१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026
पृथ्वीसुब्बा र खगराजको आ-आफ्नै दाऊ

पोखराको मेयर छान्न एमालेमा आज मतदान हुँदै


जनमञ्च संवाददाता
  • २ बैशाख २०७९ , शुक्रबार

  • पोखराको मेयर छान्न एमालेमा आज मतदान हुँदै

    पोखरा, २ बैशाख – सहमति नजुटेपछि एमालेले पोखरा महानगरपालिकाको मेयरको  उम्मेदवार सिफारिस गर्न चुनाव गराउने भएको छ। एमाले निर्वाचन कमिटीले बिहीबार सूचना जारी गर्दै निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो। चुनावी प्रक्रिया शुक्रबार १२ बजेदेखि सुरु हुनेछ।

    एमाले महानगर कमिटीका पदाधिकारी र सदस्य गरि ११० जना मतदानमा सरिक हुनेछन्। उनीहरुले मेयर र उपमेयरका आकांक्षीमध्ये एक महिलासहित ३ जनालाई रोज्नेछन्। बहुमत प्राप्त गर्ने ३ जनाको सिफारिस गर्ने  एमाले जिल्ला कमिटी सदस्य झपट रानाभाटले जानकारी दिए।

    एमालेको तर्फबाट पोखरा महानगर मेयरको लागि १२ र उपमेयरको लागि ११ जनाले प्रतिस्पर्धा गर्नेछन्। मेयरको लागि प्रदेश सांसद कृष्ण थापा र राजीव पहारी पनि मैदानमा छन्।

    प्राडा विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन्।

    त्यस्तै, उपप्रमुखमा शुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री छन्।

    एमाले स्रोतका अनुसार कास्कीमा शुक्रबार हुने चुनाव उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज आचार्यबीचको जुँगाको लडाइँ हो। पृथ्वीसुब्बा जसरी पनि पोखरा महानगरको मेयरमा आफू निकट व्यक्ति ल्याउन चाहन्छन्।

    महिलातर्फबाट मेयरको उम्मेदवार बनेकी मिना गुरुङ उनकी सम्धिनी हुन्। महिलाको तर्फबाट मेयरमा २ जनामात्रै प्रतिस्पर्धामा छन्। यसको मतलव ३ जनाको नाम सिफारिस गर्दा ३ मध्ये मिना आउने सम्भावना बढेको छ। सावित्री जिल्ला समन्वय समितिकी उपाध्यक्ष तथा खगराज निकट नेताको रुपमा चिनिन्छिन्।

    उता, पुरुषमा कृष्ण थापा, दीलिप न्यौपान र वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा खगराजसँग निकट भएर काम गरिरहेका छन्। बाँकी सबै पृथ्वीसुब्बा निकट हुन्। तीमध्ये रुपाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारी भने सोझै पार्टी अध्यक्ष केपी ओली र उपाध्यक्ष विष्णु पौडेल निकट नेताको रुपमा चिनिन्छन्।

    ‘आन्तरिक चुनाव हुँदा पुष्पले जित्ने सम्भावना कम छ। तर यहाँबाट नाम सिफारिस हुने हो भने मेयरको टिकट उनले नै पाउन सक्ने पनि देखियो’,एमाले स्रोतले भन्यो,‘ त्यही सम्भावना बुझेर नै यहाँ सहमतिमा नाम पठाउन नेताहरु डराए, पृथ्वीसुब्बाले पनि बरु चुनाव नै गराएर आफ्ना मान्छे नै सिफारिस गर्ने निर्णय गरे।’

    यतिबेला पृथ्वीसुब्बाको प्यानलबाट हाइड्रो व्यवसायी पुष्पज्योति ढुंगाना बलियो उम्मेदवारको रुपमा अगाडि आइपुगेका छन्। उनलाई पार्टी सचिव पद्मा अर्यालको दह्रो समर्थन छ।

    पृथ्वीसुब्बा र पद्माको प्यानलबाट ढुंगाना, मिना गुरुङ र भीम कार्की तथा उपमेयरमा हरिमाया गुरुङलाई अगाडि सारिएको छ। मिना पहिलो नम्बरमा आए उपमेयरमा नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी अध्यक्ष संजिवबहादुर कोइरालाको सम्भावना पनि उस्तै रहेको स्रोतले बतायो।

    ‘चुनाव हुने भएपछि अब कृष्ण थापामाथि घेराबन्दी सुरु भएको छ’,स्रोतले भन्यो, ‘तर पनि कृष्ण थापाले ८० मत ल्याउनुहुन्छ। उहाँ एक नम्बरमा सिफारिस हुनुहुन्छ।’

    खगराजको समूहबाट कृष्ण थापा, दर्शन लामा र सावित्री भण्डारी मेयरमा र उपमेयरमा देवका पहारी, शुष्मा पौडेल र वैनबहादुर क्षेत्री मैदानमा छन्।

    एमाले  पोखरा महानगरमा बलियो छ। अघिल्लो चुनाव प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजय प्राप्त गरेको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend