गोरखा, ४ बैशाख – नक्कली सुन देखाइ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका–१ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जितपुर सिमरा उपमहानगरपालिका-९ की ४४ वर्षीया जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका-१ का ४१ वर्षीय गान्दिपकुमार बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ८ तोला ६५ लाल सुनका गरगहना र नगद ३१ हजार रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (एसपी) केदार खनालले बताए । उनीहरु गोरखा नगरपालिका-६ स्थित घ्याम्पेसाल चोकबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुले सुनजस्तो देखिने धातु बाटोमा फालेर बार्गेनिङ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले गोरखामा पाँच जना सँग नक्कली सुन देखाइ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले गरगहना लगाएको महिलाहरुलाई विशेष टार्गेट बनाइ पिछा गर्ने गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।
‘गरगहना लगाएको सिधासाधा-मान्छेको पिछा गर्ने, सुनजस्तो टुक्रा खसाल्ने गर्दा रहेछन्, सुन टिपेपछि त्यही ग्रुपको अर्को व्यक्ति पुगेर सुन फेला परेछ कसैलाई नभन्नु भन्दै पीडितसँग बाडेर लिऔं भनेर बार्गेनिङ गर्दोरहेछन्,’ उनले थपे, ‘एकान्तमा लगेपछि पीडितलाई खसालेको सुन राख्नु भनेर प्रलोभन पार्ने र यसको साटो पीडितले लगाएको सुन वा नगद मागेर ठगी गर्ने गरेको पायौं ।’ आइतबार पक्राउ परेका तीन जनाविरुद्ध गोरखा अदालतमा ठगी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको उनले बताए ।