिश बैशाख ४ भित्र पठाउन निर्देशन
बैठकले आगामी स्थानीय तहको निर्वाचनका उम्मेदवारको सिफारिस आगामी ०७९ बैशाख ४ गतेभित्र प्रदेश कमिटीमा पठाउन तल्लो तहका कमिटीलाई निर्देशन गरेको छ ।
वडा कमिटीले आगामी चैत २७ भित्र वडा अध्यक्ष र सदस्यको सिफारिश गरिसक्ने, पालिका कमिटीले चैत २९ भित्र र जिल्ला कमिटीले वैशाख ४ गतेभित्र सिफारिश गरीसक्ने गरी तल्ला कमिटीलाई निर्देश गरिएको अध्यक्ष नवराज शर्माले वताए ।
उम्मेदवार सिफारिस गर्दा सकेसम्म सर्वसम्मत रुपमा गर्नुपर्ने र सहमती नभएमा एक महिलासहित ३ जनाको मात्रै नाम सिफारिस गर्नुपर्ने निर्णय प्रदेश कमिटीले गरेको छ । अन्तिम निर्णय प्रदेश कमिटीले वैशाख ५ पछि मात्रै गर्नेछ ।
स्थानीय चुनावमा अन्य दलसंग हदैसम्मको लचकता अपनाएर तालमेल गर्न स्थानीय कमिटीलाई जिम्मेवारी दिएको छ । अन्तर जिल्लाको तालमेल मात्रै प्रदेशले हेर्नेछ । बैठकले प्रदेश अध्यक्ष नवराज शर्माको संयोजकत्वमा १ हजार ८ सय ५१ सदस्यीय निर्वाचन परिचान समिति गठन गरेको छ ।