पोखरा, २ बैशाख – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म पोखरा गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रीपरिषद्ले निर्णय गरेको हो । ‘मन्त्रिपरिषद्ले मिति तय गरेको छ अब बाँकी काम अघि बढ्नेछ,’ मन्त्री गहतराजले भने, ‘राष्ट्रिय खेलकुद चीनको हान्झाउमा हुने एसियाली खेलकुदको अन्तिम छनोटका रुपमा रहनेछ ।’
एसियाली खेलकुद २०७९ भदौ २५ गतेदेखि असोज ९ गते सम्मका लागि तय भएको छ । ‘एसियाडको तयारी त हामीले प्रारम्भिक रुपमा सुरु गरिरहेका छौं । राष्ट्रिय खेलकुदबाट अन्तिम छनोट हुनेछ,’ उनले भने ।
केन्द्रीय मन्त्रिपरिषद्ले नवौं राष्ट्रिय खेलकुदको मिति तय गरे पनि यो निर्णयबाट गण्डकी प्रदेशभने सन्तुष्टि देखिएको छैन । बैशाख मसान्तमा स्थानीय तहको निर्वाचन समेत भएकाले जेठमा हुने प्रतियोगितालाई प्रभाव पार्ने गण्डकी प्रदेशले जनाएको छ ।
गण्डकी प्रदेशमा पुर्वाधार तयार रहेपनि जेठमा नवौ. प्रतियोगिता गराउने उचित नभएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले बताउँछन् । । उनले स्थानीय तहको निर्वाचनले प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताए । उनले अहिले नै मिति तय हुँदा सार्वजानिक खरिद ऐन अन्तरगत ३५ दिने सूचना निकालेर टेन्डर आह्वान गरी सामान खरिद गर्नुपर्ने भएपनि त्यसलाई समेत समय अभाव हुँदा अनियमितता नचाहेर पनि हुनेमा दुई मत नरहेको सुनाए ।
‘हामी पूर्वाधारको हिसाबले त पूर्ण रुपमा तयार छौं । तर, यो समय खेलकुदका लागि उचित छैन,’ गुरुङ भन्छन्, ‘प्रतियोगिताका लागि हामीलाई अहिलेसम्म कुनै पत्र आएको छैन । तर पनि हामीले मन्त्री परिषद्को बैठकले निर्णय ग¥यो भन्ने सुन्यौं । अहिले गर्दा नचाहेर पनि अनियमितता हुन्छ ।’
सदस्य सचिव गुरुङले प्रतियोगिता भदौ अन्तिममा गर्नु उचित समय रहेको सुनाए । भदौ अन्तिममा गर्दा बजेट समेत विनियोजन हुने हुँदा सातै प्रदेशले आफ्नो टिम तयारी गरेर आवश्यक बजेट विनियोजन गर्न सक्ने बताए । उनले संघीय खेलकुद मन्त्रालयले प्रदेशमा रहेका खेलकुद परिषद्सँग कुनै छलफल नै नगरेको बताए । ‘बैशाखमा स्थानीय तहको निर्वाचन हुँदै छ । अर्कोतर्फ प्रदेशसँग बजेट पनि छैन । अब आर्थिक वर्षको बजेट आएपछि बल्ल प्रतियोगिता गर्दा राम्रो हुन्छ,’ उनले भने ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले नवौं खेलकुदमा ३५ खेल हुने र सुटिङ बाहेक सबै खेल पोखरामा गराउन सकिने बताए । उनले पौडीलाई यहाँ रहेको स्विमिङ पुलमा गराउन मिल्ने बताए ।
आठौं राष्ट्रिय खेलकुद लुम्बिनीमा २०७५÷७६ मा भएको थियो । कारोना महामारीका कारण यो वर्ष नवौं राष्ट्रिय खेलकुद पटकपटक सर्दै आएको थियो । हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद आयोजना भएको थियो । तर, डेढ दशकसम्म पनि राष्ट्रिय खेलकुद रोकिएको इतिहास छ ।