स्याङ्जा, ११ बैशाख – स्थानिय तहको निर्वाचन नजिकै आउँदा स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अति संवेदनशील केन्द्रको सूचीमा परेका छन् । यहाँ जिल्लाको सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो ।
अतिसंवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरिएको छ ।
एक सय ९९ मतदान केन्द्र स्याङ्जामा रहेकोमा ७३ मतदान केन्द्र अतिसंवेदनशील, संवेदनशील ७३ मतदान केन्द्र रहेका छन् भने सामान्य मतदान केन्द्र रुपमा ५३ केन्द्र रहेका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको बताउदै प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा वर्गिकरण गरिएको बताए ।
सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय निर्वाचन २०७४ मा चरण चरणमा निर्वाचन हुँदा सुरक्षा जनशक्ति परिचालन गर्न सहज भएको बताउदै खनालले घोषित निर्वाचनमा सबै स्थानीय तहमा एकैपटक निर्वाचन हुने भएकाले समस्या थपिएको जानकारी दिए ।
एकीकृत सुरक्षा योजनानुसार सुरक्षाकर्मी खटाइने भएको छ भने केन्द्रसँग पनि जनशक्ति माग गरिएको स्थानीय प्रशासनले जनाएको छ ।