पर्वत, १ बैशाख – ‘एक गाग्री पानीका लागि रातको २ बजेदेखि लाइन बस्नुपर्थ्यो । त्यो दिन सम्झिँदा अहिले पनि आँसु झर्छ,’ कुस्मा नगरपालिका-१४ आर्थरका चन्द्रसूर्य गुरुङले भने, ‘अहिले त घरघरै धारा आएर निकै सहज भएको छ ।’
नगरपालिकाभित्रको वडा भएर पनि पुस्तौंदेखि खानेपानीकै लागि सास्ती भोग्दै आएको गाउँका ९६ घरमा कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसनले घरघरै खानेपानीका धारा पुर्याइदिएको हो ।
कादुरीले खानेपानीको समस्या पुस्तौंदेखि भोग्दै आएका परिवारलाई एक घर एक धारा खानेपानी आयोजना मात्रै नभएर स्थानीय पञ्चकोसी माध्यमिक विद्यालयमा चौबीसै घण्टा खस्ने पानीका चारवटा धारा, शौचालय तथा गुरुङ समुदायको समाजघरका लागि छुट्टै चार कोठे शौचालयसमेत निर्माण गरिदिएको छ । घरघरै धारा, विद्यालयमा खानेपानी र शौचालयसमेत गरी कादुरीले डेढ करोड रुपैयाँका पूर्वाधार बनाएको हो ।
घरघरै चौबीसै घण्टा आउने पानीका धारा भएपछि अब रातभर ढुक्कले सुत्न पाइने स्थानीय विष्णुकुमारी गुरुङले बताइन् । पञ्चासे आमा समूहकी अध्यक्षसमेत रहेकी गुरुङले विगतको दुःख सम्झिँदै भनिन्, ‘हामीले अब प्यास मेट्नकै लागि सास्ती भोग्नुपर्ने छैन । हाम्रा लागि भगवान् प्रकट हुनुभयो । योभन्दा ठूलो खुसी केही हुन सक्दैन ।’
आर्थरडाँडाखर्क समाजघर निर्माण समितिका अध्यक्ष ओमकार गुरुङले पानीकै लागि कष्ट सहेर जीविकोपार्जन गर्ने युगको अन्त्य भएकोमा खुसी भए ।
मंगलबार गाउँमा आयोजित योजना हस्तान्तरण कार्यक्रममा गाउँलेका हर्षका आँसु छचल्किए । सधैंजसो राजनीतिक दलका नेताले चुनावका बेला खोक्रा आश्वासन मात्रै दिएर काम नगर्ने प्रवृत्तिविरुद्ध कादुरीले कुनै प्रचारप्रसार र हल्लाबिना डेढ करोडका पूर्वाधार बनाइदिएकोमा गाउँले खुसी भएका हुन् । खुसियालीमा उनीहरू पञ्चेबाजामा नाचे, हर्षका आँसु टिल्पिल्याए, अतिथिलाई भाङ्ग्रा, भादगाउँले टोपी र खुकुरीसमेत उपहार दिए ।
डाँडाखर्कको ठाँडस्वाँरा-डाँडस्वाँरा खानेपानी आयोजनाका लागि कादुरीले गाउँदेखि ९ किलोमिटर दूरीका चारवटा मूलको पानी संकलन गरेर ल्याएको हो । पानी फिल्टर गर्ने ट्यांकी, इन्ट्रप्सन ट्यांकी, डिस्ट्रिब्युसन ट्यांकी र रिजर्भवेयर ट्यांकी निर्माण गरेको छ ।
त्यसबाहेक विद्यालयमा फोहोर जलाउन प्रयोग गरिने इन्सिनरेटरसमेत निर्माण गर्नका लागि कादुरीले एक करोड ४४ लाख २४ हजार पाँच सय २४ रुपैयाँ ८७ पैसा लगानी गरेको कादुरीका प्राविधिक प्रमुख डा. नारायण गुरुङले बताए । कादुरीका निर्देशक बेलायती नागरिक पूर्वबेलायती सैनिकका कर्णेल एन्ड्र्यु मिल्सले कादुरीले कुनै हल्ला नगरी काम गर्ने बताए । उनले भने, ‘कादुरी पनि खुसी साट्न चाहन्छ । धेरै बोल्दैनौं, काम गर्छौं ।’ कादुरीले नेपालमा बर्सेनि १ अर्ब बराबरका परियोजना निर्माण गर्दै आएको उनले बताए ।
कक्षा १२ सम्म पढाइ हुने पञ्चकोसी माविमा पानी अभावले विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको थियो । यही समस्या देखेर कादुरीले विद्यालयका लागि मात्रै १० हजार लिटरको पानी संकलन ट्यांकी र धारा बनाइदिएको व्यवस्थापन समितिका अध्यक्ष रुद्रमोहन रिमालले बताए ।