काठमाडौं, ३० चैत – २०७८ सालको अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ। उचारचढावमै बितेको साताको सेयर बजार अन्तत: वर्षको अन्तिम दिन बुधबार दोहोरो अंकले बढेर बन्द भयो।
परिसूचक दोहोरो अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा घट्यो। मंगलबार १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा सेयर किनबेच भएको सेयर बजारमा आज १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँमा सेयर खरिदबिक्री भयो।
कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ विन्दुमा पुगेर बन्द भयो। यसअघि मंगलबार नेप्से परिसूचक ३४.७८ अंकले घटेको थियो। नेप्से ओरालो लागेसँगै सो दिन कारोबार रकम डेढ अर्बमा खुम्चिएको थियो। सो दिन २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा किनबेच भयो। सेन्सेटिभ इण्डेक्स ५.५२ प्रतिशतले घटेर ४४९.३६ विन्दुमा झरेको थियो।
सोमबार पनि सेयर बजार घट्ने क्रम जारी रह्यो। सो दिन ४४ अंकले घटेको सेयर बजारमा कारोबार रकममा भने वृद्धि भएको थियो। सोमबार २ अर्ब २६ करोड माथिको सेयर कारोबार भएको थियो। यस्तै, यसदिन सेन्सेटिभ इन्डेक्स पनि ८.८७ अंकले घटेर ४५४.८७ विन्दुमा बन्द भयो। अन्य समूहको सर्वाधिक ४.६२ प्रतिशतले सूचक घट्यो। मंगलबार कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहको सूचक घट्यो।
सोमबार भने १३ वटै समूहको सूचक ओरालो लागेको थियो। सो दिन अन्य समूहको सर्वाधिक ४.६२ प्रतिशतले सेयर मूल्य घटेको थियो। साताको पहिलो कारोबार दिन आइतबार सार्वजनिक विदा परेकाले कारोबार भएन। आज २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ कित्ता सेयर २८ हजार ९४५ पटकमा कारोबार भयो।
कारोबारमा आएका सबै समूहको सूचक उकालो लाग्यो। अन्य समूहको सूचक सर्वाधिक २.२८ प्रतिशतले बढ्यो। लघु वित्त समूहको २.१४ प्रतिशतले बढ्दा बैंकिङ,होटल तथा पर्यटन,विकास बैंक,निर्जीवन विमा,मनु एन्ड प्रो,समूहको १ प्रतिशत बढीले सूचक उकालो लाग्यो।
यस्तै, आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। मंगलबार पनि नेष्डो समृद्धि लघुवित्तीय वित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। बुधबार आरएमडीसी लघुवित्तको सेयर मूल्य ८.९८ प्रतिशतले बढेको छ। यसदिन युनाइटेड इदी मार्दी आरबीका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य २.०८ प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्र स्थानमा रहयो । सो कम्पनीको ८ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। अरुण भ्याली हाइड्रोले ५ करोड २१ लाख रुपैयाँको सेयर कारोबार गरी दोस्रो स्थानमा रहयो।