बागलुङ, ५ बैशाख – पुष्पलाल मध्यपहाडी लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्रेको काम गरिरहेको एक मेसिनमा आगलागी भएको छ । बिहुँ पोखरा खण्डमा कामका लागि प्रयोग भैरहेको ना १ क ३०४४ नम्वरको अलकात्र छर्ने मेसीनमा आइतबार बिहान आगलागी भएको हो ।
कालोपत्रेका लागि अलकत्र र तताईएको तेल निकाल्ने गेटवलको वासर फुटेर आगलागी भएको मेसिनका सहचालक टुप्पी नारायण तिमिल्सिनाले जानकारी दिए । मेसिनमा आगलागी भएपछि कालोपत्रेको काम रोकिएको छ ।
अमर माध्यामिक विद्यालय नजिकै कामकै शिलशिलमा रहेको मेसिनमा आगो लागेपछि मेसिन बस्तीदेखी टाढा पु¥याईएको थियो । चालकले जोखिम मोलेर गाउँ र विद्यालय बचाउनका लागि आगो लागेको मेसिन बस्तीदेखी टाढा पु¥याएको तिमिल्सिनाले बताए ।
स्थानीय सर्वसाधारण, धम्जा प्रहरी चौकीका सुरक्षाकर्मी र श्री मेहर गणका सेनानी आशिष देवकोटाको नेतृत्वमा रहेका सैनिक टोलीले आगो नियन्त्रणमा लिएको थियो । उक्त मेसिन पुर्णरुपमा क्षतिग्रस्त भई करोडौको क्षति भएको निर्माण व्यवसायीले बताए ।