२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

सांसद र मन्त्री बन्दासमेत सुध्रिएनन् ‘गुन्डा नाइके’ दिपक मनाङे


जनमञ्च संवाददाता
  • २४ चैत्र २०७८ , बिहिबार

  • सांसद र मन्त्री बन्दासमेत सुध्रिएनन्  ‘गुन्डा नाइके’ दिपक मनाङे

    मनाङबाट प्रदेश सभा सदस्य जितेका ‘गुन्डा नाइके’ पृष्ठभूमिका राजीव गुरुङ उर्फ दीपक मनाङे अहिले गण्डकी प्रदेशका खेलकुदमन्त्री छन् । तर, पदअनुसार आचरण सुधार नहुँदा उनले मन्त्री पदलाई समेत मजाक बनाउँदै छन् ।

    दुई वर्षअघि सार्वजनिक स्थलमै एन्फा कास्कीका अध्यक्षलाई झापड हानेर हिरासत पुगेका मनाङेले गत कात्तिकमा स्वकीय सचिवलाई कार्यवाहक मन्त्री तोकेर जग हँसाएका थिए । अहिले फेरि आफ्नै मन्त्रालयका कर्मचारी कुटेर ‘गुन्डा प्रवृत्ति’ देखाएका छन् ।

    मन्त्री मनाङेले मंगलबार आफ्नै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझालाई कार्यकक्षमा बोलाएर लात्ती र थर्मसको बिर्कोले हानेका हुन् । मन्त्रीको बोलावटपछि फाइल बोकेर पुगेका ओझालाई सुरुमा ‘समयमा किन काम नगरेको’ भन्दै गाली गरेर थर्मसको बिर्को प्रहार गरेको एक कर्मचारीले बताए ।

    त्यसपछि उनले तीन लात्ती पनि हानेका थिए । घटनापछि पीडित ओझाले सहकर्मीसँग पीडा पोखेका थिए । कर्मचारीलाई कुट्दा मन्त्रीको कार्यकक्षमा अन्य सातजना पनि थिए । उनीहरू मन्त्रीलाई भेट्न आएका थिए तर, कोही पनि यस विषयमा बोल्दैनन् ।

    ‘एउटा नियमावलीसम्बन्धी छलफलका लागि मन्त्रीले बोलाएपछि ओझा फाइल बोकेर उनको कार्यकक्षमा गएका थिए । ओझाले हामीलाई बताएअनुसार समयमा किन काम नगरेको भन्दै मन्त्रीले सुरुमै अश्लील गाली गर्दै थर्मसको बिर्कोले हाने,’ ओझाको भनाइ उद्धृत गर्दै एक कर्मचारीले भने, ‘ओझाले नियमावली बनाउन सम्बन्धित ऐन कानुन पनि हेर्नुपर्‍यो भन्नेबित्तिकै मन्त्रीले उठेर तीन लात्ती हाने ।’ मन्त्रीले कुटपीट गरेपछि ओझा सम्पर्कबिहीन छन् । उनी कार्यालय पनि आएका छैनन् । मोबाइलको स्विच्ड अफ छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुटाइ खाने कर्मचारी र कुट्ने मन्त्रीलाई सँगै राखेर यथार्थ बुझ्ने बताएका छन् । ‘यो क्याबिनेटको सदस्यको विषय हो । मुख्यमन्त्रीले नै यस विषयमा दुवैजनालाई राखेर केही गर्छु भन्नुभएको छ । कर्मचारी (ओझा)सँग सम्पर्क हुन सकेको छैन । मन्त्रीज्यू (मनाङे)को अर्कै भर्सन छ,’ प्रदेश सरकारका प्रवक्तासमेत रहेका सहरी विकास, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्काले भने, ‘मुख्यमन्त्रीज्यू बाग्लुङबाट राति (बुधबार) अबेर मात्र फर्किएकाले भोलि (बिहीबार) बसेर केही निष्कर्ष निकाल्नुहुन्छ ।’ विभिन्न आन्तरिक सुरक्षा गोष्ठीमा सहभागी भएर मुख्यमन्त्री पोखरेलसहित सरकारका मन्त्री र अधिकारीहरू बुधबार साँझ मात्रै पोखरा फर्किएका हुन् ।

    खेलकुद मन्त्रालयका सचिव बद्री अधिकारी कुनै पनि कर्मचारीले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने बताउँछन् । आन्तरिक मामिला मन्त्रालयको सचिवको समेत जिम्मेवारी सम्हालेका उनी पनि मुख्यमन्त्री र मन्त्रीसँगै सुरक्षा गोष्ठीमा थिए । सञ्चारकर्मीमार्फत घटनाबारे सुने पनि विस्तृत बुझ्न नपाएको उनको प्रतिक्रिया छ ।

    ‘विभिन्न जिल्लामा सुरक्षा बैठकहरू थिए । बाग्लुङमा बैठक सकेर साँझ मात्रै पोखरा फर्किएको छु । तपाईं सञ्चारकर्मीहरूले भनेर नै घटनाबारे थाहा पाएको हुँ,’ उनले भने, ‘दिउँसो घटनाबारे सुनेपछि निरन्तर सम्पर्क गरिरहेको छु । तर, ओझाजीको मोबाइल अफ छ । मन्त्रालयमा सत्य–तथ्य बुझ्दै छु । कर्मचारीलाई काम गर्ने वातावरण हुनुपर्छ, सुरक्षित हुनुपर्छ ।’

    मंगलबार ओझाले आफूलाई फोन गरेर बिदामा बस्छु भनेको, तर कुटपिटको घटना नगरेको सचिव अधिकारीले बताए । ‘उहाँले हिजो (मंगलबार) बिदामा बस्छु भन्नुभयो, तर कुटपिट भएको कुरै गर्नुभएन,’ उनले भने । बुधबार ओझा मन्त्रालयमा उपस्थित भएनन् ।

    मन्त्री मनाङेले भने युवा स्वरोजगार कोषको कार्यविधिमा ओझाले बदमासी गरेकाले सम्झाएको मात्रै दाबी गरे । ‘हाम्रोमा युवा उद्यमीलाई एक लाखदेखि पाँच लाखसम्म दिने युवा स्वरोजगार र युवा उद्यमी भन्ने प्रोजेक्ट छन् । मन्त्री र सचिवले त तिनको कार्यविधिको ड्राफ्ट बनाउने र काम मात्र हेर्ने हो । तर, कार्यविधि टाइप गर्दा ओझाले किर्ते गरी अर्कै बनाइदिएछ । हामीले त्यसमै हस्ताक्षर गरेछौँ, थाहै भएन,’ उनले भने, ‘पछि आएर मात्रै थाहा भयो, आर्थिक लाभ लिएर केही मान्छेको स्वार्थमा काम गरेको रहेछ । उनीहरूलाई कार्यविधि लिकेज गरेको रहेछ । यस्तो अवस्थामा जुन मान्छेले पाउनुपर्ने हो उसले नपाएर, नपाउनुपर्ने व्यक्तिले पाउने गरेका रहेछन् । रकम वितरण गर्दा पनि तीन लाख पाउने व्यक्तिसँग एक लाख आफूले लिने रहेछ । हाम्रा मान्छेले नै आएर गुनासो गरेपछि बोलाएर सम्झाएको हो ।’

    सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदासमेत मन्त्री मनाङेले कर्मचारीबारे अमर्यादित भाषा प्रयोग गरेका छन् । मान्छे पिट्नु आफ्ना लागि सामान्य भएको चुनौती पनि दिएका छन् । ‘यस्ता खातेपातेलाई पिट्ने मेरो बानी छैन, अलि ठूलो-ठूलो मान्छेलाई नै पिट्ने गरेको छु, यस्तोहरूलाई पिट्दिनँ,’ उनले भने, ‘पाउनुपर्ने व्यक्तिले रकम नपाउँदा त्यस चोरलाई आफैँ पाप लाग्छ ।’

    मन्त्री मनाङेले ओझालाई देशद्रोहीको आरोप लगाउँदै जेल हाल्ने धम्की पनि दिएका छन् । ‘कार्यविधि बिगारेर रकमसमेत लिएका कारण आफैँ फस्ने देखेपछि मलाई पिट्यो भन्ने आरोप लगाएको छ । त्यो अब जेल जाँदै छ । अब मैले आयोग गठन गर्छु, उसले पैसा मागेका मान्छेहरू आएर बयान दिन्छन् । अनि मुद्दा हालेपछि त्यो जेल जान्छ,’ उनले भने, ‘मैले योङ केटाको करिअर नबिगारौँ भनेर केही नगरेको हो । अब यतिसम्म आरोप लगाएपछि त आयोग गठन गरेर काम गर्छु । कार्यविधि लिक गर्नु त देशद्रोही काम हो ।’

    सांसद हुँदै मन्त्री बन्दासम्म ‘गुन्डा नाइके’कै छवि
    गण्डकी प्रदेशका खेलकुदमन्त्री मनाङे पृष्ठभूमि ‘गुन्डा नाइके’को हो । विभिन्न आरोपमा पक्राउ पर्दै, छुट्दै र प्रहरीको फरार सूचीमा पर्दै आएका उनी मनाङ (ख)बाट स्वतन्त्र रूपमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा अदालतले गरेको फैसलाका कारण उनले त्यतिवेला शपथ लिन पाएनन्, बरु नौ महिना जेल बसे । पछि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि जेलमुक्त भएका उनले शपथका लागि निवेदन दिएका थिए । ‘माननीय सांसद’ बनेपछि पनि उनको छवि ‘दादागिरी’बाट फेरिन सकेन ।

    ‘बोल्यो कि कुटाइ खाने पालो आउने चिन्ता हुन्छ’
    मन्त्री मनाङेले गत मंसिरमा पनि एक कर्मचारीलाई कुटपिट गरेको खुलेको छ । त्यतिवेला मन्त्रालयका तत्कालीन सचिवले तत्कालीन प्रमुख सचिवसँग छलफल गरेर विषयलाई भित्रै सामसुम पारेको एक कर्मचारीले बताए । तर, मन्त्रीको हर्कत नसुध्रिएको र कर्मचारी मूकदर्शक बनेर बस्न बाध्य भएको उनको भनाइ छ । ‘बोल्यो कि कुटाइ खाने पालो आउने चिन्ता हुन्छ । मंसिरमा कर्मचारी कुटेको विषय यसै सामसुम पारियो । अहिले पनि के कारबाही होला र !’ उनले भने ।

    स्वकीय सचिवलाई कार्यवाहक मन्त्री बनाउने पनि मनाङे
    गत कात्तिकमा मनाङेले अर्को अनौठो काम गरेका थिए । मनाङ (ख) बाट सांसद निर्वाचित उनी गृहजिल्ला गएका वेला स्वकीय सचिव रोनित गुरुङलाई कार्यवाहक मन्त्रीको जिम्मा दिएका थिए । रोनित मन्त्रीकै कार्यकक्षमा छुट्टै टेबुल राखेर बसेका थिए । टेबुलमा राखिएको नेम प्लेटमा लेखिएको थियो, ‘रोनित गुरुङ, कार्यवाहक एवं प्रवक्ता ।’ कानुनमा नभएको मन्त्रीको कार्यवाहकको पदमा सहयोगी पदासीन भएको देखेर मन्त्रालयका कर्मचारी आश्चर्यचकित परेका थिए ।

    कर्मचारी कुटेपछि पनि दम्भ उस्तै- ‘यस्ता खातेपातेलाई पिट्ने मेरो बानी छैन, ठूलो–ठूलो मान्छेलाई पिट्ने गरेको छु’

    हाम्रो मन्त्रालयमा युवा उद्यमीलाई एक लाखदेखि पाँच लाखसम्म दिने युवा स्वरोजगार र युवा उद्यमी भन्ने कार्यक्रम छन् । मन्त्री र सचिवले कार्यविधिको ड्राफ्ट बनाउने र कार्यान्वयन पक्ष हेर्ने हो । तर, कार्यविधि टाइप गर्दा सूचना अधिकारी प्रकाश ओझाले किर्ते गरी अर्कै बनाइदिएछ । हामीले त्यसमै हस्ताक्षर गरेछौँ, थाहै भएन । पछि आएर मात्रै थाहा भयो, आर्थिक लाभ लिएर केही मान्छेको स्वार्थमा काम गरेको रहेछ ।

    उनीहरूलाई कार्यविधि लिकेज गरेको रहेछ । जब कि कार्यविधिबारे हालका सचिवलाई थाहै छैन । यस्तो अवस्थामा जुन मान्छेले पाउनुपर्ने हो उसले नपाएर, नपाउनुपर्ने व्यक्तिले पैसा पाउने गरेका रहेछन् । रकम वितरण गर्दा पनि तीन लाख पाउने व्यक्तिसँग एक लाख आफूले लिने रहेछ । हाम्रा मान्छेले नै आएर गुनासो गरेपछि बोलाएर सम्झाएको हुँ, कुटेको होइन ।

    यस्ता खातेपातेलाई पिट्ने मेरो बानी छैन, अलि ठूलो–ठूलो मान्छेलाई नै पिट्ने गरेको छु । पाउनुपर्ने व्यक्तिले रकम नपाउँदा त्यस चोरलाई आफैँ पाप लाग्छ । कार्यविधि भनेको धेरै गोप्य हुन्छ, मन्त्री र सचिव मिलेर बनाउने हो । कार्यविधि तयार गर्दाका सचिव हाल सरुवा भएर अर्कै प्रदेशमा गइसकेका छन् ।

    कार्यविधि बिगारेर रकमसमेत लिएका कारण आफैँ फस्ने देखेपछि मलाई पिट्यो भन्ने आरोप लगाएको छ । मैले योङ केटाको करिअर नबिगारौँ भनेर केही नगरेको हो । आयोग गठन गर्छु, उसले पैसा मागेका मान्छेहरू आएर बयान दिन्छन् । अनि मुद्दा हालेपछि त्यो जेल जान्छ । 

    दुई वर्षअघि मनाङेले एन्फा कास्कीका अध्यक्षलाई पनि कुटेका थिए

    मनाङेले दुई वर्षअघि एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई पनि सार्वजनिक स्थलमै कुटेका थिए । गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप उद्घाटनका दिन ७ माघ ०७६ मा आयोजक समितिका कोषाध्यक्षसमेत रहेका गुरुङलाई उनले कुटेका थिए । त्यसपछि गुरुङले दिएको उजुरीका आधारमा ९ माघमा सांसद मनाङेलाई प्रहरीले पक्राउ गरेको थियो । चार दिनपछि १२ माघमा जिल्ला प्रशासन कार्यालय कास्कीले ६ हजार धरौटी लिएर मनाङेलाई तारेखमा छाडेको थियो ।

    कर्मचारीमाथि अन्याय हुँदा बोलिदिने कोही छैन  : गोविन्द कुसुम पूर्वगृहसचिव 

    नेपालमा राजनीतिक संस्कार, सदाचार र संस्कृतिको कमी छ । मन्त्री र नेताहरूमा हामी नै सर्वेसर्वा हो, कर्मचारी केही होइनन्, हामीले जे भन्यो त्यो मान्नुपर्छ भन्ने मानसिकता छ । कर्मचारीतन्त्रमा कोहीमाथि अन्याय भयो भने बोलिदिने कोही छैन । त्यसैले पनि राजनीतिक नेतृत्वले कर्मचारीलाई दार्ने प्रवृत्ति बढेको हो ।

    कर्मचारीतन्त्र सरकारका नीति कार्यान्वयन गर्ने संगठन/संस्था हो । राज्यका नीति कार्यान्वयन र जनताका चाहना पूरा गर्ने उसको दायित्व हो । कर्मचारीले बदमासी र गल्ती गरेको छ भने कानुनबमोजिम कारबाही गर्न सकिन्छ । तर, कर्मचारीमाथि हातपातमै उत्रिने कामले राजनीति र कर्मचारीतन्त्रबीच दूरी बढाउँछ ।

    यस्तो गर्नेमाथि सम्बन्धित सरकारको नेतृत्वले कारबाही गर्नुपर्छ । नत्र यसले अराजकता निम्त्याउँछ । सडकमा गाली गर्नु एउटा हो, पदमा बसेर गाली गर्नुचाहिँ गम्भीर विषय हो । राजनीतिक नेतृत्वलाई कारबाही नगर्दा केही हुन्न, गर्‍यो भने कुर्सी हल्लिने भएपछि कारबाही पनि हुँदैन जुन देशका लागि दुर्भाग्य हो ।

    कर्मचारीमाथि दुर्व्यवहार गर्ने मनाङे एक्ला मन्त्री होइनन्

    सिफारिस गरेको एनजिओलाई कार्यक्रम नपारेको भन्दै मधेसका मन्त्रीले सचिव कुटे

    २९ पुस ०७५ मा प्रदेश २ का तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरणसचिव विद्यानाथ झालाई निर्घात कुटपिट गरे । घाइते झालाई अस्पताल नै भर्ना गर्नुपरेको थियो । सिफारिस गरेको एनजिओलाई कार्यक्रम नपारेको भन्दै यादवले आफ्नै कार्यकक्षमा बोलाएर सचिव झालाई कुटपिट गरेका थिए ।

    त्यतिखेर वन मन्त्रालयको आधिकारिक ट्रेड युनियनसहित नेपाल वन प्राविधिक संघ, फरेस्ट टेक्निसियन्स एसोसिएसन अफ नेपाल र जुनियर वन प्राविधिक संघलगायतका वनसम्बन्धी पेसागत संस्थाहरूले तत्कालीन संघीय मामिलामन्त्री लालबाबु पण्डितलाई कर्मचारी कुट्ने मन्त्री यादवलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । यादवलाई तत्काल बर्खास्त गर्नुपर्ने उनीहरूको माग थियो । तर, कुनै कारबाही भएन, यादव अहिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री छन् ।

    वनमन्त्री हुँदा यादवले ललितपुरका एलडिओलाई मन्त्रालयको शौचालयमा थुने
    ०६४ मा वन तथा भूसंरक्षणमन्त्री बनेका मातृका यादवले आफूले भनेको नमानेको भन्दै ललितपुरका तत्कालीन एलडिओ डन्डुराज घिमिरेलाई मन्त्रालयमै बोलाएर शौचालयमा थुनिदिएका थिए ।

    सामुदायिक वनमा अवैध ढुंगाखानी सञ्चालन हुँदा पनि रोक्न चासो नदेखाएको र क्रसर उद्योगीसँग मिलेर पर्यावरण बिगारेको, अनियमितता गरेकोलगायतको आरोप पनि मन्त्री यादवले घिमिरेमाथि लगाएका थिए ।

    भेट्न नआएको र चढ्न थोत्रो गाडी पठाएको भन्दै राज्यमन्त्री बेगमले सिडिओ कुटिन्
    २४ कात्तिक ०६६ मा तत्कालीन कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पर्साका तत्कालीन सिडिओ दुर्गाप्रसाद भण्डारीलाई हातपात गरिन् । जिल्ला भ्रमणमा जाँदा आफूलाई भेट्न नआएको र विमानस्थलमा थोत्रो गाडी पठाएको उनको आरोप थियो ।

    जिल्ला प्रशासन कार्यालयमै पुगेर बेगमले सिडिओ भण्डारीलाई चड्कन लगाएकी थिइन् । उनको झापडले भण्डारीको चस्मा फुटेर गालामा चोट लागेको थियो ।

    नियमविपरीत काम गर्न नमान्दा सुदूरपश्चिमकी उद्योगमन्त्रीले सचिवलाई ज्यान मार्ने धम्की दिइन्
    सुदूरपश्चिमकी तत्कालीन उद्योग, पर्यटन तथा वातावरणमन्त्री माया भट्टले  ज्यान मार्ने धम्की दिएको भन्दै सोही मन्त्रालयका सचिव डा. दीपककुमार खरालले सुरक्षाको माग गर्दै ९ चैत ०७६ मा मुख्यमन्त्री कार्यालयमा निवेदन दिए ।

    नियम मिचेर काम गराउन दबाब दिँदै कार्यकक्षमै बोलाएर ज्यान मार्ने धम्की दिएको दाबी खरालले निवेदनमा गरेका थिए । तर, मन्त्री भट्टले आफूमाथिको आरोप मनगढन्ते भएको दाबी गरेकी थिइन् । नयाँ पत्रिका

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend