पर्वत, २६ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको गोलो अरिङ्गालको भन्दा पनि भयानक भएकाले एमालेसँग नखेल्न चेतावनी दिएका छन् ।
नेकपा एमाले पर्वतको आयोजनामा सदरमुकाम कुश्मा बजारमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले केही वर्ष अगाडि आफूले गरेको भाषणमा जोडिएको अरिङ्गालको प्रसङ्ग जोड्दै आउँदो स्थानीय तहको निर्वाचनमा अरिङ्गालको गोलोको शक्ति र एमाले भनेको के हो ? भन्ने कुरा देखिने दाबी गरेका हुन ।
‘अरिङ्गालले त गोलो चलाउँदा त टोक्छ भने, एमालेको गोलो चलाउँदा के होला ? अब चुनावमा थाहा पाउँछन्, अरिङ्गाल भनेको के हो ? एमाले भनेको हो ?’ उनले भने, ‘एमाले साम्प्रदायिक पार्टी होइन, जातका कुरा गरेर भड्काउँदै हिँड्दैन । जनताको सेवा गर्ने ठाउँ स्थानीय तह भएका कारण स्थानीय तहमा एमालेको जीत हुनुपर्छ ।’ निहित स्वार्थका लागि पार्टी फुटाएकाहरूले पार्टीलाई सिद्ध्याउने प्रयास भइरहेको बेलामा कार्यकर्ताले नै जोगाएको भन्दै उनले एमालेमा समाहित हुन आम नागरिकलाई आह्वान पनि गरे ।
वर्तमान गठबन्धन सरकारमा रहेका पाँच भाइहरू बाँडिचुँडी खान जन्मिएको पनि एमाले अध्यक्ष ओलीले बताएका छन् । विकासका काम गरिरहेको सरकारलाई ढालेर मिलीजुली बाँडेर खाइरहेको आरोप पनि उनले लगाएक छन् । ‘यिनीहरूको काम भनेको जनताका अधिकार खोसेर आफन्तलाई पद दिनको लागि हो । गभर्नर आफ्नो नभएका कारण निलम्बन गर्छन्, आफ्ना भाइ, साढुभाई, आफन्तलाई पद दिएका छन्,’ उनले भने, ‘पाँच दलीय गठबन्धनका पाँच भाइहरू बाँडिचुँडी खान जन्मिएका हुन् । उनीहरूले बाँडेर खाएको त देखिएको छ ।’
आफन्तहरूलाई पद बाँड्नै लागि पार्टी फुटाएर गएकाहरू समेत मिलेर बनेको गठबन्धनका नेताहरू हात खप्टी खप्टी पानी समात्दै कसम खाए पनि एमाले भने डराउने अवस्थामा नरहेको अध्यक्ष ओलीको भनाई छ । एमालेलाई पराजित गर्न सक्ने कोही पनि नभएको र भत्काउन सक्ने क्षमता कसैमा नरहेको पनि उनले बताए ।
‘गठबन्धनका निर्णय सुनेर, सबैले हात खप्टी खप्टी पानी समाते, कसम खाए अरे भनेर आत्तिनु पर्दैन । जनताको लहर यसरी आएको छ की गठबन्धनको चौटाहरू वरपर छिरलिने छन्,’ उनले थपे, ‘पार्टीमा प्रवेश गर्नेहरूले बिहान बेलुका फुर्सद नै छैन । जहाँ गयो उहीँ टिको लगाउनेहरूको भीड छ । यो देखेर उनीहरूको सातो गएको छ ।’
आफू नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा प्रयोग गर्न गठबन्धनका नेताहरू डराएको पनि एमाले अध्यक्ष ओलीको भनाई छ। एमालेलाई जिताउन सबैले सङ्कल्प गरेको भन्दै उनले स्थानीय तहको निर्वाचनमा एमाले नै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरे । स्थानीय तह नै सिंहदरबार भएका कारण विकासको क्रम स्थानीय तहबाटै सुरु हुनुपर्ने ओलीको भनाई छ । गलत तरिका प्रयोग गरेर जनतालाई भुलाउने काम एमालेले नगर्ने भन्दै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माणको जिम्मा पनि एमालेकै भएको बताए ।