८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सुरेन्द्र नेपाल श्रेष्ठ लेख्छनः फूलैफूलको अप्रिल


सुरेन्द्र नेपाल श्रेष्ठ
  • ८ बैशाख २०७९ , बिहिबार

  • सुरेन्द्र नेपाल श्रेष्ठ लेख्छनः फूलैफूलको अप्रिल
    वसन्त याममा जापानको राजधानी टोक्यो।

    अप्रिललाई उत्तरी गोलार्धमा वसन्त ऋतुको दोस्रो महीनाका रूपमा लिइन्छ भने दक्षिणी गोलार्धमा शरद ऋतुको दोस्रो महीना। जता जे जसरी व्याख्या गरे पनि यो फूलैफूलको महीना हो।

    अहिले विश्वमा विभिन्न आधार (विशेषतः धार्मिक) मा तयार पारिएका करीब ४० प्रकारका पात्रो प्रयोगमा रहेका छन्। नेपाल, इथियोपिया, अफगानिस्तान, भारत, बाङ्लादेश, इजरायल, जापान, दक्षिण कोरिया, ताइवान, थाइल्यान्ड लगायत थोरै देशसँग मात्र आफ्नै पात्रो छ। अहिले सबैभन्दा बढी प्रयोगमा आउने ग्रेगोरियन पात्रो तत्कालीन पोप ग्रेगोरी तेह्रौंको नाममा बनाइएको थियो।

    २४ फेब्रुअरी १५८२ मा जुलियन पात्रोलाई विस्थापित गरेर आएको यो पात्रोको वार्षिक हिसाब मिलाउन त्यस वर्षको अक्टोबर ४ बाट एकैपटक १५ तारिख बनाइएको थियो। जुलियन क्यालेन्डरअघि प्रयोगमा रहेको रोमन क्यालेन्डर अनुसार एक वर्षमा दश महीना मात्रै थियो।

    मार्च महीनाबाट शुरू हुने नयाँ वर्ष डिसेम्बरमा अन्त्य हुन्थ्यो। जाडो मौसमको दुई महीना गणना गरिंदैनथ्यो। रोमका दोस्रो राजा नुमा पोम्पिलियासले इसापूर्व ७३८ तिर जनवरी र फेब्रुअरी थप गरेपछि १२ महीनाको एक वर्ष भएको थियो।

    अप्रिललाई उत्तरी गोलार्धमा वसन्त ऋतुको दोस्रो महीनाका रूपमा लिइन्छ भने दक्षिणी गोलार्धमा शरद ऋतुको दोस्रो महीना। महीनाका हिसाबले दक्षिणी गोलार्धमा अप्रिललाई अक्टोबरसँग तुलना गरिन्छ। यो वर्षको चौथो महीना हो भने ३० दिनको एक महीना हुने वर्षको पहिलो महीना। वर्षभरिमा चार महीना मात्र ३० दिनका हुन्छन्।

    यो महीनाको नाम सम्भवतः ग्रीकहरूले प्रेम, सुन्दरता र प्रजननकी देवी मान्ने आफ्रोडाइटबाट लिइएको मानिन्छ। इटली नजिकैको पुरानो सभ्यता इट्रुस्क्यानमा यिनै देवीलाई आप्रो भनिन्थ्यो। रोमनहरूले सोही सभ्यताका कतिपय प्रचलन पछ्याउँदै आएकाले उनीहरू अप्रिल महीनामा तिनै देवीको सम्झनामा उत्सव मनाउँछन्।

    केही इतिहासविद् यो महीनाको नाम ल्याटिन शब्द अप्रिलिस (अपेरियर वा अप्रिकस) बाट आएको हुन सक्ने बताउँछन्। यसको अर्थ हुन्छ, घमाइलो। यो महीनाबाट घाम लाग्न थाल्ने र रूखबिरुवाका मुना फक्रिने भएकाले यस्तो नामकरण सान्दर्भिक पनि छ।

    परम्परा अनुसार अप्रिल महीनाको शुभ रत्न हिरा मानिन्छ। यो महीनाको १९ तारिखसम्म जन्मनेलाई मेष र त्यसपछि जन्मनेलाई वृष राशि मानिन्छ। यो महीनामा फुल्ने फूलहरूले पूरा वातावरण रमणीय पारेर सबैको मन हर्षित बनाइदिन्छन्।

    अप्रिल महीना भन्ने बित्तिकै पहिलो दिन ‘अप्रिल फुल’ लाई संसारभर विभिन्न ढङ्गले तर समान उद्देश्यले मनाउने गरिन्छ। मनोरञ्जनका लागि कसैलाई झुक्याएर दुःख दिनु नै अप्रिल फुलको मुख्य विशेषता हो। कसैले गरेको मजाकलाई अरू कसैले नबुझीकन सत्य ठान्यो भने मजाक गर्ने मान्छेलाई सफल ठानिन्छ। त्यसै गरी मजाकमा फस्ने मानिसलाई मूर्ख वा माछा ठान्ने परम्परा छ।

    यो परम्परा कहिलेदेखि शुरू भयो, कुनै ठोस प्रमाण छैन। यसबारे अमेरिकी साहित्यकार मार्क ट्वेनको बुझाइ अर्थपूर्ण छ। उनी भन्छन्, ‘अप्रिल महीनाको पहिलो दिन बाँकी ३६४ दिनका भोगाइ सम्झने र व्यक्त गर्ने दिन हो।’

    अस्ट्रेलियाको भिक्टोरियाको रेडक्लिफको शहरस्थित ‘ज्याकारान्डा स्ट्रिट’।

    अहिले युद्धको चपेटामा परेको युक्रेनको तेस्रो ठूलो शहर ओडेसामा त अप्रिल १ मा सार्वजनिक बिदा नै हुन्छ। यो परम्परा सन् १९७३ देखि चलेको हो। संयोग नै मान्नुपर्छ, भौगोलिक रूपमा निकै टाढा पर्ने तर उस्तै सुनिने भारतको ओडिसा राज्यले पनि यही दिन आफ्नो स्थापना दिवस मनाउँछ। यसलाई ‘उतकला’ दिवस पनि भनिन्छ। सन् १९३६ अप्रिल १ मा बिहार र ओडिसाको केही भूभाग मिलाएर नयाँ राज्य घोषणा गरिएकोमा उक्त दिन विशेष महोत्सव मनाउने चलन बसेको हो।

    पहिला यो राज्यको नाम अंग्रेजी उच्चारणबाट ओरिसा राखिएकोमा सन् २०११ देखि ओडिसा बनाइएको हो। यो राज्य जनसङ्ख्याका आधारमा भारतको एघारौं र भूभागका आधारमा आठौं ठूलो हो। जहाँ चार करोडभन्दा बढी मानिस बसोबास गर्छन्।

    यही महीना केही देशले आफ्नो स्वतन्त्रता दिवस मनाउँछन्। सेनेगलले ४ तारिख, जर्जियाले ९, सिरियाले १७, जिम्बावेले १८, आयरल्यान्डले २४ तथा टोगो, सेरालियोन, दक्षिण अफ्रिकाले २७ र इजरायलले २९ तारिखमा मनाउँदै आएका छन्। नेपालले पनि अप्रिल २४ मा लोकतन्त्र दिवस मनाउँछ।

    नेपालमा वैशाख १ गते नयाँ वर्ष मनाइन्छ। यो अप्रिल महीनाको १४-१५ तारिखतिर पर्छ। यही हाराहारीमा भारतका विभिन्न प्रान्त, श्रीलंका, कम्बोडिया, थाइल्यान्ड, लाओसका साथै बर्मिज, बंगाली, तमिलहरूले पनि नयाँ वर्ष मनाउँछन्।

    मलाई पनि बेलायत आएपछि यहाँ धूमधाम मनाइने वैशाखीबारे थाहा भयो। शिखहरूका गुरु गोविन्द सिंहले सन् १६९९ देखि खाल्सा शुरू गरेसँगै वैशाखी मनाउन थालिएको हो। यसलाई पन्‍जाबी नयाँ वर्ष पनि भनिन्छ।

    यसपालिको अप्रिल विश्वका तीन महत्त्वपूर्ण धर्मावलम्बीको विशेष महीना बनेको छ। वसन्त ऋतुको आगमनपछि पर्ने पूर्ण चन्द्रमालाई आधार मानी मनाइने क्रिस्चियन, यहुदी र मुस्लिमहरूको क्रमशः इस्टर अप्रिल १७, पासओभर १५ देखि २३ र रमादान २ देखि ३० तारिखसम्म परेका छन्।

    हिन्दू धर्ममा विभिन्न अवसरमा फरक फरक भगवान्‌का नाममा वर्षैभरि लामो-छोटो व्रत बस्ने चलन छ। धार्मिक माध्यमबाट मानिसको शरीरलाई स्वच्छ र पवित्र राख्न यस्तो प्रथा चलेको हुनुपर्छ। अहिले संसारकै समस्या मानिएको मोटोपन कम गर्न आहारविहारको प्रयोजनमा धेरैले अतिरिक्त रकम र समय छुट्याउने गरेको पाइन्छ। बुद्ध धर्म अनुसार दिनको एक पटक मात्र मुख्य भोजन गर्ने परम्परा पनि यसैसँग सम्बन्धित हुन सक्छ।

    इसाईहरूको महत्त्वपूर्ण चाड हो इस्टर। जिससलाई क्रसमा चढाइएको तीन दिनपछि उनले पुनर्जीवन प्राप्त गरेको मानिन्छ। त्यसैको प्रतीकस्वरूप उक्त दिन अण्डाबाट चल्ला कोरलेको देखाइन्छ। यो अवधिमा बजारमा सबैतिर ‘इस्टर एग’ पाइन्छ। घरमा इस्टर एग लुकाएर पत्ता लगाउने चलन पनि छ। यो पर्व मनाउने तयारीस्वरूप ४० दिनसम्म शरीरलाई स्वस्थ र पवित्र राख्ने प्रक्रियालाई ‘लेन्ट’ भनिन्छ। हुन त यो अवधि ४६ दिनको हुन्छ तर त्यसबीचको आइतबार गणना नगरिने हुँदा ४० दिन मात्र मानिन्छ।

    यो अवधिभर कसै कसैले एक छाक खाने, माछामासु नखाने, अनावश्यक सामान नकिन्ने प्रचलन छ। युवायुवतीले पनि चकलेट, क्रिप्स, चिया, कफी जस्ता अनावश्यक वस्तु यो अवधिमा सकेसम्म प्रयोग गर्दैनन्। यो प्रथालाई बाइबलमा शैतानहरूले जिससलाई दुःख दिन मरुभूमिमा भोकै ४० दिन कटाउन बाध्य बनाएको पौराणिक प्रसङ्गसँग जोडिएको छ।

    काठमाडाैंकाे रत्नपार्कमा फूलेको ज्याकारान्डा।

    त्यसै गरी मुस्लिमहरू करीब एक महीना उपवास बस्छन् जसलाई रमदान र त्यसको अन्तिम दिनलाई इद भनिन्छ। यो अवधिमा सूर्य उदाएदेखि नअस्ताएसम्म खानपिन नगर्ने, परोपकारी कामहरू गर्ने परम्परा छ। मुस्लिम क्यालेन्डर अनुसार मानिने हुँदा यो सधैं अप्रिलमै पर्छ भन्ने चाहिं हुँदैन।

    यहुदीहरू आफ्नो पुर्खा इजिप्टको दासत्वबाट मुक्त भएको अवसर पारेर विशेष हर्षोल्लास मनाउँछन्। सात वा आठ दिनसम्म मनाइने यो पर्वलाई ‘पास ओभर’ भनिन्छ। यो अवधिमा जहान-परिवार, इष्टमित्र जम्मा भएर थरी थरीका परिकार पकाउने गरिन्छ। तर, यो पर्वमा गहुँ, जौ, चामल, गेडागुडी, मकै, दाल र त्यसबाट उत्पादित खाना खान बन्देज छ।

    संयुक्त राष्ट्रसंघले विश्वव्यापी समस्याहरू सम्बोधन गर्न, राजनीतिक इच्छाशक्ति र स्रोत परिचालन गर्न, मानवताका उपलब्धिको प्रचारप्रसार गर्न र अन्तर्राष्ट्रिय विषयमा आम जनतालाई शिक्षित बनाउन वर्षैभरि अनेकन् अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएको छ। अप्रिल २ मा विश्व अटिजम सचेतना दिवस, ४ मा खानी जागरुकता दिवस, ५ मा विवेक दिवस, ६ मा विकास र शान्तिका लागि खेलकूद दिवस, ७ मा स्वास्थ्य दिवस, रुवान्डा नरसंहारका पीडितको सम्झना दिवस, १२ मा मानव अन्तरिक्ष उडान दिवस, १४ मा ‘चागस’ रोग दिवस, १५ मा कला दिवस मनाइन्छ।

    त्यस्तै, २० मा चिनियाँ भाषा दिवस, २१ मा रचनात्मकता र नवीनता दिवस, २२ मा पृथ्वी दिवस, २३ मा पुस्तक र प्रतिलिपि अधिकार दिवस, अङ्ग्रेजी भाषा दिवस, २४ मा बहुपक्षीयता र शान्तिका लागि कूटनीतिको अन्तर्राष्ट्रिय दिवस, २५ मा अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस, विश्व मलेरिया दिवस, २६ मा विश्व बौद्धिक सम्पदा दिवस, अन्तर्राष्ट्रिय चेर्नोबिल प्रकोप स्मरण दिवस, २८ मा अन्तर्राष्ट्रिय बालिका दिवस, काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस, ३० मा ज्याज दिवस मनाइन्छ। यी बाहेक राष्ट्रिय र क्षेत्रीय रूपमा पनि विभिन्न दिवस मनाइन्छन्।

    बेलायतमा यो महीनाको ऐतिहासिक महत्त्व छ। यहाँ मूल्य अभिवृद्धि कर १९७४ अप्रिल १ देखि शुरू भएको हो। ग्रेट वेस्टर्न रेल निर्माण गर्ने इन्जिनियर ब्रुनेलको जन्म १८०६ अप्रिल ९ मा भएको थियो। उनैको नामबाट ब्रुनेल विश्वविद्यालयको नाम रहन गएको हो। यही रेल कम्पनीले गत वर्षदेखि एउटा रेललाई भीसी तुलबहादुर पुनको नाम दिएको छ।

    बेलायतको राष्ट्रिय झण्डा ‘युनियन ज्याक’ आधिकारिक रूपमा १६०६ अप्रिल १२ देखि प्रयोगमा ल्याइएको हो। यहाँको हाइवे कोडको प्रयोग पहिलो पटक १९३१ अप्रिल १४ मा गरिएको थियो। सन् १९३४ को अप्रिल १८ देखि सार्वजनिक रूपमा लुगा धुने मशिन प्रयोग गरिएको हो। प्रख्यात हास्य कलाकार चार्ली च्याप्लिन १८८९ अप्रिल १६ मा जन्मेका थिए। हालकी महारानी एलिजाबेथ द्वितीया १९२६ अप्रिल २१ मा जन्मेकी हुन्। अप्रिल २३ मा इङ्ल्यान्डका पिता र स्काउटका प्रणेता सेन्ट जर्ज दिवस मनाइन्छ।
    भक्तपुरमा मनाइएको बिस्का जात्रा।

    साहित्यमा संसार हल्लाउने शेक्सपियरको जन्म १५६४ अप्रिल २६ र मृत्यु १६१६ अप्रिल २३ मा भएको थियो। बेलायतका पहिलो प्रधानमन्त्री रोबर्ट वालपोलले आफ्नो कार्यकाल थालनी सन् १७२१ अप्रिल ३ बाट शुरू गरेका थिए। बेलायतमा सन् १६३३ भन्दा पहिला केरा पाइँदैनथ्यो। सोही वर्ष अप्रिल १० देखि बजारमा केरा बेच्न शुरू गरिएको थियो।

    पहिलो पटक तार विनाको फोन १९८३ अप्रिल १४ देखि बजारमा पाउन थालियो। अक्सफोर्ड विश्वविद्यालयमा सन् १८८४ को अप्रिल २९ देखि मात्रै छात्रालाई परीक्षामा सामेल गराइयो, त्यति वेला उनीहरूलाई प्रमाणपत्र भने प्रदान गरिंदैनथ्यो। बेलायतको घण्टाघर बिग बेनमा संसारकै सबैभन्दा ठूलो घण्टी दोस्रो प्रयासमा १८५८ अप्रिल २४ मा झुन्ड्याइएको थियो।

    बेलायतमा कर वर्ष अघिल्लो वर्षको अप्रिल ५ देखि अर्को वर्षको अप्रिल ४ सम्मलाई मानिन्छ। पुरानो क्यालेन्डर अनुसार बेलायतले मार्च २५ लाई आफ्नो नयाँ वर्ष मानेको थियो। बेलायतले सन् १७५२ बाट मात्रै ग्रेगोरियन पात्रो प्रयोग गरेकाले सरकारलाई करमा घाटा नहोस् भनेर ट्रेजरीले कर वर्ष पनि ३६५ दिनकै बनाउन यस्तो व्यवस्था गरेको हो।

    विश्वका धेरै देशमा अप्रिल महीनामा ठूल्ठूला अन्तर्राष्ट्रिय पर्व मनाइन्छन्। राष्ट्रिय रूपमा प्रथा वा परम्परा अनुसार चल्दै आएका रीतिरिवाज नै बिस्तारै अन्तर्राष्ट्रियकरण हुँदै जाने हुन्। पर्यटकहरू कुनै देशमा जाँदा त्यहाँको वास्तविक रहनसहन, कला, संस्कृति बुझ्न यस्तो पर्वको अवसर पार्ने चलन बढेको छ।

    नेपालमा नयाँ वर्षका दिन पर्ने सिन्दूर जात्रा विशेष गरी नेवार समुदायमा भक्तपुर, मध्यपुर ठिमीमा व्यापक रूपमा मनाइन्छ। बिस्केट वा बिस्का भनेर चिनिने यो जात्रा देशभरिका नेवार समुदायले विशेष रूपमा मान्छन्। यसपालि बेलायतमा पनि पासा पुच गुठीले यो पर्व भव्य तरीकाले मनायो।

    नेपालमा पनि अप्रिलमा केही पर्व परेका छन्। अप्रिल १ मा घोडेजात्रा, २ मा तेल लगाउने र नीमको पात खाने दिन, ९ मा चैते दशैं, १० रामनवमी र ३० मा मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन।

    अप्रिल १३ देखि बर्मामा थिङ यान पर्व मनाइन्छ, त्यहाँ पनि नयाँ वर्ष तीन/चार दिन मान्ने चलन छ। एकआपसमा पानी छ्यापेर पाप पखाल्ने र नयाँ वर्ष शुरू गर्ने भनिन्छ। शहरभरि नाचगान गरिन्छ। यो मेला हेर्न धेरै देशबाट पर्यटक पुग्छन्।

    इस्टरको समयमा अस्ट्रेलियाको भिक्टोरिया समुद्रमा संसारकै लामो ‘सर्फिङ’ हुने गर्छ। सन् १९६२ देखि शुरू गरिएको यो ‘सर्फिङ’ प्रतियोगितामा संसारभरका नामूद खेलाडीले भाग लिन्छन्। मध्यएशियाका देशहरूमा जाडो महीनापछि वसन्त ऋतुको आगमनसँगै नवरस पर्व मनाउने चलन छ।

    फारसी भाषामा नवरस भन्नाले नयाँ दिन हो। फारसीका लागि पनि यो नयाँ वर्षको शुरूआत हो। उक्त दिन शहरभरि व्यापार मेला, कन्सर्ट तथा राष्ट्रिय घोडादौड गरिन्छ। जापानमा मनाइने ‘हानामी’ ले पनि धेरै मानिसलाई आकृष्ट बनाउँछ। जापानी भाषामा हाना भनेको फूल र मी भनेको हेर्ने हो। चेरी फूल्ने सिजनमा साकुरा लगायत धेरै प्रकारका फूलले गाउँशहर ढकमक्क हुन्छ। यो अवसरमा दिनभरि खानपिन, नाचगान गरेर सूर्य नअस्ताएसम्म रमाउने चलन छ।

    भक्तपुरमा मनाइएको बिस्का जात्रा।

    त्यसै गरी लाओसमा मनाइने पिमे पर्व, अमेरिकाको न्यू ओर्लिन्समा मनाइने ज्याज पर्व, थाइल्यान्ड र कम्बोडियामा मनाइने सोंग क्रान, न्यूजिल्यान्डमा मनाउने सिफूड पर्व, अस्ट्रेलियाको मेलबर्नमा सन् १९८७ देखि मनाउन थालिएको संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय हास्यव्यङ्ग्य पर्व, न्युजिल्यान्डमा मनाइने वानाका अन्तर्राष्ट्रिय एयर शो अप्रिलमा पर्ने प्रख्यात पर्व हुन्।

    यही महीनामा थुप्रै नयाँ प्रविधिको विकास भएको छ। तीमध्ये विश्वव्यापी वेब सफ्टवेयर पहिलो पटक सार्वजनिक डोमेनमा राखिएको दिन १९९३ अप्रिल ३० थियो। बेलायती वैज्ञानिक टीम बर्नस लीले विशेषतः विश्वविद्यालय र वैज्ञानिकहरूबीच प्रयोगका लागि यसलाई सन् १९८९ मै आविष्कार गरेका थिए। उनले काम गर्ने कम्पनी यूरोपियन आणविक अनुसन्धान केन्द्रले पछि सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउने निर्णय गरेको थियो।

    यी सबै हुँदाहुँदै अप्रिल फूलैफूलको महीना पनि हो। यो महीनामा प्रकृति रङ्गीन बनेको हुन्छ। नयाँ पालुवा आउँछन् भने नेपालमा त झन वसन्त ऋतुले नयाँ उत्साह र उमङ्ग छरेको हुन्छ। फूलैफूलको महीना मायाप्रेमयुक्त नहुने त कुरै भएन।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend