काठमाडौं, ६ बैशाख – पाँच दलीय सत्तागठबन्धनले ६ वटै महानगरपालिकाको प्रमुख र उपप्रमुख टुंगो लगाएको छ।
मंगलबार बसेको बैठकले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि उपप्रमुखको पनि टुंगो लागेको हो ।
सोमबार बसेको गठबन्धनसहितको शीर्ष नेताहरुको बैठकले भरतपुर माओवादी केन्द्रलाई, ललितपुर, काठमाडौं र विराटनगर कांग्रेसलाई र वीरगञ्ज महानगर जसपालाई दिने सहमति गरेको थियो।
पोखरामा कांग्रेस र एकीकृत समाजवादीको दाबी भएपनि अन्तिममा कांग्रेस उपप्रमुख लिएर पछि हटेको हो ।
मंगलबार बसेको शीर्ष नेतासहितको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति बैठकले ६ वटै महानगरपालिकाको उपप्रमुखको पनि टुंगो लगाएको छ।
सहमति अनुसार नेपाली कांग्रेसले बीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पाएको छ।
यस्तै, माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी)ले काठमाडौं र जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ ।