१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

७४ वर्षमा नौ पटक भएको स्थानीय निर्वाचन


जनमञ्च संवाददाता
  • २ बैशाख २०७९ , शुक्रबार

  • ७४ वर्षमा नौ पटक भएको स्थानीय निर्वाचन

    काठमाडौं, २ बैशाख – मुलुकमा गणतन्त्र स्थापना भएपछि दोस्रोपटक स्थानीय तहको चुनाव हुँदैछ । तर नेपालमा स्थानीय चुनावको इतिहास ७४ वर्ष पुरानो छ ।

    नेपालमा पहिलोपटक २००४ सालमा संविधान जारी भएपछि गाउँ तथा नगर पञ्चायतको चुनाव भएको थियो । त्यसको सात वर्षपछि अर्थात् २०१० सालमा दोस्रोपटक र २०१४ सालमा तेस्रोपटक स्थानीय निकायको चुनाव भएको थियो । २०१४ सालमा गाउँ पञ्चायतको चुनाव भएको थियो भने नगर पञ्चायतको चुनाव २०१८ सालमा भएको थियो ।

    २०१० सालको चुनावमा काठमाडौं-८ बाट साधना प्रधान जनप्रतिनिधि चुनिएकी थिइन् । उनी नै नेपालको पहिलो निर्वाचित महिला जनप्रतिनिधि हुन् ।

    निर्वाचन आयोगका अनुसार नगरपञ्चायत निर्वाचन २०१९ साल जेठदेखि विभिन्न मितिमा, जिल्लासभा र जिल्ला पञ्चायत निर्वाचन २०१९ सालदेखि विभिन्न मितिमा, अञ्चालसभा र अञ्चल पञ्चायत निर्वाचन २०२० सालदेखि विभिन्न मितिमा सम्पन्न भएका थिए ।

    २०३९ साल वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गाउँ पञ्चायत तथा नगर पञ्चायत, २०३९ साल असार २ गते जिल्ला पञ्चायत, २०४३ साल चैत ७ र १० गते गाउँ पञ्चायत तथा नगरपञ्चायत एवं २०४४ साल वैशाख २६ गते जिल्ला पञ्चायतको निर्वाचन भएको इतिहास छ ।

    मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछि स्थानीय निकायको निर्वाचनकारूपमा २०४९ जेठ १५ र १८ गते गाउँविकास समिति तथा नगरपालिका निर्वाचन, २०४९ असार १३ गते जिल्ला विकास समिति निर्वाचन, २०५४ जेठ ४ र १३ गते गाउँपालिका र नगरपालिका निर्वाचन तथा २०५४ असार २७ गते जिल्ला विकास समितिको निर्वाचन भएको थियो । २०६२ माघ २६ गते पनि नगरपालिका निर्वाचन भयो । जुन समय राजाको प्रत्यक्ष शासन थियो ।

    देशमा संविधानसभाबाट संविधान बनेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । २०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा भएको थियो ।

    सिंहदरबारको अधिकार स्थानीय सरकारमार्फत जनताकै घरदैलोमा पुर्याउने उद्देश्यसहित भएको निर्वाचनमा ५७ राजनीतिक दलले भाग लिएका थिए जसमध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रह्यो ।

    स्थानीय तहको निर्वाचनमा २३३ स्वतन्त्रसहित ३५ हजार ४१ जनप्रतिनिधिको निर्वाचित भएका थिए । त्यस निर्वाचनका लागि एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता कायम भएकामा एक करोड चार लाख ८९ हजार २०४ ले मतदान गरेका थिए । ७४ दशमलव ५३ प्रतिशत मतदान भएको आयोगकोको तथ्यांकमा उल्लेख छ ।

    २०७४ को निर्वाचनमा राजनीतिक दलबाट ८३ हजार ८३६ पुरुष, ५६ हजार ४२७ महिला, २ तेस्रो लिङ्गी तथा स्वतन्त्रतर्फ ६ हजार ६८२ पुरुष, एक हजार ४१५ महिलासहित एक लाख ४८ हजार ३६४ उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचन आयोगले उल्लेख गरेको छ ।

    उक्त स्थानीय तह निर्वाचनमा सबैभन्दा सानो १८ लहर र सबैभन्दा ठूलो ६८ लहरको मतपत्र कायम गरिएको थियो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कूल एक करोड ९४ लाख थान मतपत्र छापिने भएको छ ।

    आयोगले ०७४को स्थानीय तह निर्वाचनका लागि १७ स्थानीय भाषामा निर्वाचन सूचना सामग्री बनाइएको थियो । मुलकमा हाल छ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तह र छ हजार ७४३ वडा कायम रहेका छन् ।

    आसन्न निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । आयोगका अनुसार कुल मतदातामध्ये पुरुष ८९ लाख ९२ हजार १०, महिला ८७ लाख ४१ हजार ५३० र अन्य १८३ जना छन् ।

    यो निर्वाचानमा २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको निवाचन आयोले जनाएको छ । जसमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने छ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंका हुने बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend