८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
कमजोर पटकथाकै निरन्तरता

फिल्म समीक्षा: ए मेरो हजुर ४


रीना मोक्तान
  • २ बैशाख २०७९ , शुक्रबार

  • फिल्म समीक्षा: ए मेरो हजुर ४

    कमजोर पटकथा नेपाली फिल्मको प्रमुख समस्या नै हो । जति नै राम्रो कथा भए पनि यदि पटकथामा त्यसको खाका बलियो कोरिएन भने पर्दामा कथाको मर्म हराइसकेको हुन्छ । सम्पादनमा जति नै प्रयास गरे पनि आखिरमा फिल्मको कथा त भत्किसकेको हुन्छ । त्यसैले त फिल्मको मेरुदण्ड मानिने पटकथा लेखनमा धेरै समय खर्चन्छन् फिल्मकर्मीहरु ।

    तर, नेपालमा पटकथामा भन्दा सुन्दर दृश्यमा फिल्म खिच्न धेरै मिहेनत गरिएको देखिन्छ । नतिजा,पर्दामा हिमाल पहाडका सुन्दर दृश्य समेटिए पनि कथाको सौन्दर्य हराइसकेको हुन्छ । यस्तै फितलो लेखन, अपरिपक्व संवाद, क्लिसे दृश्य, पूरानै ढर्रामा दर्शक हसाउन प्रयोग गरिएको कमेडीको नतिजा बनेको छ फिल्म- ‘ए मेरो हजुर ४’।

    अभिनेत्री एवं निर्देशक झरना थापाले आफू अभिनित फिल्म ‘ए मेरो हजुर’को ब्रान्डलाई प्रयोग गर्दै यसअघि दुई संस्करण निर्देशन गरिसकिन् । दोस्रो संस्करणमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बनियाँको अभिनय थियो । तेस्रो संस्करणबाट भने अभिनेत्री थापाले आफ्नी छोरी सुहानालाई अनमोलको जोडी बनाउँदै डेब्यु गराइन् । चौथो संस्करणमा यही जोडी दोहोरिएका छन् । यसअघिका सबै संस्करण प्रेमकथामै आधारित थिए । चौथो संस्करणले पनि यही विधालाई पच्छ्याएको छ ।फिल्मको कथा नौलो होइन ।

    प्रेम धनाढ्य परिवारका एक्लो छोरा । ठूलो महलमा बस्छन् तर सामान्य क्याफेमा कफी बनाउने काम गर्छन् । एकजना मिल्ने साथी छन् । आर्या भने नेवार परिवारमा हुर्किएकी आधुनिक छोरी । बारमा बसेर ‘नेवारीकी छोरी हुँ’ भन्दै दनादन रक्सी पिउँछिन्, आवश्यक परे केटालाई झापड लगाउन पनि सक्छिन् । हराएको कुकुर टोनीमार्फत् यी दुई प्रेममा बाँधिदिन्छन् । दुईको प्रेममा आउने समस्या/अवरोध नै फिल्मको बाँकी कथा हो ।तर, कमजोर पटकथाकै कारण यो फिल्म झरनाको अन्य संस्करणभन्दा माथि उठ्न सकेको छैन ।

    फिल्मको पहिलो हाफ प्रेम र आर्याबीचको प्रेम स्थापना गर्नमै खर्च भएको छ । फिल्ममा घरपालुवा जनावर कुकुर (कोको)लाई पनि खुबै महत्वका साथ प्रवेश गराइएको छ ।उक्त कुकुरको भूमिका स्थापनामा पनि निकै दृश्य खर्चिएको छ । ‘कोको’ सँगको प्रेम र आर्याको सम्बन्ध पनि विश्वासिलो ढंगले निर्माण गरिएको छैन ।त्यसैले दर्शकलाई करिब आधा घण्टा कुकुरसँगको प्रेम र आर्याको दृश्य झेल्नै मुश्किल पर्छ । उनी दुईबीचको प्रेम सम्बन्ध निर्माणमै पनि लामो समय लगाइदिँदा कथाको केन्द्रीय द्वन्द्व पहिलो हाफसम्म प्रस्ट हुँदैन । कोकोका लागि यी दुई अदालतसम्मै पुगेको अनि अदालतमा भएको बहसको दृश्य निकै क्लिसे रुपमा प्रस्तुत गरिएको छ । कुकुरका लागि न्यायाधीश किरण केसीले गरेको निर्णय पत्यारिलो लाग्दैन ।

    फिल्ममा यस्ता थुप्रै अनावश्यक लाग्ने क्लिसे दृश्य प्रयोग भएका छन् । फिल्मकी प्रमुख पात्र आर्या नेवार समुदायकी हुन्छिन् । उनको परिवारले फिल्ममा नेपाल भाषा पनि बोलेको देखाइएको छ । तर फिल्ममा नेवारी पात्रहरुले बोल्ने नेवारी लवजमै लापरवाही देखिन्छ । संवादैपिच्छे बोल्ने ‘ट-ट’ले मात्र त नेवारी समुदायको प्रतिनिधित्व गर्दैन होला नि ! यद्यपी फिल्ममा आर्याका बुवा, दाजू र हजुरआमाले बोल्ने नेवारी लवजले कानलाई बिझाउँदैन । नेपाली प्रस्टै बोल्न सक्ने आर्याले प्रेमलाई भेट्ने दृश्यपिच्छे ‘छुजुला’ भनेको कुराले मात्रै उनी नेवारी समुदायकी रहिछिन् भन्ने कुरा कसरी पत्याइदिने ?

    फिल्ममा महिलाको चरित्र चित्रणमा उतिकै समस्या भेटिन्छ । फिल्मको एउटा दृश्यमा अभिनेत्री लुनिभा तुलाधर झाँक्रीको भूमिकामा देखिएकी छिन् ।पर्दामा छोटो भूमिका पाएकी उनलाई ठग्नकै लागि तन्त्रविद्यामा लागेको पात्रको रुपमा स्थापना गरिएको छ । आफ्नो सहकर्मीमाथि आक्रमण भएपछि उनी छोटो ‘स्कर्ट’मै प्रेमका साथीहरुमाथी जाइलागेको दृश्य ‘गरुड पुराण’मा म्याक्सी उठाउँदै दौडेको भन्दा फरक छैन । उक्त दृश्यमा उनको शरिरलाई जुन दृष्टिकोण(मेलगेज)मा खिचिएको छ, त्यसले महिला निर्देशकको उक्त हेराइप्रति पनि प्रश्न उठाउन सकिन्छ। जेलको एउटा दृश्यमा टोनीमाथि कुराकानी भइरहँदा यौनकर्मीहरुले गरेको कुराकानीलाई कमेडीकै रुपमा कसरी हेर्न सकिन्छ ?

    बलिउडमा पछिल्लो समय महिला निर्देशकले बनाएका महिला मुद्दाका फिल्महरु सकारात्मक चर्चाको विषय बनिरहँदा हामीकहाँ महिलाले बनाउने फिल्ममा महिलाकै चरित्र चित्रण स्टेरियोटाइप हुनु दुर्भाग्य नै हो । फिल्मकी प्रमुख पात्र आर्याले परिवारकै लागि आफ्नो प्रेममा विद्रोह गर्न नसक्ने पात्रको रुपमा उभ्याउनु यसको अर्को उदाहरण हो । लेखनका यी कमजोरीहरु छोप्नलाई अन्तमा फिल्मलाई ढाका विमान दुर्घटनासँ जोडिदिएको छ ।

    नेपालको विमान दुर्घटना ताजा घाउ बनेको यो विषयमा वियोगान्त कथा बनाउन थापाले गरेको प्रयासमा थप मिहेनत आवश्यक लाग्छ । फिल्ममा प्रयोग गरिएको ध्वनी, पार्श्व संगीत र पार्श्व ध्वनी भने सबल पक्षहरु हुन् । से-फोक्सुन्डोमा खिचिएको ‘फूलको थुंगा’बोलको गीतको दृश्य आँखालाई सितल बनाउने किसिमका छन् ।

    प्रेमको भूमिकामा अभिनेता अनमोल केसीको अभिनय औसत लाग्छ । यही अभिनयले उनलाई आफ्नो स्टारडम जोगाउन हम्मेहम्मे पर्ने पक्का छ । अभिनेत्री सुहाना थापाको अभिनयमा अनमोल फेरि छायाँमा परेका छन् । सुहानाले भने डेब्यु फिल्मको अभिनयलाई नै निरन्तरता दिएकी छन् । डेब्यु अभिनयभन्दा माथि उठ्न सकेकी छैनन् सुहाना पनि । अभिनेता सलोन र रिअर राईले भने तारिफलायक अभिनय गरेका छन् । आर्याको बुवाको भूमिकामा देखिएका रवि गिरीको अभिनय भने दर्शकको मन मस्तिस्कमा बस्ने किसिमको छ । नेपाली फिल्मलाई माया गर्नुपर्छ भन्ने भावना बोकेका दर्शकलाई मात्र यो फिल्मले २ घण्टा ३५ मिनेट बाँधेर राख्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend