तनहुँ, ९ बैशाख – आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र गोविन्दराज जोशी समूहबीच तालमेलको टुंगो लागेको छ । एमाले पार्टी कार्यालयमा बिहीबार बसेको बैठकले एमाले र जोशी समूहबीच तालमेलको टुंगो लगाएको हो ।
उक्त बैठकअनुसार जोशी समूहले व्यास नगरपालिकामा प्रमुखसहित चार वडाध्यक्ष पाउने सहमति भएको छ ।
जोशीका छोरा दीपकराज जोशी व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवार बन्ने निश्चित भएको छ । जोशी समूहले व्यासमा वडा १, २, १२ र १४ वडाध्यक्ष पाउने सहमति भएको एमाले तनहुँका उपसचिव प्रदीपराज अधिकारीले बताए ।
यस्तै, जोशी समूहले बन्दीपुर गाउँपालिकामा उपाध्यक्ष र बन्दीपुर–२ को वडाध्यक्ष, भानु नगरपालिकामा उपप्रमुखसहित वडा ५, ११ र १३ को वडाध्यक्ष र आँबुखैरेनी गाउँपालिकाको वडा २ र ५ को वडाध्यक्ष पाउनेछ । उपसचिव अधिकारीका अनुसार जोशी समूहले वडाध्यक्ष पाएको ठाउँमा एक जना सदस्य पाउने र एमालेको वडाध्यक्ष भएको वडामा दुई सदस्य पाउने सहमति भएको छ ।
उनले भने, ‘प्रमुख, उपप्रमुख र वडाध्यक्ष पाएको पालिकामा जोशी समूह स्वतन्त्र चुनाव चिह्नमा निर्वाचन लड्ने र वडा सदस्यको हकमा भने सूर्य चिह्न लिनुपर्ने सहमति भएको छ ।’
यसैगरी चुनावी तालमेल गरी चुनावी मैदानमा उत्रिएको एमाले र जोशी समूहले शुक्रबार दिउँसो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जनाएको छ ।