१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

विद्रोही गोविन्दराज जोशीसँग तनहुँमा एमालेको तालमेल


जनमञ्च संवाददाता
  • ४ बैशाख २०७९ , आइतबार

  • विद्रोही गोविन्दराज जोशीसँग तनहुँमा एमालेको तालमेल

    तनहुँ, ४ बैशाख – तनहुँ जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसका विद्रोही नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गरी आसन्न स्थानीय तहका निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।

    उक्त छलफलबाट नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि भएको छ । गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले व्यास नगरपालिकाको प्रमुखमा यसअघि नै उम्मेदवारी घोषण गरिसकेका छन् ।

    कांग्रेससँगै मिलेर निर्वाचनमा जाने भनिए पनि कांग्रेस तनहुँले कुनै पनि समन्वय नदेखाएपछि एमाले तनहुँसँग मिलेर निर्वाचनमा जाने निर्णय गरिएको पूर्वमन्त्री जोशीले बताए ।

    ‘कांग्रेससँगै मिलेर निर्वाचनमा जाने तयारी गरेका थियौं, तर उनीहरुले कुनै पनि समन्वय नगरी घरदैलो कार्यक्रम र उम्मेदवार छनोटमा लागे,’ उनले भने, ‘रामचन्द्र पौडेल समूहद्वारा हामीलाई समावेश गराउँदैनन् भन्ने थाहा पाएपछि एमालेसँग तालमेल गर्न पुगेका हौं ।’

    व्यासमा मात्रै नभई जिल्लाका १० वटै पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको जोशीले बताए । उनले भने, ‘अनुभव र क्षमताका आधारमा उम्मेदवार उठ्दा कसले जित्छ उसलाई अगाडि सार्ने भएका छौं । एमालेसँग प्रत्येक पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको छ ।’

    तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशी समूहबीच वर्षौंदेखि द्वन्द्व रहँदै आएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

    यस्तै, व्यासमा कांग्रेसको शक्ति बढी भएको र विगतमा पनि अन्य पार्टीसँग तालमेल गरेर नै निर्वाचनमा उठेको एमाले जिल्लाका सचिव राजेश्वर ढकालले बताए । उनले भने, ‘अहिलेको निर्वाचनमा जोशी समूह र एमाले तनहुँ मिलेर जाने सहमति भएको छ ।’ व्यास नगरपालिकामा पूर्वगृहमन्त्री जोशीका छोरालाई प्रमुख र एमालेबाट उपप्रमुखमा उम्मेदवारी दिइने सहमति भएको बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend