८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

देशभित्रै उद्यमशील बनाउन म्यादी प्रहरीलाई परामर्श तालिम


जनमञ्च संवाददाता
  • ५ बैशाख २०७९ , सोमबार

  • देशभित्रै उद्यमशील बनाउन म्यादी प्रहरीलाई परामर्श तालिम

    काठमाडौ, ५ बैशाख – राष्ट्रिय युवा परिषद्ले निर्वाचनमा ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना भएका युवालाई त्यसपछि देशभित्रै उद्यमशील बनाउने अभियान थालेको छ । परिषद्ले म्यादीमा भर्ना भएर तालिम लिइरहेकालाई उद्यम परामर्श तालिम दिइरहेको छ ।

    कसरी उद्यमशील बन्ने, उद्यमशील बन्न आर्थिक व्यवस्थापन कसरी गर्ने र वित्तीय संस्थाबाट ऋण कसरी प्राप्त गर्न सकिन्छ भन्नेलगायत विषयमा परिषद्ले तालिम दिइरहेको छ । म्यादी प्रहरीको तालिम भइरहेको ठाउँमै पुगेर परामर्श दिने काम भइरहेको परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताए । चुनावी प्रयोजनका लागि म्यादी प्रहरीमा भर्ना भएकाहरू ४० दिनपछि घर फर्किनेछन् ।

    म्यादीको समय सकिएपछि विदेश जाने योजना बनाएकासमेत तालिमपछि देशभित्रै उद्यमशील बन्न उत्प्रेरित भएको शर्माले बताए । शुक्रबार र शनिबार विभिन्न ठाउँमा परामर्श तालिम सञ्चालन गर्दा सहभागीमा निकै सकारात्मक परिवर्तन आएको उनले बताए ।

    ‘म्यादी प्रहरीको समय सकिएपछि विदेश जाने योजना बनाएकामा विदेशमा पनि दुःख हुने र नेपालमै त्यत्तिको दुःख गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने भावनाको विकास भएको पाइयो,’ उनले भने । भक्तपुरबाट सुरु गरिएको परामर्श तालिम काठमाडौंलगायत अन्य जिल्लामा पनि विस्तार गरिने शर्माले बताए ।

    म्यादी प्रहरीका लागि उद्यमशीलता र वित्तीय साक्षरतालाई जोडेर परामर्श तालिम दिने गरिएको छ । ‘म्यादी प्रहरीमा काम गर्दा अलिकति रकम जम्मा गर्छन्, त्यसबाट उद्यम गर्न सक्ने गरी उद्यमशीलताका लागि कार्यक्रम सञ्चालन गरेका हौँ,’ शर्माले भने ।

    कार्यक्रममा सामान्य लगानी गरेर आम्दानी गरेकादेखि प्रतिष्ठितहरूका सफलताका उदाहरण दिएर उत्प्रेरित गर्ने गरिएको छ । तालिम प्राप्त गरेमा आरन सञ्चालन गरेर दैनिक १५ सय कमाउनेदेखि चियापसल सञ्चालन गर्दा पनि राम्रो आम्दानी गर्न सकिने उदाहरण दिइएको छ । यसअघि एकहप्ते उद्यमशीलता र वित्तीय साक्षरता तालिम स्थानीय पालिकाबाट लिन सक्ने व्यवस्था गरिएको छ ।

    पढेका युवासमेत म्यादीमा भर्ना

    म्यादी प्रहरीमा स्नातक उत्तीर्ण गरेकासम्म भर्ना भएका छन् । उनीहरूका लागि उद्यमशीलताको तालिम निकै उपयोगि हुने परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताए । नेपाल प्रहरीले आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गरी तालिम दिइरहेको छ । ४० दिन खटिने म्यादीले प्रहरी प्रहरी जवानबराबर सेवा-सुविधा पाउँछन् ।

    म्यादी प्रहरी भर्नामा एक लाख माग भएकोमा दुई लाख ९३ हजारले आवेदन दिएका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार आवेदकमध्ये ३२ हजार १२ जना १२ कक्षा र तीन सय ४१ जना स्नातक तह उत्तीर्ण गरेका छन् । एसइई उत्तीर्ण गरेका आवेदक ८३ हजार दुई सय ११ छन् । एक लाख ७७ हजार सात सय ५० जना भने एसइईभन्दा कम पढेका छन् ।

    म्यादीमा भर्नाका लागि साधारण लेखपढ गरेका व्यक्ति पनि योग्य ठहरिन्छन् । तर, छनोटमा पढाइलाई समेत आधार बनाइएको थियो । आवेदन दिनेमध्ये करिब ७० प्रतिशत ३० वर्षभन्दा कम उमेरका छन् ।

    सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेरका युवा छन् । यो उमेर समूहका एक लाख ३३ हजार चार सय ७६ तथा २० वर्षसम्मका ८३ हजार ६ सय २९ छन् । ३० देखि ४० वर्ष उमेरका ५४ हजार आठ सय ४७ र ४० देखि ५४ वर्षका २१ हजार तीन सय ६३ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दरखास्त दिनेमध्ये ६९ हजार ६ सय ८० महिला छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend