९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

यसरी पन्छिए आचारसंहिता उल्लंघनमा सांसद कोइराला र सभामुख अधिकारी


जनमञ्च संवाददाता
  • ६ बैशाख २०७९ , मंगलबार

  • यसरी पन्छिए आचारसंहिता उल्लंघनमा सांसद कोइराला र सभामुख अधिकारी

    काठमाडौं, ६ बैशाख – निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै सोधेको स्पष्टीकरणमा राजनीतिक दलका नेताले टालटुले जवाफ दिएका छन् । आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका सामग्रीका आधारमा १० दिनयता माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपाका अलावा कांग्रेस नेता शशांक कोइराला र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको थियो । उनीहरूले गल्ती ढाकछोप गर्ने खालको जवाफ दिएको आयोग स्रोतले जनाएको छ ।

    कांग्रेस नेता कोइरालाले ०७४ को निर्वाचन जित्न आफूले ६ करोड रुपैयाँ खर्च गरेको अभिव्यक्ति दिएको भिडियो सञ्चारमाध्यममा प्रसारण भएपछि आयोगले स्पष्टीकरण सोधेको थियो । कोइरालाले २१ लाख ७५ हजार खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेस गरेका थिए ।

    आफ्नो अभिव्यक्तिलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालले फरक अर्थमा बुझेको भन्दै कोइरालाले आयोगलाई जवाफ दिएका छन् । ‘मैले राखेको दृष्टिकोण प्रतिनिधिसभाको सदस्य पदमा उम्मेदवार भएपछि निर्वाचन सम्पन्न नहुँदासम्मको अर्थात् निर्वाचन आचारसंहिता लागू हुने अवधिभित्र गरेको खर्चसँग सम्बन्धित नभई एउटा निर्वाचनबाट अर्को निर्वाचनसम्मको अवधिमा समग्र प्रणालीबाट हुने खर्चको विषय हो,’ उनले आयोगमा बुझाएको पत्रमा भनिएको छ, ‘निर्वाचन खर्चिलो बन्दै गएको भन्ने प्रश्न उठिरहेको पाइन्छ । पार्टीका शुभचिन्तक कार्यकर्ताले आफ्नो ढंगले गरेका खर्चसमेत निर्वाचनको विषयमा जोडिन जाने र त्यसलाई लिएर निर्वाचन खर्चिलो छ भन्ने प्रसंगमा व्यक्त गर्न चाहेको तथ्यलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालले फरक अर्थमा बुझेको स्पष्ट गर्न चाहन्छु ।’

    निर्वाचनमा आयोगले तोकेको सीमाभन्दा बढी खर्चको भएको बताएपछि गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले पत्र काटेको थियो । उनी पनि आफूले बोलेको भन्दा फरक ढंगले सञ्चारमाध्यमले लेखेको भन्दै पन्छिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेजमा राखिएको चुनावी प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तस्बिर राखिएपछि माओवादी र घिसिङलाई आयोगले स्पष्टीकरण सोधेको थियो ।

    माओवादी भने उक्त सामग्री पार्टीले तयार नगरेको भन्दै पन्छिएको छ । माओवादीको चुनाव चिह्नसमेत राखिएको पोस्टरमा माओवादी अध्यक्ष दाहाल, ऊर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको फोटो राखिएको थियो ।आयोगलाई दिएको जवाफमा माओवादीले सामग्री जनस्तरबाट तयार भएकाले घिसिङको सहमतिसमेत आवश्यक नभएको जनाएको छ ।

    ‘पोस्टर यस पार्टीका तर्फबाट निर्वाचन सामग्रीका रूपमा प्रचार गरेको नभई पार्टीका अध्यक्ष तथा प्रचण्डको सरकारमा रहेका ऊर्जामन्त्री जनार्दन शर्मा तथा विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बहाल रहेको अवस्थामा लोडसेडिङ अन्त्य भएकाले जनस्तरबाट तयार गरिएको पोस्टर सामाजिक सञ्जालमा प्रसारित हुन गएको हो,’ माओवादीले आयोगमा पठाएको पत्रमा भनिएको छ, ‘उक्त पोस्टर तत्काल फेसबुकबाट हटाइएको छ ।’

    माओवादीले आचारसंहिताविपरीत हुने गरी कुनै प्रचारप्रसार नगरेको दाबी गरेको छ । आयोगले घिसिङलाई समेत सहमतिमा फोटो राखेको हो वा होइन भन्दै सोधेको थियो । उनले आयोगमा जवाफ दिएका छैनन् ।

    एकीकृत समाजवादीले चैत २६ मा काठमाडौंको भृकुटीमण्डपमा गरेको कार्यक्रममा आचारसंहिता उल्लंघन हुने गरी पार्टीको झन्डा र बालबालिका प्रयोग गरेको भन्दै आयोगले चैत २८ मा पत्र काटेको थियो । एकीकृत समाजवादीले आचारसंहिता ऊल्लंघन हुने गरी कार्यक्रम नगरेको दाबी गरेको छ । ‘कार्यत्रम सम्बन्धित निकायको अनुमति लिई आचारसंहिताविपरीत नहुने गरी भएको हो । कार्यक्रममा बालबालिका प्रयोग भएको छैन,’ आयोगलाई पठाइएको पत्रमा भनिएको छ ।

    राप्रपाले पनि हेटौंडामा भएको कार्यक्रममा आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले पत्र काटेको थियो । राप्रपाले कार्यक्रमका सहभागीबारे जानकारी नभएको जवाफ दिएको छ । ‘सञ्चारमाध्यममा आएका आचारसंहिता उल्लंघनको घटना र उजुरीका आधारमा पत्र काटेपछि जवाफ आइरहेको छ,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘जवाफ र प्रमाणका आधारमा आयोगले निर्णय गर्नेछ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend