८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बुहारी, छोरा नै पाउनु है !


रुमु न्यौपाने
  • १० बैशाख २०७९ , शनिबार

  • बुहारी, छोरा नै पाउनु है !

    विवाहपछिको सबैभन्दा ठूलो खुशी हो आमा बन्न पाउनु। यो सौभाग्यबाट बञ्चित हुने पनि टन्नै छन् समाजमा। त्यसो त आजभोलि छोराछोरी बुढेसकालका साहरा हुन् भनेर गर्व गरिहाल्न पनि सकिन्न। किनकि, अधिकांश छोराछोरीलाई विदेश जानकै हतारो हुन्छ।

    उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको संख्या बग्रेल्ती छन्। तै पनि बुवाआमाहरू सन्तान सधैं आफ्नै आसपास हुन् भनेर कामना गर्न छोड्दैनन्। यद्यपि कतिपय अभिभावक भने अस्ट्रेलिया, अमेरिका क्यानडाको केटा भेट्दा दंग परेर केही नसोची छोरीको विवाह गरिदिन्छन्।

    तीमध्ये कमै अभिभावक अपवादमा पर्छन् जसले आफ्ना छोराछोरीले नेपालमै केही गरून् भन्ने चाहना राख्छन्। अनि तीनै अभिभावकका छोराछोरी नेपाललाई अनेक गाली गलौज गर्दै अन्तिममा उडेरै छोड्छन्। यसरी आफूले अनेक सपना देखेर हुर्काई बढाई गरेको सन्तानले आफ्नो बचन तोड्दा बुढा भएका बुवाआमाको मन कति दुख्ला?  त्यसैले त बुढापाका भन्ने गर्थे, ‘बाह्र छोरा तेह्र नाती, बुढाको धोक्रो काँधै माथि।’

    जे जस्तो भए पनि छोरा छोरी पाउने, राम्रो शिक्षा दिक्षा दिने सपना बोकेर बाँचिरहेका हुन्छन् हरेक अभिभावक।

    केहीदिन अगाडि अफिस जाने क्रममा मेरो एकदमै मिल्ने आत्मनिर्भर साथी संगीतासँग बाटोमा भेट भयो। संगीता आफ्नै विजनेस चलाएर बसेकी छ।  उनलाई त्यसदिन भेट हुँदा उनी अलि चिन्तिन देखिन्थिन्।

    उनी चिन्तित हुनुको कारण मैले सोधेँ। उनले उस्तै मलिनो अनुहार बनाएर भनिन्, ‘घरमा सासु ससुराले बच्चा जन्माउन दबाब दिईरहनुभएको छ। तर मबाट बच्चा….,’ बोल्दा बोल्दै उनको मुख बन्द भयो र आँखा बर्षिन थाल्यो। केही समय आँखालाई बर्षिन दिएपछि ब्यागबाट रूमाल निकालेर आँशु पुछ्दै भनिन्, ‘म बाट बच्चा हुँदैन तर सासु र ससुरालाई जसरी पनि बच्चा चाहियो त्यो पनि छोरा नै!’

    मैले उसको कुरा सकिन नपाउँदै भनेँ, ‘अनि सुदर्शन यसबारेमा के भन्छन् त ?’

    उनले आँशु पुछ्दै भनिन्, ‘सुदर्शन त्यही चाहन्छ, जुन उसको बुवा आमाले भन्छन्।’

    उसको कुरा सुनेर म झसंग भएँ। १० वर्षको प्रेम सम्बन्ध पछि विवाह गरेकी थिईन् संगीताले सुदर्शनसँग। कस्तो बिडम्बना! जन्मनै नसक्ने सन्तानको निहुँमा १० वर्ष लामो सुमधुर चलिरहेको सम्बन्ध त्याग्न तयार हुन्छन् मानिसहरू।

    त्यसो भए के महिलाको कुनै अस्तित्व नै छैन यो समाजमा? खाली बच्चा  जन्माउने मेसिन र घरको काम गर्ने कामदारबाहेक अरू कुनै पहिचान हुन सक्दैन उनको? त्यस दिनदेखि मेरो संगीतासँग भेट भएन। तर संगीताले भनेका कुराहरू मथिंगलमा घुमिरहे।

    त्यस्तै एकदिन अफिस जाँदा  सधैं हाँसिरहने एक महिला सहकर्मीलाई मैले निकै उदास देखेँ। विवाह हुँदा उनी निकै खुशी थिईन्। तर जब उनको गर्भमा बच्चा बस्यो उनी खुशी हुनुको साटो झन्झन् चिन्तित देखिन थालिन्।

    पहिला पहिला अफिसमा सबैसँग हाँसेर बोल्ने सहकर्मी सावित्री गर्भवती भएपछि बोल्नै गाह्रो मान्न थालिन्। मलाई उनको व्यवहारले केही दिन चिन्तित बनाए पनि पछि झिजो लाग्न थाल्यो।

    एकदिन मैले उनलाई लन्च ब्रेकमा अलि कडा स्वरमा भनेँ, ‘तिमी यसरी मौन बस्यौ भने मलाई तिम्रो समस्या कसरी थाहा हुन्छ? समस्या जति अरूलाई भन्यो त्यतिनै मन हलुका हुन्छ।’

    यति भनिसकेपछि उनले केही राहत महसुस गर्दै भनिन्, ‘दिदी जबदेखि म गर्भवति भएँ घरपरिवारले खाली छोरा नै पाउनुपर्छ है भन्दै मलाई दबाब दिईरहेका छन्।’

    त्यो सुनेर मलाई हाम्रो समाजप्रति वितृष्णा जाग्यो। हरे! किन यसरी छोरामै केन्द्रित छ हाम्रो समाज? गर्भमा छोरी भयो भनेर भूणहत्या गर्ने नै हुन् नवरथामा कन्या खोज्न गाउँ गाउँ चाहर्ने।

    समाजमा त्यस्ता धेरै सावित्री र संगीता छन् जो यस्तो समस्याको शिकार भईरहेका छन्। चाहे प्रविधिले फड्को मारोस् वा समाजमा मानिस आधुनिक भएर रहुन् तर जब घरको कुरा आउँछ त्यहाँ यस्तै समस्याले घरको बुहारीहरूलाई पिरोली रहेको हुन्छ। गर्भ बुहारीको, प्रसवपिडा बुहारीको, स्तनपान पनि बुहारीकै तर गर्भभित्र भएको सन्तान जन्माउने वा नजन्माउने भन्ने निर्णय गर्ने अधिकार उसको परिवारको।

    गर्भमा रहेको सन्तान जे सुकै होस् उसको जन्म सहजसँग होस् र स्वस्थ्य बच्चा जन्मियोस् भन्ने मानसिकता विरलै मानिसमा भेटिन्छ। चाहे महिला हुन् वा पुरुष उनीहरुले आफ्नो परिवारको सदस्य गर्भवती छिन् भने चाहना राख्ने भनेको छोराकै हो।

    नाम चलेको एउटा कम्पनीमा काम गर्ने मेरा नातेदारको तीन वटा छोरी जन्मियो त्यो पनि छोराकै आशमा। कान्छी छोरी जन्मिएपछि उनले एउटा क्याप्सनसहित छोरीको फोटो पोस्ट गरिन्, ‘छोरा भाग्यले हुन्छ, छोरी सैभाग्यले।’

    उनले यो क्याप्सन मनभित्रैबाट लेखिन् वा सामाजिक सञ्जालमा आफूलाई महान बनाउन लेखिन् त्यो उनै जानून्। तर त्यही फोटोमा एक जना उपबुज्रुकले प्वाक्कै कमेन्ट गरिहाले- ए फेरि पनि छोरी!’

    कति निर्दयी हुन् ती बुज्रुक। अर्काको व्यक्तिगत जीवनमा कति चासो लागेको होला? एक मनले त लाग्यो ति बुज्रुकलाई म आफैं म्यासेन्जरमा गएर गाली गरौं। फेरि अरूको कुरामा हस्तक्षेप गरिहाल्न मन लागेन। ती बुज्रुक फेरि आफैं महिला अधिकार सम्बन्धी ठूला ठूला कुरा स्टेजमा गर्ने व्यक्ति हुन्।

    यसैबाट प्रस्ट हुन्छ कि, हात्तीको देखाउने र चपाउने दाँत छुट्टाछुट्टै भएझैं मानिसको व्यवहार पनि त्यस्तै हुँदोरहेछ। के ती बुज्रुकको घरमा कोही महिला छैनन् होला त? के महिलाबिना उनको घर चलेको होला? होइन भने कसैको तीन वटा छोरी जन्मदैंमा उनलाई किन त्यस्तो आपत्ती?

    जसले जतिसुकै आदर्शको कुरा गरे पनि समाजमा छोरीलाई हेर्ने दृष्टिकोण फरक नै हुन्छ। बाहिर भाषणमा गएर ठूला ठूला कुरा गरेजस्तो सजिलो छैन त्यसलाई व्यवहारमा उतार्न।

    घर नजिकैको छिमेकी आन्टीले केही दिन अगाडि मसँग आफ्नो छोरीको बखान गर्दै थिईन्- ‘मेरो छोरीले लोक सेवामा नाम निकालिन्, साह्रै ट्यालेन्ट छिन्। आजकल त छोराभन्दा मेरी छोरीले धेरै काम गर्छिन्।’

    उनले बिना कुनै हिच्किचाहट फेरि भनिन्, ‘मेरो घरको खर्च नै छोरीको कारणले टरेको छ। मलाई गर्व छ मेरी छोरीमाथि।’

    त्यत्रो गफ गरुन्जेल उनले छोरीको मात्रै गुनगान गाईन्। मैले खुशी भएर सुनेँ। समाजमा छोरीप्रति गर्व गर्ने बुवाआमा पनि छन् है जस्तो लाग्यो।

    मेरो घरसँग जोडिएको उनको घरबाट उनको बोली प्रस्ट सुनिन्थ्यो। त्यसैरात उनले आफ्नी गर्भवती बुहारीलाई अलि कडा स्वरमा भनिन्, ‘बुहारी छोरा नै पाउनु है।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend