नवलपुर, ३ बैशाख – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजावादीसँग मिलेको आरोप लगाएका छन्।
एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गर्ने सहमति गरेको छ। तर कमल थापाले राजतन्त्रको एजेन्डा छाडेको बताएका छन्।
माओवादी केन्द्र नवलपुरद्वारा दलदलेमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीको कडा आलोचना गरेका हुन्।
एमालेले राप्रपा नेपालसँग गरेको चुनावी तालमेललाई इंगित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘ओलीको असली रूप देखिहाल्नुभयो, राजावादीसँग मिलिसके। इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन्।’
अबको चुनावमा ओलीको हालत खराब हुने दाबी पनि प्रचण्डले गरे।
यसैबीच उनले महानगर र उपमहानगरमा आफ्नो पार्टीलाई फाइदा हुने गरी आइतबार सत्ता गठबन्धनको बैठकले निर्णय गर्ने दाबी गरेका छन्।
‘हामीले निर्णय गर्छौं ढुक्क हुनुस्, हामीलाई फाइदा हुने गरी भोलि नै केन्द्रमा गठबन्धनको निर्णय आउँछ’, उनले भने, ‘अरु तलतलका पालिकामा सबैलाई फाइदा हुन्छ। त्यसमा तपाइँहरु ढुक्क हुनुहोस्।’
स्थानीय तहको निर्वाचनमा मात्र नभएर यसपछि हुने प्रदेश र संघीय चुनावमा पनि सत्ता गठबन्धन मिलेर जाने दाबी गरे।